चितवन मेडिकल कलेजको ब्यापार बढ्यो, एकै वर्ष साढे २ अर्बको कारोबार

स्वास्थ्य बिमा र क्यासर उपचार सुरू भएपछि व्यापार बढ्यो


काठमाडौं । चितवन मेडिकल कलेजले एकै वर्ष साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ५१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा १ अर्ब ९७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार गत आवमा सन् २०२४ को तुलनामा २७ प्रतिशतले व्यापार बढेको छ ।

गत आवमा भर्ना हुने बिरामीको संख्या बढ्न जाँदा व्यापार बढेको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले चालु आवको चार महिनाको अवधिमा ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरिसकेको रेटिङमा जनाएको छ ।

सन् २०२४ को जुलाईबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरेसँगै बिरामीको संख्या बढेको कम्पनीको भनाइ छ । गत आवबाट अस्पतालमा विशेष क्यान्सर उपचारको सेवासँगै फार्मेसीको सुविधा दिएकाले व्यापार बढ्न गएको कम्पनीले जनाएको छ ।

सन् २०२४ मा ३०.०४ प्रतिशत नाफा कमाएको कम्पनीले गत आवमा २९.३० प्रतिशत नाफा कमाएको छ ।

सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले स्वास्थ्य सेवासँगै मेडिकल शिक्षाको पनि सेवा दिँदै आएको छ ।

हरिशचन्द्र न्यौपाने अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले हाल ७ सय ५० शय्या क्षमतामध्ये ५ सय ३७ शय्याको सुविधासहित सेवा दिँदै आएको छ । कम्पनीले डेन्टिस्ट्री, फरेन्सिक मेडिसिन, अप्थल्मोलोजी, ओर एन्ड मेसीलोफेसियल, सर्जरी, प्याथोलोजी, अर्थोडोन्डिक्स, पेडोडोन्टिक्स, रेडियो डाइगनोसिस, सर्जरी अन्कोलोजीसहित अन्य केयर सेवा दिँदै आएको छ ।

कम्पनीले स्वास्थ्य उपचार मात्रै नभएर १४ वटा विभिन्न कोर्सको पनि पठपाठन गर्दै आएको छ ।

कम्पनीकाअनुसार गत आवमा ६१ प्रतिशत आम्दानी हस्पिटलबाट गरेको छ भने ३१ प्रतिशत मेडिकल कलेजबाट गरेको रेटिङमा उल्लेख छ ।

कम्पनीले सन् २०२३ देखि क्यान्सर सम्बन्धी विशेष सेवाको व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले क्यान्सरको उपचारको लागि १ अर्ब १२ करोड १० लाख रुपैयाँ लगानीमा हस्पिटल निर्माण गरेको थियो । जसमा कम्पनीले लगानीको अनुपात ७०:३० राखेको थियो ।