अमेरिकन डलरको मूल्य वृद्धि, चाँदीको उत्खनन, प्रशोधन र उत्पादन दर निक्कै घट्दो अवस्थामा छ । खनिज उत्खनन र प्रशोधन गर्न आवश्यक पर्ने लगानीको चर्को अभाव देखिन्छ । पछिल्लो समयमा विभिन्न प्रयोजनमा चाँदीको उल्लेख्य प्रयोग तथा भू-राजनीति र द्वन्द्व, रणनीतिक रुपमा अत्यधिक परिमाणमा चाँदी खरिद गरी भण्डारण गर्ने शक्ति राष्ट्रहरुको प्रतिस्पर्धासमेतले ग्लोबल मार्केटमा चाँदीको चर्को अभाव सिर्जना भएको हो ।

काठमाडौं । नेपाली बजारमा अहिले चाँदीको चर्को अभाव भएको छ ।
गत डिसेम्बर महिनाको अन्तिम सातादेखि केही अभाव देखिएको चाँदीमा अंग्रेजी नयाँ वर्ष लागेसँगै चर्को अभाव देखिएको छ। जनवरीको पहिलो साता अर्थात पुस महिनाको दोस्रो र तेस्रो सातामा आएर बजारमा चाँदीको चर्को अभाव नै सिर्जना भयो । बजारमा चाँदीको उपलब्धता नभएपछि खरिदकर्ता समस्यामा परेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा समेत चाँदीको अभाव भइरहँदा नेपालको स्वदेशी बजारमा पुसको दोस्रो र तेस्रो सातामा चर्को अभाव नै भयो । अभावको प्रभावका कारण राजधानीकै अधिकांश सानादेखि ठूला सुनचाँदी पसलमा चाँदी पाउन छाडिएको छ ।
चाँदीको चर्को अभाव हुँदा खरिद गर्न चाहने दर्जनौ उपभोक्ता खरिद गर्न नपाएर फिर्ता गइरहेको व्यवसायीहरुले बताएका छन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बजारमा चाँदीको उपलब्धता नभएर दैनिक दर्जनौ चाँदी खरिदकर्ता उपभोक्ता फिर्ता गइरहेको जानकारी दिएको छ ।
महासंघका महासचिव किरणभाई बज्राचार्यले नेपालको समग्र बजारमा पछिल्लो समयमा चाँदीको चर्को अभाव भएको जानकारी दिए ।
चाँदीको आपूर्ति नभएर उपलब्धता कम भएका कारण देशैभर चाँदीको चर्को अभाव भएको बज्राचार्यको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारमा चाँदीको अभाव र मूल्यमा आएको छलाङको असर स्वदेशी बजारमा पनि प्रभाव परेको छ,’ बज्राचार्यले क्लिकमान्डुसँग भने, ‘अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरुले जनवरीको सुरुआतदेखि नै नेपालमा चाँदीको आपूर्ति नगरेकाले बजारमा चर्को अभाव भएको हो । चाँदीको उपलब्धता नभएर व्यवसायीले जनवरीको १ तारिखदेखि १ ग्राम पनि बिक्री गर्न पाएका छैनन्।’
महासंघकै वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्यले पनि स्वदेशी बजारमा चाँदीको उपलब्धता नभएको बताए ।
उनका अनुसार जनवरी महिना सुरु हुनुअघि अन्तिम पटक सिटिजन्स बैंकमार्फत चाँदी आए पनि त्यसयता नेपालमा चाँदीको आपूर्ति भएको छैन ।
सामान्य समयमा नेपालमा दैनिक ४ सय देखि ५ सय किलो चाँदीको खपत हुन्छ भने बिबाह, व्रतवन्ध, तिहारको समयमा दैनिक १ हजार किलोसम्म खपत हुन्छ ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमै चाँदीको उपलब्धता निकै कमजोर र मूल्यसमेत अस्वाभाविक रुपमा बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको शाक्यको भनाइ छ ।
