
काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना ९ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।
कांग्रेसले सातै प्रदेश समेटिने गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक) तथा बागमती प्रदेशबाट गीता देवकोटा (महिला) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जङ्गली’ (अपाङ्गता) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार चयन गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि आज (पुस २३ गते) मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।
राष्ट्रिय सभामा नेनेता डा. शेखर कोइराला पक्षले ३ सीट पाएको छ। एमालेसँगको चुनावी तालमेलमा ९ सीट पाएको कांग्रेसले कोइराला पक्षलाई ३ सीट दिइएको हो । शेखर पक्षले मधेशबाट कर्ण, लुम्बिनीबाट बासुदेव जंगली बागमतीबाट गीता देवकोटा उम्मेदवार अघि सारेको छ । अन्य उम्मेदवार भने सभापति शेरबहादुर देउवानिकटको रहेको जनाइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबाट भने कोही पनि उम्मेदवार नहुने भएका छन् ।








प्रतिक्रिया