
काठमाडौं । नेपालमा भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को कारोबारलाई पूर्णतः प्रतिबन्ध लगाइएको भए तापनि यसको अवैध प्रयोग र यसले निम्त्याएको वित्तीय जोखिमको आयतन निकै ठूलो देखिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५’ ले नेपालमा क्रिप्टोकरेन्सीमार्फत हुने शंकास्पद आर्थिक गतिविधिमा तीव्र वृद्धि भएको देखाएको छ ।
प्रतिवेदनले विशेष गरी युवा पुस्ता, विद्यार्थी र जागिरे वर्ग यस अवैध धन्दाको ‘सफ्ट टार्गेट’ बनिरहेको र बैंकिङ प्रणालीलाई नै ठगीको रकम व्यवस्थापन गर्ने माध्यम बनाइएको खुलासा गरेको छ ।
४ वर्षमा शंकास्पद कारोबारमा भारी वृद्धि
प्रतिवेदन अनुसार सन् २०२१ देखि २०२५ को जुलाईसम्ममा कुल ६५८ वटा क्रिप्टो सम्बन्धी शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएका छन् । तथ्याङ्कलाई वर्षगत रूपमा हेर्दा यो वृद्धिदर डरलाग्दो छ ।
कहिले कति ?
सन् २०२१: १३ वटा
सन् २०२२: १७३ वटा
सन् २०२३: १३८ वटा
सन् २०२४: २५२ वटा
सन् २०२५ (जुलाई १६ सम्म): ८२ वटा
यी रिपोर्टिङमध्ये ९१.१९ प्रतिशत (६०० वटा) वाणिज्य बैंकहरूबाट प्राप्त भएका हुन् । यसले क्रिप्टोको खरिद–बिक्रीमा अनौपचारिक माध्यम प्रयोग भए पनि पैसाको लेनदेन भने वैधानिक बैंक खाताहरूबाटै भइरहेको देखाउँछ ।
यसैगरी प्राप्त रिपोर्टिङमध्ये ३२१ वटालाई सम्बन्धित अनुसन्धान गर्ने निकायमा पठाइएको छ । वित्तीय जानकारी इकाइका अनुसार २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई र ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई कारबाहीका लागि पठाइएको छ । यसैगरी ३ वटा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई र एउटा आन्तरिक राजस्व विभागमा पठाएको प्रतिवेदनमा उल्लेख छ ।
कुन वर्ष कतिवटा पठाइयो ?
सन् २०२१: ४ वटा
सन् २०२२: २७ वटा
सन् २०२३: ८४ वटा
सन् २०२४: १९८ वटा
सन् २०२५ (जुलाई १६ सम्म): ८ वटा
युवा पुस्ता र विद्यार्थी मुख्य जोखिममा
राष्ट्र बैंकको विश्लेषणले नेपालको एउटा ठूलो युवा हिस्सा अवैध वित्तीय क्रियाकलापमा फसेको देखाएको छ। शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरूको उमेर समूह विश्लेषण गर्दा ७५ प्रतिशत व्यक्ति २१ देखि ३५ वर्ष उमेरका छन् । तीमध्ये २१ देखि २५ सम्मका २० प्रतिशत, २६ देखि ३१ सम्मका ३५ प्रतिशत र ३१ देखि ३५ सम्मका २० प्रतिशत छन् ।
पेशागत रूपमा २९ प्रतिशत विद्यार्थी छन् भने २१ प्रतिशत कर्मचारी छन् । यसैगरी आफ्नै उद्यम गर्नेहरू १९ प्रतिशत र वैदेशिक रोजगारीमा जानेहरू ९ प्रतिशत छन् ।
डिजिटल प्रविधिमा पोख्त तर वित्तीय साक्षरता कम भएका कारण यो समूह ‘छिटो धनी बन्ने’ लोभमा परेर वा अञ्जानमै ‘मनी म्युल्स’ (भरिया) को रूपमा प्रयोग भइरहेका छन् । उनीहरूले आफ्नो खाता अरूलाई चलाउन दिने (बिक्री) वा सानो कमिसन (भाडा)को लोभमा ठगीको पैसा ओसारपसार गरिरहेको पाइएको छ ।
अपराधको नयाँ ‘मोडस अपरेन्डी’
प्रतिवेदनले क्रिप्टोकरेन्सी प्रयोग गरी नेपालमा भइरहेका मुख्य अपराधका ५ वटा शैलीहरूलाई व्याख्या गरेको छ ।
पहिलो, हुन्डी र क्रिप्टो सेटलमेन्ट । विदेशबाट पैसा पठाउँदा क्रिप्टोमा कन्भर्ट गर्ने र नेपालमा हुन्डी एजेन्टमार्फत नगद बाँड्ने गरिन्छ । यसले वैदेशिक मुद्रा सञ्चितिमा सिधै असर पुर्याइरहेको छ ।
दोस्रो, अनलाइन ठगी र डेटिङ एप । मिटु जस्ता डेटिङ एप प्रयोग गरेर व्यक्तिको भावनासँग खेल्ने र लगानीको नाममा क्रिप्टो खरिद गर्न लगाई करोडौं ठगी हुने गरेको छ । हालै ललितपुरमा सञ्चालित एक अवैध कल सेन्टरबाट यस्तै ठगी भएको उदाहरण रिपोर्टमा उल्लेख गरिएको छ । प्रहरीले ६ जना चिनियाँ नागरिकसमेत ५२ जना पक्राउ गरेका थिए ।
तेस्रो, पारिवारिक खाताको दुरुपयोग । कैलालीमा एउटै परिवारका सदस्यहरूको नाममा बैंक खाता खोली ३७ करोड बराबरको क्रिप्टो कारोबार भएको भेटिएको थियो, जसले गर्दा परिवार नै कानुनी झमेलामा फसेको छ ।
चौथो, अनलाइन जुवा । विशेष गरी आईटी इन्जिनियरहरू र प्राविधिक रूपमा सक्षम व्यक्तिहरूले नेपालमा बसेर अन्तर्राष्ट्रिय सट्टेबाजीमा क्रिप्टो प्रयोग गरिरहेको पाइएको छ ।
र पाँचौं, व्यवसायको आवरणमा ठगी । दर्ता भएका सफ्टवेयर कम्पनी वा परामर्शदाताको नाममा कार्यालय खोल्ने तर भित्रभित्रै क्रिप्टो माइनिङ वा कारोबार गर्ने प्रवृत्ति पनि बढेको अनुसन्धानले देखाएको छ ।
प्रतिबन्ध मात्र समाधान होइन
पूर्ण प्रतिबन्धका बाबजुद कारोबार भूमिगत रूपमा बढिरहेको प्रतिवेदनको निष्कर्ष छ । त्यसैले राष्ट्र बैंकले अबको रणनीतिमा परिवर्तन गर्नुपर्ने संकेत गरेको छ ।
प्रतिवेदनले फाइनान्सियल एक्सन टास्क फोर्सको सिफारिस अनुसार क्रिप्टो कारोबारमा संलग्न पठाउने र पाउने दुवैको विवरण अनिवार्य ट्र्याक गर्नुपर्ने, नेपालमा क्रिप्टोको वास्तविक जोखिम कति छ भनेर विस्तृत अध्ययन तत्काल गर्नुपर्ने, सापटी वा सापटी फिर्ता जस्ता शंकास्पद कैफियत लेखिएका स-साना तर धेरै पटक हुने कारोबारलाई कडाइका साथ निगरानी गर्नुपर्ने, प्रहरी तथा राजस्व अनुसन्धान विभागलाई ब्लकचेन एनालिटिक्स टुलहरू उपलब्ध गराउनुपर्ने जस्ता सुझाव दिएको छ ।








प्रतिक्रिया