रास्वपामा बालेन पक्षलाई समानुपातिकतर्फ कम्तीमा ४० जना, सूची बन्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको बन्द सूची बुझाउने तयारी गरेको छ।

शनिबार मध्यरातिसम्म चलेको छलफलपछि आइतबार बिहान करिब ४ बजे भएको समझदारीअनुसार बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । यसअघि कुलमान घिसिङसमेतलाई समेटेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नेबारे छलफल भएको थियो ।

सम्झौताअनुसार अहिले महानगरपालिकासँग आबद्ध टिमले समानुपातिक सूची तयार गर्ने काम अघि बढाएको छ । यही संख्याभित्र नेपाल जेन–जी फ्रन्टको टोलीलाई समेत समावेश गरिने स्रोतले जनाएको छ । सूची तयार पार्न कुमार बेन, भूपदेव शाहलगायत नेताहरू छलफलमा रहेको स्रोतको भनाइ छ ।
प्रारम्भिक सूची तयार भएपछि रवि लामिछाने र बालेन शाह बसेर अन्तिम टुंगो लगाउने छन् ।

फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले भोलिसम्म बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।