बालेन र रविको एकताबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सको समाचारमा के छ ?


काठमाडौं । नेपालमा आगामी फागुनमा हुने संसदीय निर्वाचनअघि दुई चर्चित नेताहरूले गठबन्धन बनाएका छन् । यसले विगत तीन दशकदेखि हिमाली राष्ट्रको राजनीतिमा हावी रहेका पुराना दलहरूलाई चुनौती दिने पार्टी पदाधिकारी र विश्लेषकहरूले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ

लोकप्रिय निर्वाचित जनप्रतिनिधि तथा र्‍यापरबाट काठमाडौंको मेयर बनेका बालेन्द्र शाह (बालेन) आइतबार पूर्वटेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको पार्टी पदाधिकारीहरूले बताएका छन् ।

रास्वपासँगको सम्झौताअनुसार, आगामी फागुन २१ को निर्वाचनमा रास्वपाले जितेमा ३५ वर्षीय बालेन प्रधानमन्त्री बन्नेछन् भने ४८ वर्षीय लामिछाने पार्टी सभापतिमै रहने उनीहरूले बताएका छन् ।

दुवै नेताले गत भदौमा व्यापक भ्रष्टाचारविरुद्ध भएको ‘जेनजी’ वा युवा नेतृत्वको आन्दोलनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त आन्दोलनमा ७७ जनाको मृत्यु भएको थियो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।

‘बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको निकै चतुर र रणनीतिक कदम हो,’ विश्लेषक बिपिन अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भने, ‘आफ्ना युवा मतदाताहरू रास्वपातिर लाग्ने डरले परम्परागत राजनीतिक दलहरू त्रसित छन्।’

निर्वाचन आयोगका अनुसार नेपालका ३ करोड जनसंख्यामध्ये करिब १ करोड ९० लाख मानिस निर्वाचनमा मतदान गर्न योग्य छन् । आन्दोलनपछि करिब १० लाख मतदाता धेरैजसो युवाहरू थपिएका छन्

सेप्टेम्बरको आन्दोलनपछि बालेन चर्चाको केन्द्रमा थिए र उनी आन्दोलनको नेतृत्व गर्ने युवाहरूका अघोषित नेता थिए ।

उनले निर्वाचन सम्पन्न गराउन पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार गठनमा पनि सहयोग गरेका थिए ।

केही आलोचकहरूले आन्दोलनका क्रममा बालेनको भूमिकामाथि प्रश्न उठाएका छन् । उनी सार्वजनिक रूपमा विरलै देखा परेको र सामाजिक सञ्जालमार्फत मात्र समर्थकहरूलाई सम्बोधन गरेको उनीहरूको भनाइ छ ।

ओलीको नेकपा (एमाले) र मध्यमार्गी नेपाली कांग्रेसले विगत तीन दशकको अधिकांश समय सत्ता साझेदारी गरेका छन् र उनीहरूलाई नै बालेनले चुनौती दिने सम्भावना बढी छ ।

लामिछानेले २०२२ को निर्वाचनअघि रास्वपा गठन गरेका थिए र उनी टेलिभिजन प्रस्तोताका रूपमा भ्रष्टाचार विरोधी अभियानका कारण लोकप्रिय छन् ।

सहकारीका ठगीको आरोप लागेको मुद्दामा उनी हाल धरौटीमा रहेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बालेन र लामिछाने दुवै ‘विवादास्पद’ नेता भएको र उनीहरूको गठबन्धनले कुनै ठोस प्रभाव पार्ने सम्भावना नरहेको बताए ।

‘मलाई लाग्दैन कि उनीहरूको गठबन्धनले कुनै उथलपुथल ल्याउनेछ। जनताले अझै पनि पुराना र अनुभवी दलहरूलाई नै रोज्नेछन्,’ महतले रोयटर्सलाई भने ।