
काठमाडौं । प्राथमिक सेयर निष्काशन (आइपीओ) ल्याउने तयारीमा रहेको हुलास ग्रुपको हुलास आइरन इन्डष्ट्रिजले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ८० करोड रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले चालु आवको चार महिनाको अवधिमा ८० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२५ मा ३ अर्ब ४० करोड ३० लाखको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ३ अर्ब ४० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा १३ प्रतिशतले बढ्दा २.५६ प्रतिशत खुद नाफा कमाएको थियो । चालु आवको चार महिनाको अवधिमा कम्पनीले ३.४५ प्रतिशत खुद नाफा कमाएको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।
कम्पनीले विभिन्न प्रकारका पाइप तथा जस्तापात सामग्री उत्पादन गर्दै आएको छ । सन् २०२२ मा पूर्ण क्षमतामा व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले वार्षिक १ लाख ५ हजार ७ सय ६५ मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले उत्पादन गरेको सामग्री हुलास ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
चन्द्रकुमार गोल्छाको ७२.९८ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ३८ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड ७७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३७ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया