पुनः देखियो विश्वव्यापी वित्तीय संकटको संकेत, कारण बन्दै अमेरिका


काठमाडौं । आगामी बैंकिङ संकट अचानक हुने क्य्राश वा कुनै विश्वव्यापी स्तरको ठूलो कम्पनीको नाटकीय पतनले नभएर अमेरिकी वित्तीय प्रणालीबाट सुरु हुन सक्ने तर्क केही विश्लेषकहरूले गरेका छन्।

अमेरिकी वित्तीय प्रणालीमा अन्तर्निहित जोखिमलाई धेरै मानिसहरूले नजिकबाट नियालेका छैनन् । तर, सन् २०२६ मा कुनै संकट देखिए त्यसको कारण अमेरिका नै हुने कतिपय जानकारहरूले अनुमान गरेका छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकट पनि अमेरिकी बजारमा घरजग्गाको मूल्यमा भएको वृद्धिले निम्त्याएको थियो ।

अहिले देखिएका संकेत पनि यसअघिका संकटभन्दा अगाडिको स्थिति जस्तै देखिएका छन् । यी संकेतका कारण अर्थविद्हरूको कान ठाडो भएको छ । कमजोर तरलता, बैंकको वासलातमा लुकाइएका घाटा, व्यावसायिक घरजग्गा कारोबारमा बढ्दो दबाब र साना तथा मझौला बैंकहरूमा रहेका जोखिम सतहमा देखिन थालेका छन् । यी अवस्थालाई समग्रमा हेर्दा अर्को बैंकिङ संकटका लागि आधार तयार भइसकेको अनुमान गर्न सकिन्छ ।

भावी संकटको मूल कारण सन् २०२२ देखि भएको ब्याजदरको तीव्र वृद्धिलाई मानिएको छ ।

त्यतिबेला मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर निरन्तर ११ पल्टसम्म बढायो । यो वृद्धिपछि अमेरिकाको ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतको बीचमा पुग्यो, जुन विगत २२ वर्षयताकै उच्च थियो ।

महँगी बिस्तारै नियन्त्रणमा आउन थालेपछि फेडले सेप्टेम्बर २०२४ देखि ब्याजदर घटाउन सुरु गरिसकेको छ ।

सुरुमा फेडले ब्याजदर किन बढाउनुपर्यो भन्ने बुझौं ।

जब २०२० मा कोरोना महामारी सुरु भयो, लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भए । मानिसहरूको रोजगारी गुम्यो र व्यवसायहरू बन्द भए । अर्थतन्त्रलाई जोगाउन अमेरिकी सरकार र त्यहाँको केन्द्रीय बैंकले दुईवटा ठूला कदम चाले । पहिलो, सरकारले स्टिमुलस प्याकेज ल्यायो । यसको उद्देश्य मानिसहरूसँग खर्च गर्ने क्षमता बचाइराख्नु थियो ।

दोस्रो, फेडले ब्याजदर घटाएर शून्यको नजिक (०% –०.२५%) पुर्‍यायो । यसले गर्दा बैंकबाट ऋण लिन एकदमै सस्तो भयो, ताकि माग बढोस्, मानिसहरूले घर, गाडी किनून्, उपभोग बढाऊन् र थप लगानी गरून् ।

महामारी कम हुँदै गएपछि र लकडाउन खुल्न थालेपछि मानिसहरूसँग प्रशस्त बचत थियो । सबैजना एकैपटक सामान किन्न निस्किए ।

जब अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर बढायो, ऋणीहरूले आफ्नो किस्ता तिर्न सकेनन् । एकातिर किस्ता तिर्न नसक्नेहरू बढे, अर्कोतिर माग कम भएपछि घरको मूल्य पनि घट्न थाल्यो । ऋण लिएको रकमभन्दा घरको मूल्य कम भएपछि मानिसहरूले ऋण तिर्नुको साटो घरै छोडिदिए

माग त बढ्यो, तर उत्पादन गर्ने कारखानाहरू र सामान ढुवानी गर्ने जहाजहरू अझै पूर्ण क्षमतामा चल्न सकेका थिएनन् । माग धेरै र आपूर्ति कम भएपछि मूल्य बढ्यो ।

फलस्वरूप अमेरिकामा मुद्रास्फीति (महँगी दर) ४० वर्षयताकै उच्च विन्दुमा (करिब ९.१%) पुग्यो ।

महँगी बढेपछि त्यसलाई नियन्त्रण गर्न फेडले ‘ब्याजदर’ बढायो ।

ब्याजदर ह्वात्तै बढेपछि सरकारी ऋणपत्र (बोन्ड) को बजार मूल्य घट्यो । बैंकमा निक्षेप राख्दा बढी प्रतिफल पाइन थाल्यो । शून्यको नजिक ब्याजदर भएको बेलामा दीर्घकालीन सरकारी ऋणपत्र र मोर्टगेज-ब्याक्ड सेक्युरिटिज थुपारेका बैंकहरूले यतिबेला ब्याजदर बढेपछि आफूलाई अचानक ठूलो अनरियलाइज्ड लसमा रहेको पाएका छन् ।

