
काठमाडौं । हुलास खाद्य उद्योगले एकै वर्ष सवा ४६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १५ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा १३ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ३८ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२३ र सन् २०२४ मा घटेको थियो । साथै, नाफा कमाउन सकेको थिएन । त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीको व्यापार बढे पनि नाफा भने कमाउन नसकेको कम्पनीले जनाएको छ ।
सन् १९९१ मा हिमांशु खाद्य उद्योग प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२५ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ ।
कम्पनीले धान र गहुँलाई प्रशोधन गरेर चिउरा, आँटा, ब्रोकन राइस, सुजी, राइस ब्रान र अन्य सामग्री उत्पादन गर्दै आएको छ ।
कम्पनीले अग्रिम चक्की आँटा, अग्रिम चिउरा, अग्रिम मैदा, अग्रिम मिल आँटा र अग्रिम सुजी ब्रान्डमा उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीमा १४ जनाको स्वामित्व छ । जसमा चन्द्रकुमार गोल्छाको ६३ प्रतिशत र शरद गोल्छाको १० प्रतिशत स्वामित्व छ । हुलास ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ कारोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया