
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले ‘जेनजी’ आन्दोलनका कारण मुलुकले करिब दुई आर्थिक वर्षको बजेट बराबरको क्षति व्यहोर्नुपरेको अनुमान गरेका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा महतले यस घटनालाई सरकारले अत्यन्त गम्भीरताका साथ लिनुपर्ने बताए ।
राज्यलाई भएको यो ठूलो नोक्सानी र नकारात्मक असरका पछाडि सरकार र आन्दोलनकारी दुवै पक्षको कमजोरी रहेको उनको बुझाइ छ । आन्दोलनका कारण लगानीको मानसिकता कमजोर भएको र ठूलो मात्रामा नेपालबाट पुँजी पलायन भएको भन्दै महतले यसलाई ‘भयानक’ अवस्थाको रूपमा चित्रण गरे ।
उनले मुलुकमा विधिको र कानुनको शासन हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक व्यवस्थालाई आत्मसात् नगरे समस्या बल्झिने र शान्ति खलबलिएपछि स्थायित्व नहुने तथा समृद्धिको बाटो अवरुद्ध हुने तर्क उनले अघि सारे ।
महतले भदौ २३ र २४ गतेका घटनामा शान्तिपूर्ण तरिकाले भावना व्यक्त हुन नसक्दा लुटपाट, चोरी र आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन पुगेको बताए । सरकारको तर्फबाट भएको दमन र नागरिकको ज्यान जानु गलत भएको बताउँदै उनले आम नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकार र सरकार बाहिरका सबैको दायित्व भएको उल्लेख गरे ।
उनले सरकारले कुनै पनि गैरकानुनी काम नगर्ने र हुन नदिने प्रतिबद्धता जनाउनुपर्ने बताए । साथै, नागरिक समाज, निजी क्षेत्र र राजनीतिक नेतृत्व सबै मिलेर अर्थतन्त्रको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । भदौ २३ र २४ गते कानुन मिच्ने जोकोहीलाई पनि कानुनी कठघरामा उभ्याएर कारबाही गर्नुपर्ने माग समेत उनले गरे ।








प्रतिक्रिया