
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन र त्यसक्रममा उत्पन्न परिस्थितिका बारेमा उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार आयोगको कार्यालय पुगेर उनले साढे दुई घण्टा लामो बयान दिनुका साथै लिखित स्पष्टीकरण समेत पेस गरेका छन् ।
आयोगका पदाधिकारीहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा नेता लेखकले उक्त घटनामा आफ्नो व्यक्तिगत रूपमा ठूलो क्षति भए पनि देशको क्षतिका अगाडि त्यसलाई गौण ठानेको बताए ।
आन्दोलनका क्रममा आफ्नो काठमाडौँ र महेन्द्रनगरस्थित घरहरूमा आगजनी गरी नष्ट गरिएको स्मरण गर्दै उनले भने, ‘व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । तर, सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु ।’
बयानका क्रममा लेखकले भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी आफूले लिए पनि २४ गतेको घटना भने पूर्ण रूपमा नियोजित भएको दाबी गरे ।
तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले गरेका कामकारबाही र सुरक्षा निकायलाई दिएको निर्देशनबारे स्पष्ट पार्दै उनले आन्दोलनको अघिल्लो दिन नै सुरक्षा समितिको बैठक राखेर संयमता अपनाउन निर्देशन दिएको बताए ।
‘मैले सुरक्षा निकायलाई स्पष्ट रूपमा तीनवटा कुरा भनेको थिएँ— पहिलो, कुनै पनि हालतमा मानवीय हताहति (क्याजुल्टी) नहोस् । दोस्रो, सुरक्षा निकायबीच उचित समन्वय होस् र तेस्रो, यो नेतृत्वविहीन आन्दोलन भएकाले घुसपैठ हुन सक्नेप्रति सतर्क रहनुहोला,’ लेखकले आयोगमा दिएको बयान उधृत गर्दै बताए ।
आन्दोलनकारीमाथि बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम राख्दा सावधानी अपनाउन आफूले दिएको निर्देशनको सार नै कसैको ज्यान नजाओस् भन्ने रहेको उनले स्पष्ट पारेका छन् । लेखकले आयोगमा बुझाएको आफ्नो लिखित जवाफको प्रतिलिपि सार्वजनिक समेत गरेका छन् ।








प्रतिक्रिया