राष्ट्रिय सभा निर्वाचन: एमालेका उम्मेदवार को-को ?


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेल भएको छ ।

१८ सिटका लागि हुन लागेको निर्वाचनमा सिट संख्यामा कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी बाहिरिएसँगै नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सहमति बनेको हो ।

सहमति अनुसार १८ सिटमध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र जसपा नेपालले १ सिट पाउने गरी भागबन्डा गरिएको छ । भागबन्डा टुंगिएसँगै दलहरूले आफ्ना उम्मेदवारहरूको नाम समेत सार्वजनिक गरेका छन् । आजै निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

नेकपा एमालेका ८ उम्मेदवार:

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तालमेल अनुसार जसपा नेपालका तर्फबाट नेता महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।

सुरुमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच सिट बाँडफाँटको प्रयास भए पनि नेकपा (एकीकृत समाजवादी/एस) बाहिरिएपछि तीन दलबीच नयाँ समीकरण बनेको हो । उम्मेदवारहरूले आजै सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने तयारी गरेका छन् ।