
काठमाडौं । पूर्वमन्त्री तथा मो.इस्तियाक राईको लगानी रहेको किसान फिड मिलले एकै वर्ष १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ७९ करोड ६० लाख र सन् २०२२ मा ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा १८ प्रतिशतले बढेको छ ।
सन् २०२० मा स्थापना भएको कम्पनीले सन् २०२२ देखि पोल्ट्री, गाइवस्तु, माछाको दाना उत्पादन गरी बजारमा कारोबार गर्दै आएको छ ।
वार्षिक ५६ हजार १ सय ६० मेट्रिक टन दाना उत्पादन गर्दै आएको कम्पनीले गत आवमा क्षमताको २९ प्रतिशत मात्रै उपयोग गरेको रेटिङमा उल्लेख छ ।
कम्पनीले सन् २०२५ को मेबाट भटमास प्रशोधन गर्ने मेसिन र मकै प्रशोधन गर्ने मेसिन सञ्चालनमा ल्याएको थियो । १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको नेट वर्थ २४ करोड ३० लाख रुपैयाँ रहेको छ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो.इस्तियाक राई र उनका परिवारका सदस्यको लगानीको दाना कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ ।
२०७८ पुसमा ६५ करोड रुपैयाँको लागतमा उक्त दाना उद्योग सञ्चालनमा आएको थियो । ४० कठ्ठा क्षेत्रफलमा रहेको उद्योगले ब्रोइलर कुखुराको पेलेट दाना, लेयर्स कुखुराको मेस दाना, पशुको केटल दाना र माछाको दाना उत्पादन गरिरहेको छ । पूर्वमन्त्री राईकै २० करोड लगानीमा दाना उद्योगको छेवैमा ७५ हजार कुखुरा क्षमताको रजा ग्रुप्स प्रा.लि. पनि सञ्चालनमा छ ।








प्रतिक्रिया