अमेरिकाले मदुरोलाई पक्राउ गरेपछि टेक्नेटको चर्चा, सम्पूर्ण महादेश चलाउने आकांक्षा


काठमाडौं । गत शनिबार (३ जनवरी) अमेरिकी सेनाको विशेष बलले भेनेजुएलाको राजधानी काराकासमा राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको खबरले विश्वलाई स्तब्ध बनाएको छ ।

मदुरोलाई लागूऔषध ओसारपसार र नार्को–आतंकवादको मुद्दा लगाएर न्युयोर्कस्थित अदालतमा पेश गरिएको छ । त्यस घटनासँगै सामाजिक सञ्जाल एक्स लगायतका प्लेटफर्महरूमा ‘टेक्नेट’ भनिने एउटा अनौठो र पुरानो शब्द ट्रेन्डिङ हुन थालेको छ ।

टेक्नेट झण्डै एक शताब्दीपहिले तयार पारिएको एउटा नयाँ विश्व व्यवस्थाको खाका हो । त्यसमा विश्वकै सबभन्दा धनी व्यक्ति इलोन मस्क र भेनेजुएला समेत समावेश भएको सन् १९४० को एउटा दुर्लभ नक्सा जोडिएको छ ।

यसको बारेमा किन चर्चा चलिरहेको छ भन्ने कुरा बुझ्नका लागि सन् १९३० को दशकमा अमेरिकामा देखिएको ग्रेट डिप्रेसन (महामन्दी) को समयमा थालिएको अभियानलाई विचार गर्नुपर्ने हुन्छ ।

प्रस्तावकहरूले टेक्नेटलाई एउटा देश मात्र नभई उच्च–प्राविधिक दक्षतामार्फत आफ्ना नागरिकलाई आवश्यक पर्ने सबै कुरा प्रदान गर्न डिजाइन गरिएको आत्मनिर्भर भौगोलिक क्षेत्रका रूपमा हेरेका थिए

सन् १९३० को दशकमा अमेरिकाका इन्जिनियर र वैज्ञानिकहरूको एउटा समूहले टेक्नोक्रेसी इन्क नामक संस्था गठन गरेका थिए । राजनीतिकर्मी र मूल्य प्रणाली (पैसा) गरिबी र अराजकताको मुख्य कारण हुन् भन्ने उनीहरूको विश्वास थियो । यस समस्याको समाधानका लागि उनीहरूले सरल तर कट्टरपन्थी अवधारणा अघि सारेका थिए ।

राजनीतिकर्मीहरूलाई इन्जिनियर, वैज्ञानिक र प्राविधिक जस्ता विज्ञहरूद्वारा विस्थापित गर्ने र पैसालाई ऊर्जा प्रमाणपत्र (इनर्जी सर्टिफिकेट्स) ले विस्थापन गर्ने उनीहरूको प्रस्ताव थियो ।

प्रस्तावकहरूले टेक्नेटलाई एउटा देश मात्र नभई उच्च–प्राविधिक दक्षतामार्फत आफ्ना नागरिकलाई आवश्यक पर्ने सबै कुरा प्रदान गर्न डिजाइन गरिएको आत्मनिर्भर भौगोलिक क्षेत्रका रूपमा हेरेका थिए ।

उनीहरूको परिकल्पनामा जनताले नेता छान्नका लागि मतदान गर्न पर्दैन । सबैभन्दा सक्षम विज्ञहरूले नै शासन प्रणालीहरू सञ्चालन गर्नेछन् । त्यहाँ कुनै ऋण, कर र गरिबीको सम्भावना छैन किनभने उत्तर र दक्षिण अमेरिकी महादेशमा उपलब्ध कुल ऊर्जाको आधारमा स्रोतहरू वितरण गरिनेछ ।

मदुरोको पक्राउसँगै टेक्नेट चर्चामा किन आयो त ? खासमा सन् १९४० मा टेक्नोक्रेसी इन्कले प्रकाशन गरेको विशेष नक्साका कारण अहिले यसको परिचर्चा भइरहेको हो । त्यस नक्सामा सम्पूर्ण उत्तर अमेरिका (क्यानडा र अमेरिका), मध्य अमेरिका र मेक्सिको, क्यारिबियाली टापुहरू, भेनेजुएला, कोलम्बिया र गायाना सहितका दक्षिण अमेरिकाका उत्तरी भागहरू पर्छन् ।