अमेरिकाको संघीय निक्षेप बिमा निगम (फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन-एफडीआईसी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार, अनरियलाज्ड लस आफ्नो उच्च विन्दुबाट घटेको छ । यद्यपि बैंकिङ प्रणालीभरि अझै पनि झन्डै ३३७ अर्ब डलर अनरियलाइज्ड लस रहेको बताइन्छ ।

बैंकहरूले यस्ता सेक्युरिटिज परिपक्व (म्याच्योर्ड) नहुन्जेलसम्म राख्न सक्दा यस्तो लसले पूँजीमा तुरुन्तै असर गर्दैन । तर, तरलताको दबाब पक्कै हुनेछ । फलस्वरुप, बैंकहरू ती सेक्युरिटिज सस्तो मूल्यमा सम्पत्ति बेच्न बाध्य हुन्छन् । यस्ता सेक्युरिटिजको सप्लाई बढी हुँदा वित्तीय प्रणालीमा जोखिम निम्त्याउने खतरा हुन्छ । ठ्याक्कै यस्तो सन् २०२३ मा सिलिकन भ्याली बैंक, सिग्नेचर बैंक र फर्स्ट रिपब्लिकको पतनका बेला देखिएको थियो ।

फाइनान्सियल इन्स्ट्रुमेन्टको ओभर सप्लाईले संकट कसरी निम्तन्छ भन्ने बुझ्न सन् २००८ को विश्वव्यापी वित्तीय संकट (ग्लोबल फाइनान्सियल मार्केट)लाई बुझ्नुपर्ने हुन्छ। सो संकट अमेरिकी घरजग्गा बजारबाट सुरु भएको थियो ।

त्यसबेला अमेरिकी बैंकहरूले ऋण तिर्न सक्ने क्षमता कम भएका मानिसहरूलाई पनि घर किन्नको लागि धमाधम ऋण दिए । बैंकहरूले धेरै ऋण दिएर धेरै कमिसन कमाउने दाउमा जोखिमको वास्ता गरेनन् ।

सजिलै ऋण उपलब्ध भएपछि घरको माग ह्वात्तै बढ्यो र घरको मूल्य अस्वभाविक रूपमा आकासियो । मानिसहरूलाई लाग्यो कि घरको मूल्य सधैं बढिरहनेछ, तर यो मूल्य एउटा ’बबल’ मात्र थियो ।

बैंकहरूले ती कमजोर ऋणहरूलाई एकमुष्ट पारेर ’मोर्गेज ब्याक्ड सेक्युरिटिज’ र ’कोल्याटरलाइज्ड डेब्ट अब्लिगेसन’ जस्ता जटिल वित्तीय उपकरणहरू बनाए । क्रेडिट रेटिङ एजेन्सीहरूले यी जोखिमपूर्ण लगानीलाई पनि उच्च रेटिङ दिए । यी वित्तीय उपकरणहरू विश्वभरका बैंक र लगानीकर्ताले खरिद गरे, जसले गर्दा अमेरिकी जोखिम विश्वभर फैलियो ।

जब अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर बढायो, ऋणीहरूले आफ्नो किस्ता तिर्न सकेनन् । एकातिर किस्ता तिर्न नसक्नेहरू बढे, अर्कोतिर माग कम भएपछि घरको मूल्य पनि घट्न थाल्यो । ऋण लिएको रकमभन्दा घरको मूल्य कम भएपछि मानिसहरूले ऋण तिर्नुको साटो घरै छोडिदिए ।

त्यतिबेला लेहम्यान ब्रदर्स जस्ता ठूला वित्तीय संस्था टाट पल्टे । बैंकसँग पैसा सकियो र उनीहरूले एक–अर्कालाई विश्वास गर्न छाडे । यसले गर्दा ऋण प्रवाह रोकियो, सेयर बजार ध्वस्त भयो र विश्वव्यापी आर्थिक मन्दी सुरु भयो ।

सरकारी ऋणपत्रको प्रतिफल कम भइरहेको अवस्थामा साना तथा मझौला बैंक तथा वित्तीय संस्थाको अनरियलाइज्ड लस उच्च रहेको सन्दर्भमा अहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्याजदर घटाउन फेडलाई निरन्तर दबाब दिइरहेका छन् ।

