बालेन र कुलमानबीच भेट जारी, रास्वपासँग कुरा नमिलेको हो ?


काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता जारी छ ।

स्रोतका अनुसार समसमयिक राजनीतिक विषयमा छलफल गर्न बालेन र कुलमानमा छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभाको भावी निर्वाचनमा सहकार्यका विषयमा उनीहरूबीच छलफल चलेको हो । यसअघि बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच २ चरणमा छलफल भइसकेको छ ।

तर, रास्वपासँगको छलफल निष्कर्षमा नपुगेको स्रोत बताउँछ । त्यसपछि आवश्यक सहकार्यका लागि बालेन र कुलमान छलफलमा जुटेका हुन् ।

शुक्रबार मात्रै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने र बालेन, कुलमान, रास्वपा सँगै अघि बढ्ने प्रस्ताव गरेको विषय बाहिरिएको थियो ।

त्यसमा रवि रास्वपाको अध्यक्ष रहने तथा बहुमत केन्द्रीय सदस्य रास्वपा संस्थापन पक्षमा रहने गरी बालेनलाई प्रस्ताव गरिएको बताइएको थियो ।

सामाजिक सञ्जालको मात्र सक्रियता र लामो समयको मौनता तोड्दै बालेन पछिल्लो समय भेटघाटमा सक्रिय छन् ।

बिहीबारको राजनीतिक संवादको सुरुवात बालेनले ‘उज्यालो नेपाल पार्टी’ का संरक्षकसमेत रहेका घिसिङसँगबाट गरे। कुलमानले बिहीबार नै आफ्नो पार्टी कार्यालय उद्घाटनका क्रममा नयाँ शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने बताएका थिए ।

बालेनसँगको छलफलपछि बाहिरिएका लामिछानेले कुरा राम्रो भएको र बाँकी समयले बताउने भनेका थिए ।

यसबीचमा बालेन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सांसद अमरेशकुमार सिंह, नेपाली कांग्रेसका नेता सुनील शर्मा तथा सुधन गुरुङ, रक्षा बमलगायत जेनजी अभियान्ताहरू सँग पनि छुट्टाछुट्टै संवाद गरेका छन् ।

बालेनले त्यस क्रममा स्पष्ट सन्देश दिएको बताइएको छ । त्यो हो, ‘म एक्लैले एउटा क्षेत्र जितेर परिवर्तन आउँदैन ।’

निर्वाचन आयोगमा पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने समय सीमा नजिकिएको हुँदा बालेन यतिबेला निकै सक्रियताका साथ छलफलमा जुटेका हुन् ।

कुलमानसँग पनि ज्वागलस्थित कुमार बेनकै घरमा छलफल भइरहेको बताइएको छ ।