अभियानका नेताहरूका अनुसार, टेक्नेटले काम गर्नका लागि भौगोलिक एकाइ आवश्यक पर्छ । त्यस एकाइमा आत्मनिर्भर हुनका लागि आवश्यक पर्ने सबै प्राकृतिक स्रोतहरू हुनु जरुरी छ । भेनेजुएलामा भएको विशाल ऊर्जा भण्डारका कारण त्यो देश पनि टेक्नेक नक्सामा परेको हो । ऊर्जामा आधारित अर्थतन्त्र टिकाउनका लागि भेनेजुएलाको ओरिनोको बेसिनमा रहेको विशाल तेल भण्डारमाथिको नियन्त्रण आवश्यक रहेको कुरा सन् १९४० मै टेक्नोक्रेटहरूलाई थाहा थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले यही नक्सालाई औंल्याउँदै भेनेजुएलामा अमेरिकी हस्तक्षेप लोकतन्त्रका लागि नभई सन् १९४० को नक्साले गरेको परिकल्पना पूरा गर्नका लागि भएको दाबी गरेका छन् । अर्थात्, भेनेजुएलाका ऊर्जा स्रोतहरूलाई उत्तर अमेरिकी टेक्नेटमा गाभ्नका लागि अमेरिकाले कारवाही अघि बढाएको दाबी उनीहरू गरिरहेका छन् ।

इलोन मस्कको पारिवारिक इतिहास हेर्ने हो भने टेक्नेटको कथाले व्यक्तिगत मोड लिन्छ । मस्कका मावली हजुरबुबा जोशुआ हाल्डेम्यान सन् १९३० र ४० को दशकमा क्यानडामा टेक्नोक्रेसी अभियानका प्रमुख नेता थिए । हाल्डेम्यान त्यस अभियानका सामान्य सदस्य मात्र थिएनन् । उनी क्यानाडामा टेक्नोक्रेसी इन्कका अनुसन्धान निर्देशक थिए ।

मस्कले थालेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोगे) मार्फत दक्षतामा जोडदेखि मानवलाई अन्य ग्रहमा सेटल गराउनेसम्मका काम उनका हजुरबुवाको टेक्नोक्रेटिक सपनाको अत्याधुनिक संस्करण भएको कतिपयको विश्वास छ

त्यस समयमा यो अभियान निकै विवादास्पद थियो । उनीहरूले सरकारमा सांगोपांग परिवर्तनको पैरवी गरेकाले, युद्धविरोधी देखिएकाले र उत्तर अमेरिकी टेक्नेट दोस्रो विश्वयुद्धमा तटस्थ रहनुपर्छ र आफ्नै स्रोतहरूमा ध्यान दिनुपर्छ भन्ने तर्क गरेकाले क्यानडाको सरकार सशंकित भयो ।

सन् १९४० मा डिफेन्स अफ क्यानडा रेगुलेशन अन्तर्गत क्यानडामा टेक्नोक्रेसी अभियानलाई प्रतिबन्ध लगाइयो । जोशुआ हाल्डेम्यानलाई उक्त संस्थामा संलग्न भएको आरोपमा पक्राउ गरी जरिवाना गरियो । पछि क्यानडा सरकारबाट निराश भएर उनी आफ्नो परिवारसहित दक्षिण अफ्रिका बसाइँ सरे । इलोन मस्क दक्षिण अफ्रिकामा जन्मे ।

मस्कले थालेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोगे) मार्फत दक्षतामा जोडदेखि मानवलाई अन्य ग्रहमा सेटल गराउनेसम्मका काम उनका हजुरबुवाको टेक्नोक्रेटिक सपनाको अत्याधुनिक संस्करण भएको कतिपयको विश्वास छ ।

उनीहरूले अमेरिकी सरकारमाथि मस्कको प्रभावलाई राजनीतिकर्मीहरूको शासनको साटो विज्ञहरूको शासनको सुरुवातका रूपमा हेर्छन् ।