ब्याजदर बढ्ने बित्तिकै सन् २०२३ मा सिलिकन भ्याली बैंक, सिग्नेचर बैंक र फर्स्ट रिपब्लिक बैंक ढलेका घटनाहरूले आधुनिक बैंकिङ प्रणालीको एउटा मुख्य कमजोरीलाई उजागर गरेका थिए । विशेषगरी, निक्षेपकर्ताहरूसँग ठूलो मात्रामा बिमा नगरिएको मौज्दात हुँदा विश्वास छिट्टै टुट्न सक्छ । गेरी बी गोर्टन र एन्ड्रु मेट्रिक जस्ता अर्थशास्त्रीहरूको अनुसन्धानका साथै फेडरल रिजर्भ र अमेरिकी ट्रेजरीको विश्लेषणले देखाएअनुसार, आजको बैंक रन (निक्षेप फिर्ता लिने लहर) डिजिटल गतिमा चल्छ ।

बीसौं शताब्दीमा देखिएको ग्रेट डिप्रेसन (मन्दी) का बेला हप्तौं लाग्ने कुरा अहिले केही घण्टामा हुनसक्छ । यस संरचनात्मक कमजोरीलाई सुधार गरिएको छैन । बरु, यसलाई संकटकालीन तरलता सुविधा र नियामक लचकतामार्फत ढाकछोप मात्र गरिएको छ ।

अर्को ठूलो कमजोरी व्यावसायिक घरजग्गा कारोबारमा निहित छ । विशेषगरी, कार्यालय भवन र धेरैवटा परिवार बस्ने आवासका केही क्षेत्रहरूका कारण जोखिमको स्थिति छ । कोभिड महामारीपछि घरैबाट र घर वा कार्यालय दुवैबाट गर्न मिल्ने हाइब्रिड व्यवस्थाका कारण धेरै अमेरिकी शहरहरूमा कार्यालयका लागि ठाउँको माग स्थायी रूपमा घटाएको छ । मुख्य शहरी केन्द्रहरूमा खाली रहने दर ऐतिहासिक रूपमा उच्च छ र सम्पत्तिको मूल्य ह्वात्तै घटेको छ ।

मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको सेन्टर फर रियल इस्टेट जस्ता संस्थाका प्राज्ञिक अध्ययन र मूडीज एनालिटिक्स तथा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सका रिपोर्टहरूले २०२६ मा पनि व्यावसायिक घरजग्गामा आउने गिरावट विस्तारै सुरु हुने तर बैंकहरूका लागि गहिरो क्षति पुर्याउने खालको हुने चेतावनी पटकपटक दिएका छन् ।

क्षेत्रीय र सामुदायिक बैंकहरूमा व्यावसायिक घरजग्गाको जोखिमको केन्द्रीकरण वर्तमान स्थितिलाई विशेषगरी खतरनाक बनाउने कुरा हो । बढी विविधता भएका र कडा ‘स्ट्रेस टेस्टिङ’ को अधीनमा रहेका ठूला विश्वव्यापी बैंकहरूको तुलनामा साना बैंकहरू प्रायः नाफाका लागि स्थानीय घरजग्गा कर्जामा धेरै निर्भर हुन्छन् । २५० अर्ब डलरभन्दा कम सम्पत्ति भएका बैंकहरूले अमेरिकी व्यावसायिक घरजग्गा कर्जाको ठूलो हिस्सा ओगटेको फेडरल रिजर्भको तथ्यांकले देखाउँछ । यस्तोमा रियल इस्टेट कर्जामा डिफल्ट रेट बढ्यो भने साना बैंकहरुले सबैभन्दा कडा धक्का बेहोर्नुपर्ने हुन्छ ।

त्यसमाथि सन् २०२६ मा व्यावसायिक घरजग्गा कर्जाको ठूलो हिस्सा परिपक्व हुँदैछ । ब्याजदर निकै कम हुँदा र सम्पत्तिको मूल्यांकन धेरै बढी हुँदा यीमध्ये धेरै कर्जाहरू प्रवाह गरिएका थिए । तिनलाई आजको दरमा वा अलि कम दरमा पनि पुनर्कर्जा दिन गाह्रो हुनेछ । धितोको मूल्य घटेको बेलामा पुनर्कर्जाको धक्काले प्रायः कर्जा नतिर्ने लहर निम्त्याउने ग्लेन हबर्ड र मार्क जान्डी जस्ता अर्थशास्त्रीहरूको अध्ययनले देखाएको छ । ऋणीहरूले पुनर्कर्जा पाउन सकेनन् र बैंकहरूले घाटा नबेहोरी कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकेनन् भने डिफल्ट तीव्र रूपमा बढ्नेछ ।

रिपर्चेज वा रिपो बजारमा हालै देखिएको दबाबले सम्भावित संकटमा प्रारम्भिक चेतावनीको संकेत दिन्छ । रिपो बजार वित्तीय संस्थाहरूका लागि छोटो अवधिको लगानीको एक महत्त्वपूर्ण स्रोत हो

