
सिरहा। सिरहा जिल्लाको सीमा क्षेत्रमा रहेको बरियारपट्टी बजारमा सञ्चालन हुँदै आएको सानो (छोटी) भन्सार नाकालाई मुल भन्सार कार्यालयमा स्तरोन्नति गर्न अर्थमन्त्री रामेश्वर खनालसँग माग गरिएको छ ।
बिहिबार सिराहा पुगेका अर्थमन्त्री खनाललाई ज्ञापन पत्र बुझाउँदै स्थानीय जेनजी युवाको समूहले यो नाकालाई मुल नाकामा स्तरोन्नति गर्न माग गरेका हुन् । ज्ञापन–पत्र सिरहा जिल्लाका तर्फबाट जनप्रतिनिधि सन्तोष यादवले बुझाएका थिए ।
राणा शासनकालदेखि नै छोटो भन्सार नाकाका रूपमा प्रयोग हुँदै आएको यो नाकामा भारतीय बजारबाट ल्याइने दैनिक उपभोग्य सामग्रीको कारोबार हुँदै आएको छ।
पछिल्लो समय हुलाकी राजमार्ग निर्माण भई सञ्चालनमा आएपछि बरियारपट्टी बजार क्रमशः सहरका रूपमा तीव्र गतिमा विकास हुँदै गएको जनाइएको छ।
बरियारपट्टी बजार सिरहा जिल्लाको मध्यभागमा पर्ने भएकाले गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका, औरही गाउँपालिका तथा बरियारपट्टी गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारणका लागि यो नाका अत्यन्तै नजिक र सहज रहेको उल्लेख गरिएको छ।
तर हाल बरियारपट्टीमा मुख्य भन्सार कार्यालय नहुँदा चारपाङ्ग्रे सवारीसाधनमार्फत सामान ल्याउन र लैजान कठिनाइ भइरहेको जनाइएको छ। भन्सार प्रक्रिया पूरा गर्न व्यापारीहरूलाई पूर्वतर्फ लौकहा ठाडीस्थित मुख्य भन्सार कार्यालय (करिब २२ किलोमिटर) वा माडरतर्फको मुख्य भन्सार कार्यालय (करिब २० किलोमिटर) पुग्नुपर्ने बाध्यता छ। यसले समय, खर्च र झन्झट बढाएको ज्ञापन–पत्र सिरहा जिल्लाका तर्फबाट स्थानीय जेनजी प्रतिनिधि सन्तोष यादवले बताए ।
छोटी भन्सार नाका मात्रै भएकै कारण बरियारपट्टी र आसपासका औरहीसहितका बजारको विकासमा समेत नकारात्मक असर परेको ज्ञापन–पत्रमा उल्लेख छ।
त्यसैले पुरानो छोटो भन्सार नाका बरियारपट्टीलाई मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न सरकारसँग आग्रह गरिएको छ।
सिरहा जिल्लाका जनजीवन र आर्थिक गतिविधिलाई सहज बनाउने उद्देश्यले उक्त माग गरिएको जनाउँदै ज्ञापन–पत्र पेश गर्ने क्रममा जनप्रतिनिधिहरूले अर्थमन्त्रीसँग सकारात्मक निर्णयको अपेक्षा गरेका छन्।









प्रतिक्रिया