
काठमाडौं । आगामी निर्वाचनका लागि गुन्डा डन चक्रे मिलनको नाम उम्मेदवारमा सिफारिस भएको छ ।
नेकपा एमाले गोरखा क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारका रूपमा मिलन गुरुङ (चक्रे मिलन) को नाम सिफारिस गरेको छ ।
विगतमा ‘गुण्डा नाइके’ को पहिचान बनाएका गुरुङलाई युवाहरूको माग र दबाब भन्दै एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो।
सिफारिसमा परेका गुरुङको छवि विवादित छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीविरुद्ध अहिलेसम्म १२ पटकभन्दा बढी मुद्दा चलेका छन्। उनी पछिल्लो पटक गत साउनमा सार्वजनिक स्थानमा आतंक मच्चाएको र बाटो अवरुद्ध गरेको आरोपमा काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका थिए । ज्यान मार्ने उद्योग लगायतका मुद्दा खेपेका उनी पटक–पटक हिरासत र जेल बस्दै आएका पात्र हुन् ।
एमालेका अनुसार गुरुङ २०५० सालदेखि नै पार्टीमा सक्रिय रहँदै आएका छन्। उनले आफ्नो पाखुरामा एमालेको चुनाव चिह्न ‘सूर्य’ को ट्याटु समेत खोपेका छन् । यसअघिको निर्वाचनमा पनि उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिममा उनले टिकट पाएका थिएनन् ।
आफूमाथि लाग्दै आएको ‘गुण्डा’ को आरोपबारे गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू लामो समयदेखि निस्वार्थ समाजसेवामा सक्रिय रहेको र ‘गुण्डा’ को आरोप लगाएर दुःख दिने प्रयास भइरहेको बताएका छन् । उम्मेदवारी आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि स्थानीय समुदाय र विशेषगरी ‘जेनजी’ पुस्ताको निरन्तर मागका कारण भएको उनको दाबी छ।
डा. बाबुराम भट्टराईको चुनावी क्षेत्र मानिने गोरखा–२ बाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए।








प्रतिक्रिया