
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) थपिदिँदा प्राइम कमर्सियल बैंकको नाफा घटेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्दा १ अर्ब ३० करोड १२ लाख रुपैयाँ प्रोभिजन थपेसँगै बैंकको नाफामा गिरावट आएको हो ।
कम्पनीले आफ्नो अपरिस्कृत वित्तीय विरण तयार पार्दा कुल १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ बराबरको प्रोभिजन गरेको थियो । तर, अन्तिम लेखा परीक्षणपछि राष्ट्र बैंकबाट स्वीकृत गर्ने क्रममा राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब ७२ करोेड ७ लाख रुपैयाँ प्रोभजन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा प्राइम बैंकले अपरिस्कृत अर्थात् बाह्य लेखापरीक्षणअघि ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बाह्य लेखापरीक्षणपछि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको विवरणमा राष्ट्र बैंकले प्राेभिजन थप्दा नाफा ३ अर्ब २० करोड ८ लाख रुपैयाँ कायम भएको छ । यो नाफा मुख्यतः नोक्सानी व्यवस्था थप भएको कारणले घटेको हो ।
अन्तिम लेखा परीक्षण गर्दा कम्पनीको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोडबाट बढेर ८ अर्ब ९१ करोड पुग्दा पनि नोक्सानी व्यवस्था उच्च मात्रामा बढ्दा नाफा घटेको छ । अपरिस्कृत वित्तीय विरणअनुसार प्राइम बैंकको सञ्चित (वितरणयोग्य) नाफा २ अर्ब ७८ करोड ८ लाख रहेकोमा अहिले १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको अन्तिम लेखा परीक्षण गर्दा पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत कायम भएको छ । निष्क्रिय कर्जा सुरुमा ५.५६ प्रतिशत देखाएकोमा अन्तिम लेखा परीक्षण गर्दा ५.८१ प्रतिशत कायम भएको छ ।
असार मसान्तको तथ्यअनुसार कर्जा निक्षप अनुपात (सीडी) रेसियो ८३.९३ र मूल्य आम्दानी अनुपात १६.७५ प्रतिशत कायम भएको छ । बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
बैंकको ब्यालेन्स सिटको आकार ३ खर्ब १६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार यो आकार ३ खर्ब १७ अर्ब १५ करोड रुपैयाँ थियो ।
प्राइम बैंकको लेखा परीक्षण गरिएको वित्तीय विवरणअुनसार प्रतिसेयर आम्दानी १६.५० रुपैयाँ छ ।
आर्थिक वर्ष २०८०/८१ मा पनि प्राइम कमर्सियल बैंकलाई केन्द्रिय बैंकले ३९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था थप गरिदिएको थियो । अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा १ अर्ब २४ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा बाह्य लेखापरिक्षण र राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको कर्जा नोक्सानी व्यवस्था १ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो ।
कर्जा नोक्सानी व्यवस्था बढ्दा बाह्य लेखापरिक्षण अघि र पछिको नाफा करिब २७ करोड रुपैयाँले फरक भएको थियो । अपरिस्कृत वित्तीय विवरणमा ३ अर्ब ७७ करोड रुपैयाँ नाफा रहेकोमा बाह्य लेखापरिक्षणपछि नाफा घटेर ३ अर्ब ५१ करोड रुपैयाँमा झरेको थियो ।
बैंकको लेखापरिक्षणअघि र पछिको नाफामा देखिने अन्तरले बैंकको संस्थागत सुशासन र लगानीकर्ता प्रति कति जवाफदेही छ भन्ने संकेत पनि गर्छ । यति मात्रै नभएर नियामकिय व्यवस्था कार्यन्वयनमा पनि बैंक कमजोर रहेको देखाउँछ । बैंकको बाह्यलेखापरिक्षण अघि र पछिको नाफामा ठुलो अन्तर देखिया यसले सेयर बजारमा लगानीकर्ताले समेत सहित सुचनाबाट बञ्चित बनेको देखिएकोछ ।
यति मात्रै नभएर बैंकले प्रकाशित गर्ने वित्तीय विवरणको विश्वसनियतामाथि समेत प्रश्न उठेको छ ।








प्रतिक्रिया