सन् २०२६ मा आएर टेक्नेट अचानक सान्दर्भिक हुनुका तीन मुख्य कारणहरू छन् । पहिलो, ऊर्जाको आधिपत्य । मौलिक टेक्नोक्रेसी अभियान ऊर्जामा अत्यधिक केन्द्रित थियो । अहिले विश्व एआई, विद्युतीय गाडीहरू र विशाल डेटा केन्द्रहरूतर्फ अघि बढ्दै गर्दा ऊर्जा पुनः सबैभन्दा मूल्यवान मुद्रा बनेको छ । डलरमा आधारित वित्तीय प्रणालीबाट ऊर्जामा (कतिपयले डिजिटल ऊर्जा पनि भनिरहेका छन्) आधारित प्रणालीमा जाने प्रस्तावहरू पनि देखिन थालेका छन् । त्यो साकार भएमा सन् १९३० को दशकमा वर्णन गरिएको टेक्नेट जस्तै देखिनेछ ।

दोस्रो, परम्परागत राजनीतिको असफलता । विश्वका धेरै भागमा मानिस राजनीतिकर्मीहरूको अकर्मण्यताबाट थाकिसकेका छन् । विज्ञहरूलाई नै शासन प्रणाली सुधार गर्न दिने अवधारणा लोकप्रिय बन्दै गएको छ । इलोन मस्क वा अन्य प्राविधिक क्षेत्रका अग्रणीहरूले फजुल खर्च कटौती गर्न र राज्यको पुनःसंरचना गर्न सरकारसँग प्रत्यक्ष काम गरिरहेको देख्दा टेक्नेट वास्तवमै निर्माण भइरहेको जस्तो अनुभव हुन्छ ।

तेस्रो, अमेरिकाको ट्रम्प प्रशासनले ल्याएको राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्ध (दक्षिण र उत्तर अमेरिका दुवै समेटिएको आधा विश्व) मा अमेरिकाको मात्र प्रभाव हुनुपर्ने अडान लिएको छ । विगतको मोनरो डक्ट्रिनलाई ट्रम्पले नयाँ संस्करणका साथ जगाएका छन् । त्यस रणनीतिले अमेरिकाका प्रतिस्पर्धी शक्ति चीन र रुसलाई पश्चिमी गोलार्धमा प्रभाव जमाउन रोक्ने भनेको छ । भेनेजुएलाका मदुरोले चीन, रुस र इरानलाई आफ्नो भूमि उपयोग गर्न दिएकाले पनि अमेरिकाले उनीमाथि कारवाही गरेको हो।

यस पृष्ठभूमिमा मदुरोको पक्राउ र भेनेजुएलामा अमेरिकाको समर्थनप्राप्त सरकार बन्ने सम्भावनालाई कतिपयले सन् १९४० को नक्साले माग गरेको ऊर्जा एकाइ सुरक्षित गर्ने अन्तिम कदमको रूपमा हेरेका छन् । भेनेजुएलाको तेल र दुर्लभ खनिज पदार्थहरूलाई अमेरिकाको व्यवस्थापन अन्तर्गत ल्याइएमा टेक्नेटका लागि आवश्यक भौगोलिक शर्तहरू आधिकारिक रूपमा पूरा हुनेछन् ।

त्यसोभए टेक्नेट कार्यान्वयन भइरहेको वास्तविक योजना हो कि एक षड्यन्त्र सिद्धान्त मात्र हो ? टेक्नोक्रेसी अभियान वास्तविक थियो । भेनेजुएला समेत समावेश भएको सन् १९४० को नक्सा वास्तविक हो । टेक्नोक्रेट भएकाले जोशुआ हाल्डेम्यान पक्राउ परेको कुरा प्रमाणित ऐतिहासिक तथ्य हो । त्यसमाथि इलोन मस्कले प्रणालीहरू सञ्चालन गर्ने उत्तम तरिकाका रूपमा भौतिकशास्त्रका आधारभूत सिद्धान्तहरू र दक्षताको बारेमा कुरा गर्ने गरेको पनि सत्य हो ।

