
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको ‘स्थान हद’ हटेको छ ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले चालेका कदमबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले सोमबार उक्त प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता एवं पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार, ओलीको बयान र सोधपुछको प्रक्रिया सकिएकाले उनलाई उपत्यका छाड्न र विदेश भ्रमण गर्न लगाइएको रोकको औचित्य सकिएको हो । गत असोज १२ गते आयोगले उनीमाथि यो प्रतिबन्ध लगाएको थियो ।
ओलीले आइतबार मात्रै राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए भने जाँचबुझ आयोगलाई आफ्नो भक्तपुरस्थित निवासमै लिखित बयान बुझाएका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले यसअघि नै तत्कालीन मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिइसकेको छ ।








प्रतिक्रिया