
काठमाडौं । अर्बिट कन्सलटेन्सीका सञ्चालक सुनिल रेग्मीले प्रभु बैंक घोटाला प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै त्यसबारे प्रकाशित समाचारको खण्डन गरेका छन् ।
प्रभु बैंकसँग जोडिएको शैक्षिक कर्जा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्बिट कन्सलटेन्सी र त्यसका सञ्चालक सुनिल रेग्मीमाथि पनि अनुसन्धान थालेको बारेको समाचार क्लिकमान्डुमा प्रकाशित भएपछि रेग्मीले उक्त समाचारको खण्डन गरेका हुन् ।
प्रभु बैंकका उच्च अधिकारीहरूसँग मिलेर शैक्षिक कर्जा स्वीकृतिको नाममा बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा अनुसन्धान अघि बढाएको सीआईबीका अनुसन्धान अधिकारीहरूले दिएको जानकारीका आधारमा प्रकाशित समाचारलाई रेग्मीले पूर्वाग्रही बताएका छन् ।
खण्डन सम्प्रेषण गर्दै रेग्मीले प्रश्न गरेका छन्, ‘एउटा व्यावसायीक कम्पनीले अर्को व्यावसायीक कम्पनीसँग राज्यको ऐन, कानुन बमोजिम कारोबार गर्दा कसरी अनधिकृत र अपराध हुन्छ ? के सीईओ अशोक शेरचन र म एउटै जिल्लाको हुनु या प्रचलित नियम अनुसार कारोबार गुर्नु अवैध हो ?’
अनुसन्धानमा शैक्षिक कर्जा स्वीकृति तथा स्वदेश–विदेशका निकायमा बुझाउनुपर्ने शुल्क विद्यार्थीले अनलाइनमार्फत भुक्तानी गर्दा प्राप्त हुने कमिसन सिधै बैंकको खातामा जानुपर्नेमा अर्बिटको नाममा बुक गरी बैंकको आम्दानी बाँडीचुँडी हिनामिना गरिएको पाइएको अनुसन्धानमा संलग्न सीआईबी अधिकारीहरूले दिएको सूचनाको खण्डन गर्दै रेग्मीले भनेका छन्, ‘अर्बिटले ल्याएको व्यवसायले बैंकलाई मुनाफा हुन्छ कि नोक्सान ? एउटा व्यावसायिक कम्पनीले अर्को व्यावसायिक कम्पनीसँग राज्यको ऐन कानुन बमोजिम कारोबार गर्नु अपराध हो?’








प्रतिक्रिया