प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने


काठमाडौं । फागुन २१ नजिकिँदै गर्दा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र मन्त्रीहरु प्रमुख राजनीतिक दल र तिनका नेताको मन जित्ने प्रयत्नमा जुटेका छन् ।

यसै क्रममा आज प्रधानमन्त्री कार्की कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेकी छन् ।

फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको कार्की नेतृत्वको सरकार प्रमुख राजनीतिक दलहरुलाई पूर्ण विश्वासमा लिएर चुनाव गराउने प्रयासस्वरुप ती दलका नेतासँगको भेटघाट र संवादलाई प्राथमिकता दिन पुगेको हो ।

चुनावको वातावरण बनाउन भन्दै प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु पछिल्ला दिनमा दल र तिनका नेताहरुसँगको भेटवार्ता र संवादलाई म्याराथन शैलीले अघि बढाएका छन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग कुरा पनि नगर्ने र मुख पनि नहेर्ने अभिव्यक्ति दिने गरेकी थिइन् ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मात्रै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै भेटेर शान्तिसुरक्षा मजबुत बनेको तथा निर्वाचनको वातावरण पनि बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुँदैन कि भनेर आशंका नराख्न विश्वस्त हुन आग्रह गरेका छन् ।

यसअघि मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरुसँग कुराकानी गरेका थिए ।

पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् ।

यसअघि पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा प्रधानमन्त्री सुशीला कार्कीसहित देउवा, ओली र प्रचण्डबिच छलफल भएको थियो ।

उक्त छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले दलका नेताहरुलाई निर्वाचन बाहेक अर्को विकल्प नभएकाले चुनावमा केन्द्रित हुन आग्रह गरेका थिए ।

त्यसक्रममा प्रचण्डले आफू सुरुबाटै निर्वाचनको पक्षमा उभिएको भन्दै तोकिएको मितिमा चुनाव गराउन आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए ।

तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि उपयुक्त वातावरण बनाउन नसकेको गुनासो गरेका थिए ।

साथै राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलमा ओलीले पार्टीहरुलाई आफ्ना गतिविधि सञ्चालन गर्न अवरोध गर्ने तथा नेताहरुलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको भनेर प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका थिए ।