उनका अनुसार पुस महिनामा खासै चाँदीको बजार चम्किने सिजन होइन, तर अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावका कारण नेपाली उपभोक्ताले सम्पतिको रुपमा घरमा भण्डारण गर्न जोहो गर्न थालेपछि खरिदकर्ताको संख्या बढेको हो ।
शाक्यका अनुसार अहिले तीनवटा बैंकमार्फत चाँदी आपूर्ति गर्ने प्रक्रिया अघि बढे पनि हालसम्म बजारमा आइसकेको छैन ।
‘अहिले अन्तर्राष्ट्रियदेखि स्वदेशी बजारसम्म चाँदीको चर्को अभाव भइरहेकाले एउटै व्यवसायीले ठूलो परिमाणमा खरिद गरेर बजारमा अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने ठूलो जोखिमसमेत सिर्जना भएको छ,’ शाक्यले भने, ‘राज्यले यो विषयमा पनि गम्भीर रुपमा सोच्न आवश्यक छ ।’
४६ वर्ष यता उत्कर्षमा पुग्यो मूल्य
पछिल्लो ४६ वर्षको अवधिमा सन् २०२५ मा चाँदीको भाउ उत्कर्ष पुगेको थियो । सन् २०२५ को अन्तिम समयसम्ममा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १७०.१ अमेरिकन डलरसम्म पुगेको थियो । चाँदीको यो ग्लोबल प्राइस वृद्धि सन् १९७९ यताकै सबैभन्दा बढी हो ।
नेपाली बजारमा चाँदीको उपलब्धता नै निक्कै कम भएको बैंकिङ क्षेत्रले पनि औंल्याएका छन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले चाहेर पनि बैकिङ च्यानलमार्फत चाँदी आयात गर्न नपाएको जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्यधिक बढेर उपलब्धता निक्कै कम भएर आपूर्तिकर्ताले चाँदी डेलिभरी गर्न मानेको छैन, चीनले पनि भौतिक रुपमा चाँदीको उपलब्धतामा अहिले निक्कै कडाइ गरेकाले हामीले बैंकिङ च्यानलमार्फत ल्याउन पाएका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने ।
खनालका अनुसार नेपालमा अधिकांश चाँदी दुवईबाट आयात हुन्छ ।
दुवईले भने चीनसहित अन्य वैश्विक बजारबाट अर्ध प्रशोधित चाँदी आयात गरी प्रशोधन गरी विभिन्न आकार दिएपछि विभिन्न मुलुकमा पठाउँदै आएको छ । यसले गर्दा दुवई पछिल्लो समयमा नेपाल, भारतलगायत दर्जनौं मुलुकहरुको लागि ‘सिल्भर ट्रेड हब’को रुपमा विकास भएको छ ।
अमेरिकन डलरको मूल्य वृद्धि, चाँदीको उत्खनन, प्रशोधन र उत्पादन दर निक्कै घट्दो अवस्थामा छ । खनिज उत्खनन र प्रशोधन गर्न आवश्यक पर्ने लगानीको चर्को अभाव देखिन्छ । पछिल्लो समयमा विभिन्न प्रयोजनमा चाँदीको उल्लेख्य प्रयोग तथा भू-राजनीति र द्वन्द्व, रणनीतिक रुपमा अत्यधिक परिमाणमा चाँदी खरिद गरी भण्डारण गर्ने शक्ति राष्ट्रहरुको प्रतिस्पर्धासमेतले ग्लोबल मार्केटमा चाँदीको चर्को अभाव सिर्जना भएको हो ।
यस्तै गहना र पैसा(डलर) को रुपमा प्रयोग हुँदै आएको चाँदीको उपभोग पछिल्लो समयमा औद्योगिक धातु, सौर्य प्यानल, विद्युतीय उपकरण, विद्युतीय सवारी साधन(ईभी), रक्षा सामग्री, विद्युतीय सर्किट, ब्याट्री, चिकित्सकीय उपकरण तथा उन्नत प्रविधिलगायतमा समेत हुन थालेपछि ग्लोबल मार्केटमा यसको अभाव देखिएको हो ।

चाँदी आयातमा राष्ट्र बैंकको सहजीकरण
महिनामा एक पटक मात्रै चाँदी आयात गर्नेले अब एकै पटकमा चार गुणा बढीसम्म आयात गर्न सक्ने व्यवस्था सरकारले गरेको छ । आतइबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्रमार्फत उक्त व्यवस्था गरेको थियो ।