ट्रम्प र इलोन मस्क (तथा प्रविधि क्षेत्रका अन्य अर्बपतिहरू) बीचको बढ्दो सामीप्यले पनि टेक्नेट कार्यान्वयनको सोच बनिरहेको छ कि जस्तो देखिन्छ । विगतमा सिलिकन भ्यालीप्रति कठोर देखिएका ट्रम्प अहिले प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको मुख्य रोजाइ बनेका छन् ।

ट्रम्प र ठूला प्रविधि कम्पनीका सीईओहरूको सम्बन्धको गहिरो व्यापारिक स्वार्थ लुकेको छ । मस्क जस्ता व्यक्तित्वले डोगेमार्फत सरकारी संयन्त्रलाई कर्पोरेट शैलीमा ढाल्न खोजेका थिए, भलै त्यसमा आशान्वित सफलता हासिल भएन । तैपनि मस्क लगायतका सीईओहरू ट्रम्पमार्फत कर्मचारीतन्त्रको झन्झटिलो प्रक्रिया हटाएर आफ्ना परियोजनाहरूका लागि द्रुत गतिमा मार्गप्रशस्त गर्न चाहन्छन् । उनीहरूकै सल्लाहमा ट्रम्प अहिले प्रविधि क्षेत्रका लागि आवश्यक दुर्लभ खनिज पदार्थहरू सुरक्षित गर्न लागिपरेका छन् । भेनेजुएला र ग्रीनल्यान्डमाथि अमेरिकी आधिपत्यको चाहना त्यसैले प्रेरित गरेको हो ।

यसरी ट्रम्प र प्रविधि क्षेत्रका सीईओहरूको साँठगाँठले अमेरिकाको राज्य सञ्चालनमा विज्ञ र धनाढ्यहरूको प्रत्यक्ष शासन चलाउने आकांक्षाको छनक दिन्छ । तर, यसले शक्ति र सम्पत्तिको केन्द्रीकरणलाई थप संस्थागत गर्ने जोखिम रहेकाले अमेरिकामा यसको व्यापक प्रतिकार भएको छ ।

हुन त संसार अहिले ठ्याक्कै टेक्नोक्रेटहरूले भविष्यवाणी गरे जस्तै देखिन थालेको छ । अहिलेको युगमा परम्परागत सिमानाहरूभन्दा डेटा र ऊर्जा बढी महत्त्वपूर्ण छन् । अहिले प्रविधि क्षेत्रका अर्बपतिहरूसँग राष्ट्रपतिको जत्तिकै शक्ति छ

मदुरोलाई पक्राउ गरेर सन् १९४० को दशकको नक्सा साकार पार्ने गोप्य योजना चाहिँ अहिलेसम्मका लागि षड्यन्त्र सिद्धान्त नै मान्नुपर्छ । मदुरोलाई सन् १९३० को दशकको कुनै गोप्य योजनाअन्तर्गत नभई दशकौंदेखि अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव, आर्थिक प्रतिबन्ध र फौजदारी अनुसन्धानको परिणाम भएको प्रमुख सञ्चारमाध्यमहरूको सामग्री अध्ययन गर्दा थाहा हुन्छ ।

त्यसमाथि मौलिक टेक्नोक्रेटहरू वास्तवमा साम्राज्यवादविरोधी थिए । उनीहरू अन्य देश जित्न चाहँदैनथे । उनीहरू त अस्तित्व रक्षाका लागि दुई महादेशलाई एउटै कार्यमूलक एकाइमा गाभ्न चाहन्थे ।

हुन त संसार अहिले ठ्याक्कै टेक्नोक्रेटहरूले भविष्यवाणी गरे जस्तै देखिन थालेको छ । अहिलेको युगमा परम्परागत सिमानाहरूभन्दा डेटा र ऊर्जा बढी महत्त्वपूर्ण छन् । अहिले प्रविधि क्षेत्रका अर्बपतिहरूसँग राष्ट्रपतिको जत्तिकै शक्ति छ ।

त्यसैले सामाजिक सञ्जालमा टेक्नेट ट्रेन्ड पछ्याइरहेका व्यक्तिहरूका लागि सम्पूर्ण अमेरिकी महादेश (अमेरिकाज) लाई एउटै स्रोत–सम्पन्न र विज्ञहरूको नेतृत्वमा रहेको ब्लकमा एकीकृत गर्ने सम्भावना बढेको अनुभूति भइरहेको छ ।