
काठमाडौं । देउराली जनता फर्मासिटिकल्स प्रालिले एकै वर्ष करिब साढे २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
गत आवमा व्यापार १६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
नेपालकै पुरानो औषधी कम्पनी देउराली जनताले कार्डियोभास्कुलर, डाइबेटिज, गाइनोकोलोजी र चायल्डकेयर, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, दर्माटोलोजीलगायत अन्य विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ । कम्पनीले २ सय ५० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्ने गरेको रेटिङमा उल्लेख छ।
कम्पनीमा हरिभक्त शर्माको ७१ प्रतिशत स्वामित्व छ भने त्यसबाहेकको स्वामित्व उनका परिवारका सदस्यको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो । देशभर कम्पनीका २ सयभन्दा बढी वितरक छन् ।








प्रतिक्रिया