उद्योगीले एक पटकमा बढीमा ५ लाख डलरसम्मको चाँदी आयात गर्न पाउने व्यवस्था रहेकोमा अब एकैपटक २० लाख अमेरिकी डलरसम्मको आयात गर्न पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
तर, २० लाख डलरसममको आयात गर्नेले महिनामा एक पटक मात्रै उक्त सीमाअनुसार आयात गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
उद्योगी व्यवसायीले एकै पटकमा ५ लाख डलरसमम्को आयात गर्दा एक पटकभन्दा बढी आयात गर्नुपर्ने र त्यसले आयात लागत खर्च बढ्ने भएकाले एक महिनामा एक पटक मात्रै आयात गर्नेलाई चार गुण बढीसम्मको आयात गर्नसक्ने व्यवस्था गरिएको हो ।
अन्य सुनचाँदी व्यवसायीले पनि एक पटकमा १ लाख डलरको चाँदी आयात गर्न पाउनेमा अब महिनामा एकै पटक मात्रै आयात गर्दा ४ लाख डलरसम्मको आयात गर्न पाउने व्यवस्था भएको छ ।
एकै पटकमा ५ लाख र १ लाख डलर बराबरको आयात गर्दा महिनामा जति परिमाणमा आयात गर्न सक्ने व्यवस्था भए पनि महिनामा एक पटक मात्रै आयात गर्नेलाई भने २० लाख र ४ लाख डलरसम्मको सुविधा दिइएको छ ।
चीनले किन गर्यो निर्यातमा कडाइ ?
चीनले १ जनवरी २०२६ देखि चाँदी निर्यातमा कडा लाइसेन्स नीति कार्यान्वनयमा ल्याएको छ । निर्यात प्रक्रियालाई अत्यन्त सिमित बनाएर चीनले अहिले चाँदीको डेलिभरी प्रक्रियासमेत निक्कै साँघुरो बनाएको छ ।
चीनको चाँदीको भण्डारण क्षमता निक्कै न्यून भएपछि १ जनवरीदेखि चाँदीको निर्यात गर्न सरकारबाट विशेष प्रकारको अनुमति पत्र (लाइसेन्स) अनिवार्य गरेको छ । चीनले चाँदीसँगै टंग्स्टन र एन्टिमोनी धातुमा पनि यो नियम लागू गरेको छ । यो दुई धातुमा चीनको विश्वव्यापी आपूर्तिमा बलियो पकड छ ।
यसअनुसार चीन सरकारले मान्यता दिएको कम्पनीले मात्रै यो निर्यात विशेष अनुमति पत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो नीतिअनुसार नयाँ वा साना निर्यातकर्तालाई उक्त लाइसेन्स उपलब्ध नगराइने व्यवस्था गरिएको छ । यसले गर्दा त्यस्ता नयाँ वा साना निर्यातकर्तामार्फत हुँदै आएको चाँदीको निर्यात तथा डेलिभरी प्रक्रिया पूर्ण रुपमा ठप्प भएको छ ।
यसको अर्थ चीनियाँ व्यक्ति र कम्पनीले अब स्वतन्त्र रुपमा चाँदी निर्यात तथा बिक्री गर्न पाउँदैनन । चीनले रणनीतिक र आर्थिक योजनाअनुसार यो नीति कार्यान्वयनमा ल्याएको हो ।
यो कदमले विशेषगरी अमेरिकासहित विश्वव्यापी औद्योगिक र रक्षा उत्पादन आपूर्ति शृंखलामा प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ । हाल एक किलोग्राम चाँदीको मूल्य २ लाख ३८ हजार ९ सय रुपैयाँ आसपास कारोबार भइरहेको छ ।
चीनले चाँदीलाई रणनीतिक संसाधनको रुपमा लिने गरेको छ । औद्योगिक र प्रविधि क्षेत्रमा चाँदीको ठूलो माग बढ्दै गएकाले नियन्त्रण गर्ने उद्देश्यले रणनीतिक संसाधनको रुपमा हेरिएको हो ।
चीनले आफ्नो चाँदीको सहयोगमा निमार्ण हुने ज्वेलरी, इलेक्ट्रोनिक्स उपकरण, सोलर प्यानल, इभी सवारी साधन, रक्षा सामग्री तथा उन्नत प्रविधि, औषधी, औद्योगिक उत्पादन लगायतमा खपत हुने चाँदीको घरेलु माग पूरा गर्नका लागि यस्तो नीति कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले औल्याएको छ ।
चीनले यो नयाँ नीतिअनुसार सन् २०२६ र २०२७ को लागि ४४ घरेलु सरकारी मान्यता प्राप्त कम्पनीलाई मात्रै निर्यात गर्न पाउने गरी अनुमति प्रदान गर्दै त्यस्ता कम्पनीको सूची सार्वजनिक गरेको छ ।
चीनले २०२५ को पहिलो ११ महिनामा ४,६०० टनभन्दा बढी चाँदी निर्यात गरेको छ । यो अवधिमा चीनले करिब २२० टन चाँदी आयात गरेको देखिन्छ ।
चीनको यो नीतिप्रति विश्वका ठूला उद्योगपति र नीति निर्माताहरुका ध्यान तानेको छ । टेक्सलाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो बिषय गम्भिर भएको भन्दै सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिदैं भनेका छन, ‘यो राम्रो संकेत होइन, धेरै औद्योगिक प्रक्रियामा चाँदी अत्यावश्यक हुन्छ ।’
अमेरिकाले पनि पछिल्लो समयमा चाँदीलाई अत्यावश्यक खनिजको राष्ट्रिय सूचीमा समावेश गरेपछि भू राजनीति तात्तिएको छ ।
चाँदीको आयात घट्दो
नेपालमा पछिल्लो समयमा चाँदीको आयात घट्दै गएको छ । पछिल्लो ६ आर्थिक वर्षको अवधिमा आर्थिक वर्ष २०७९/८० देखि आयात दर घट्दै गएको पाइएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/७९ सम्म चाँदीको पर्याप्त परिमाणमा आयात भइरहेको थियो । त्यो आर्थिक वर्षमा १ लाख ६७ हजार ७ सय ११ किलो र आर्थिक वर्ष २०७७/७८ मा १ लाख ७ हजार २ सय ११ किलो चाँदी नेपालमा आयात भएको थियो । आर्थिक वर्ष २०७९/८० देखि भने आयात घटेर वार्षिक रुपमा ३२ हजारदेखि ५० हजार किलोसम्ममा सिमित भएको थियो ।
चालु आर्थिक वर्षको ५ महिनामा भने ४२ हजार ३ सय ४७ किलो चाँदी आयात भएको छ ।
नेपालमा मुख्यगरी दुवई, टर्की, हङ्गकङ्ग, चीन, स्वीटरल्याण्ड लगायतका मुलुकबाट चाँदी आयात हुँदै आएको छ ।
मेक्सिको संसारकै सबैभन्दा ठूलो उत्पादक
अन्तर्राष्ट्रिय बजारमा चाँदी उत्पादन गर्ने प्रमुख ५ मुलुक छन् । जसले संसारमै सबैभन्दा बढी उत्पादन गर्दैआएका छन् ।
मेक्सिको संसारको सबैभन्दा ठूलो उत्पादक हो । यो मुलुकमा वार्षिक ६ हजार ४ सय मेट्रिक टनको हाराहारीमा चाँदी उत्पादन हुन्छ ।
दोश्रोमा चीनले वार्षिक ३ हजार ३ सय मेट्रिक टन, पेरु ३ हजार १ सय मेट्रिक टन, पोल्यान्डले १ हजार ३ सय मेट्रिक टन र चिली तथा बोलिभियाले बराबर अर्थात १ हजार २ सयदेखि १ हजार ३ सय मेट्रिक टनसम्म चाँदी उत्पादन गर्दैआएका छन् ।
हङकङले गर्छ विश्वमै सबैभन्दा बढी निर्यात
विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक हङकङ हो । यो देशले वार्षिक ४ हजार ७५० मेट्रिक टन चाँदी संसारभर निर्यात गर्दैआएको छ ।
यसपछि चीनले वार्षिक ४ हजार २४६ मेट्रिक टन, युकेले ४ हजार २ सय मेट्रिक टन, युरोपेली संघ ३ हजार ४७० र मेक्सिकोले वार्षिक २ हजार ३७९ मेट्रिक टन चाँदी निर्यात गर्दैआएको छ ।








प्रतिक्रिया