विशेष महाधिवेशनले पार्टी फुट्ने भन्दै देउवा कहाँ पुगे २५ नेता, विकल्प नभएको इतर पक्षको भनाइ

630
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किएको छ । पार्टीका २५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टीलाई विभाजनको दिशामा लैजाने भन्दै सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी जोगाउन आग्रह गरेका छन् ।

शुक्रबार सभापति देउवा निवास पुगेका नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले पार्टीलाई संकटमा पारेको बताएका हुन् ।

बिहीबार मात्रै महामन्त्रीद्वयले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरी विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए।

सभापति देउवालाई भेट्न पुगेका २५ केन्द्रीय सदस्यका तर्फबाट नेतृ पुष्पा भुसालले एउटा पक्षले मात्र विशेष महाधिवेशन आह्वान गर्दा पार्टी फुटको जोखिममा परेको उल्लेख गरिन् ।

पार्टीको अभिभावकको नाताले कांग्रेसलाई जोगाउने जिम्मेवारी सभापतिको भएको उनको भनाइ छ ।

उनीहरूले विशेष महाधिवेशनको साटो क्रियाशील सदस्यताका विवाद टुंग्याएर चाँडोभन्दा चाँडो वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्कोतर्फ, विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले भने घोषित समयमा १५औँ महाधिवेशन नहुने निश्चित भइसकेकाले विशेष महाधिवेशनको विकल्प नरहेको दाबी गरेका छन् ।

शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले विधानको बाध्यकारी व्यवस्था पालना गर्न नेतृत्वलाई चुनौती दिएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘१५औँ महाधिवेशनको कार्यतालिका नै प्रभावित भइसकेको अवस्थामा विशेष महाधिवेशन नै एकमात्र वैधानिक बाटो हो । लोकतान्त्रिक पार्टीले आफ्नै विधान नमान्ने हो भने जनतामा जाने नैतिक आधार रहँदैन ।’

विशेष महाधिवेशन पक्षधरहरूले विधानको धारा १७ (२) बमोजिम पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न माग गरेका छन् । यो मागलाई कसैको जित वा हारको रूपमा नलिई पार्टीको आन्तरिक लोकतन्त्र र एकता कायम राख्ने अवसरका रूपमा ग्रहण गर्न उनीहरूले नेतृत्वलाई आग्रह गरेका छन् ।

पार्टीभित्रका यी दुई धारका कारण नेपाली कांग्रेसको आन्तरिक राजनीति अहिले निकै तरल बनेको छ ।