एमालेले बादललाई बनायो चुनावी कमाण्डर


काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई पार्टीको चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका थापालाई समग्र निर्वाचन परिचालनको नेतृत्व गर्ने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार उक्त कमिटीको सचिवमा विष्णुप्रसाद रिमाल रहेका छन् ।

निर्वाचन परिचालन कमिटीका सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन् ।

बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी नदिने नेताहरूलाई निर्वाचन परिचालन कमिटीमा समेट्ने विषयमा सैद्धान्तिक छलफलसमेत भएको एक नेताले जानकारी दिए ।