आईपीओ ल्याउन लागेको गोल्छाको हुलास फिनसर्भले ३ महिनामा गर्‍यो ‍६ करोड नाफा

147
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज प्रालिले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब पौने ३६ करोड रुपैयाँको कारोबार गरेको छ । गोल्छा अर्गनाइजेशनको यस कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख, सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले चालु आवको ३ महिनामा ३६ करोड रुपैयाँको कारोबार गर्दा ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२५ मा २१ करोड ६० लाख रुपैयाँ, सन् २०२४ मा ९ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ९० लाख रुपैयाँ र सन् २०२२ मा १४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको हाल १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कुल सम्पत्ति छ । गत आवम १ अर्ब ४८ करोड ९० लाख रुपैयाँ कुल सम्पत्ति थियो । त्यस्तै, कम्पनीले चालु आवको तीन महिनाको अवधिमा ९ अर्ब ९३ करोड ४० लाख रुपैयाँ पोर्टफोलियोको व्यवस्थापन गरेको छ । त्यसमा कम्पनीको ७ अर्ब २१ करोड ७० लाख रुपैयाँ कर्जा रहेको छ । कम्पनीले गत आवमा ८ अर्ब २ करोड ६० लाख रुपैयाँ पोर्टफोलियोको व्यवस्थापन गरेको थियो ।

कम्पनीको चालु आवमा नेट लोन पोर्टफोलियो उच्च बढेको छ । कम्पनीअनुसार चालु आवमा २४ प्रतिशतले कर्जा लिने बढेको उल्लेख छ । त्यसैगरी, खुद व्याजदर आम्दानी पनि ६७ प्रतिशत बढेको छ ।

हुलास फिनसर्भले आफ्नो व्यवसायलाई मोबाइल र इलेक्ट्रोनिक्स क्षेत्रमा विस्तार गरेसँगै ग्राहक संख्यामा ठुलो वृद्धि भएको छ । सन् २०२४ मा ४४ हजार ५४९ रहेका ग्राहक २०२५ मा आइपुग्दा १ लाख ४२ हजार ७५५ पुगेको छ । साना दरका ऋणमा लगानी केन्द्रित गर्दा जोखिम विविधीकरण भएको रेटिङमा उल्लेख छ ।

कम्पनीले विभिन्न पाँच वटा क्षेत्रमा कर्जाको सुविधा दिँदै आएको छ । कम्पनीले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, घरायसी सामग्री र मोबाइल क्षेत्रमा कर्जाको सुविधा दिँदै आएको छ । कम्पनीअनुसार गत आवमा कम्पनीले प्रवाह गरेको कर्जामा दुई पाङ्ग्रे सवारी साधन क्षेत्रमा ३८ प्रतिशत र चार पाङ्ग्रे र मोबाइल सेग्मेन्ट क्षेत्रमा २९ प्रतिशत कर्जाको व्यवस्थापन गरेको थियो ।

सन् २०१२ मा हुलास इन्भेष्टमेन्ट प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२१ हुलास फिनसर्भ लिमिटेडमा परिणत गरेको थियो । कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनीको ८२ प्रतिशत स्वामित्व छ भने बाँकी १८ प्रतिशत विभिन्न संस्था र व्यक्तिहरुको स्वामित्वमा छन् । जसमा हुलास अटो क्राफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको पनि स्वामित्व छ ।

हुलास फिनसर्भ हायर पर्चेजले प्राथमिक साधरण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको सञ्चालक समितिको नेतृत्व व्यवसायी शेखर गोल्छाले गरिरहेका छन् ।