गगन-विश्वप्रकाश पक्षले भने: हामी फुटको पक्षमा छैनौँ

98
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि ‘विशेष महाधिवेशन’को माग गर्ने समूहले नेतृत्वमाथि दबाब बढाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीलाई वैधानिक संकटबाट जोगाउन यसको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको बाटो अघि सारेपछि यो पक्षले त्यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन आग्रह गरे । उनले यो माग पार्टी विभाजनका लागि नभई विधानको रक्षाका लागि भएको स्पष्ट पारे ।

विशेष महाधिवेशन पक्षधरहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोषित मितिमा १५औँ महाधिवेशन नहुने निश्चित भइसकेको दाबी गरेका छन् । ‘अब नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । यो कसैको व्यक्तिगत रोजाइ होइन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने जनतामा जाने नैतिक धरातल समाप्त हुन्छ ।’

उनीहरूले पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै नेतृत्वलाई न्यूनतम जिम्मेवारी पूरा गर्न सचेत गराएका छन् ।

विशेष महाधिवेशन पक्षधर समूहले विधानको धारा १७ (२) बमोजिम आगामी पुस २७ र २८ गते केन्द्रले विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने माग अघि सारेको छ । नियमित महाधिवेशनका कार्यक्रमहरू स्थगित भइसकेको अवस्थामा यो नै वैधानिक निकास भएको उनीहरूको जिकिर छ ।

‘यो मागलाई नेतृत्वले हार वा जितको रूपमा लिन नहुने उनीहरूको भनाइ छ । “यो माग पार्टीको एकता कायम राख्न, आन्तरिक लोकतन्त्र जोगाउन र जनताप्रति जवाफदेही बन्ने अवसर हो,’ विज्ञप्तिमा उल्लेख छ । उनीहरूले नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र स्पष्ट दिशासहित अघि बढाउनका लागि विशेष महाधिवेशन नै उपयुक्त माध्यम भएको दाबी गर्दै पार्टी नेतृत्वसमक्ष विनम्रतापूर्वक अनुरोध समेत गरेका छन् ।

यसअघि, संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनको खतरा बढाउने भन्दै सभापति शेरबहादुर देउवालाई भेटेर नियमित प्रक्रियामै जोड दिन आग्रह गरिसकेका छन् । यसले गर्दा कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर दुई धार प्रष्ट देखिएको छ ।