पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन आह्वान, देउवा पक्षले के गर्ला ?


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।

विशेष महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त मितिमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन पक्षधरका तर्फबाट सुवास पोखरेलले औपचारिक घोषणा गरेका हुन् ।

विशेष महाधिवेशनका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षा व्यवस्थाका विषयमा स्थानीय प्रशासनसँग पत्राचारसमेत भइसकेको जनाइएको छ । साथै, विशेष पक्षधर समूहले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप बुकिङ गरिसकेको पनि जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७(२) उद्धृत गर्दै विशेष महाधिवेशन कानुनी रूपमा अनिवार्य भएको उल्लेख गरिएको छ। उक्त धारामा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने’ स्पष्ट बाध्यकारी व्यवस्था रहेको जनाइएको छ।

विज्ञप्तिमा २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन गर्ने सुविधा कसैलाई पनि नभएको उल्लेख गर्दै यो रहर वा छनोटको विषय नभई विधानको बाध्यकारी प्रावधान भएको दाबी गरिएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको जनाएको छ। उनीहरूको भनाइमा पार्टीको वैधानिक र संगठनात्मक संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ।

तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ । देउवा पक्षको भनाइमा निर्वाचनको तयारीका कारण अहिले विशेष महाधिवेशन आयोजना गर्नु व्यवहारिक नभएको तर्क गरिएको छ।