बढ्दो दीर्घकालीन ब्याजदरले जोखिमको अर्को तह थप्छ । अमेरिकी ट्रेजरीको १० वर्षे प्रतिफल ४.७५ देखि ५ प्रतिशतको दायराभन्दा माथि गयो भने बैंकहरूको बोन्ड पोर्टफोलियोको बजार मूल्य अझै घट्नेछ । हालैका चार्ट संरचनाहरूले यस्तो सम्भावना औंल्याएको विश्लेषकहरूले बताएका छन् तर प्राविधिक संकेत बिना पनि यसका आधारभूत कारणहरू स्पष्ट छन् । निरन्तरको वित्तीय घाटा, ठूलो मात्रामा ट्रेजरी बिल जारी हुनु र स्थिर मुद्रास्फीति अपेक्षाहरूले प्रतिफल बढ्नुपर्ने दबाब दिन्छन् । सरकारको ठूलो ऋण आवश्यकता र वित्तीय स्थिरताबीचको तनावलाई कंग्रेसनल बजेट अफिसको अनुसन्धान र फाइनान्सियल टाइम्स तथा ब्लूमबर्ग जस्ता सञ्चारमाध्यमका पत्रकारहरूको विश्लेषणले पटकपटक उजागर गरेका छन् ।

व्यावसायिक घरजग्गाको दबाब बढ्दै जाँदा प्रतिफल पनि बढ्यो भने बैंकहरूले आफ्नो ब्यालेन्स सिटको दुवै पक्ष (सम्पत्ति र दायित्व)मा एकैसाथ घाटा बेहोर्नुपर्ने हुन सक्छ । सम्पत्तितर्फ, धितोपत्रको मूल्य घट्नेछ र लोन डिफल्ट बढ्नेछ । दायित्वतर्फ, बिमा नगरिएको रकम भएका निक्षेपकर्ताहरू त्रसित हुन सक्छन् र पैसालाई उच्च प्रतिफल दिने मनी मार्केट फन्ड वा ट्रेजरी बिलहरूमा सार्न सक्छन् । यो संयोजन घातक हुन्छ । सन् २०२३ का बैंक असफलताहरूले देखाएझैं अचानक तरलता अभावको संकटले भने सोल्भेन्ट कम्पनीहरू पनि असफल हुन सक्छन् ।

रिपर्चेज वा रिपो बजारमा हालै देखिएको दबाबले सम्भावित संकटमा प्रारम्भिक चेतावनीको संकेत दिन्छ । रिपो बजार वित्तीय संस्थाहरूका लागि छोटो अवधिको लगानीको एक महत्त्वपूर्ण स्रोत हो । त्यसले उनीहरूलाई सेक्युरिटी इन्स्ट्रुमेन्टहरु धितो राखेर रातभरका लागि नगद ऋण लिन अनुमति दिन्छ । रिपो बजारहरू सुचारु रूपमा चल्दा सर्वसाधारणले मतलब गर्दैनन् । सेप्टेम्बर २०१९ मा र त्यसपछि पनि पटकपटक देखिए जस्तो गरी रिपो बजार दबाबमा पर्दा त्यसले मौज्दात कम भएको र विश्वास कमजोर भएको संकेत गर्छ ।

डिसेम्बर २०२५ मा रिपो दरहरू समय-समयमा फेडरल रिजर्भको लक्षित दायराभन्दा माथि पुगेका छन् । ती ३.५ देखि ३.७५ प्रतिशतको लक्ष्यको तुलनामा ३.८ प्रतिशतको आसपास रहेका छन् । यो सुन्दा प्राविधिक लाग्न सक्छ तर यसले ठूलो अर्थ राख्ने इतिहासले देखाउँछ ।

रिपो बजारको अवरोध छिट्टै व्यापक वित्तीय तनावमा फैलिन सक्ने अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक ड्यारेल डफी र अन्यले गरेको प्राज्ञिक अनुसन्धानले देखाएको छ । बैंक र डिलरहरूले अल्पकालीन लगानी सुरक्षित गर्नका लागि संघर्ष गर्नुपर्दा नगद थुपार्न सक्छन् र कर्जा प्रवाह कम गर्न सक्छन् ।

चरम अवस्थामा उनीहरू सम्पत्ति छिटो बेच्न बाध्य हुन सक्छन् । त्यसले फायर सेल अर्थात्, हतारमा गरिने बिक्री निम्त्याउँछ र मूल्यहरूलाई अझ तल धकेल्छ । ती मूल्य गिरावटहरू फेरि ब्यालेन्स सिटमा प्रतिबिम्बित हुन्छन् र एक दुष्चक्र (भिसियस साइकल) सिर्जना गर्छन् । सन् २००८ को वित्तीय संकटमा यो प्रक्रिया मुख्य रूपमा देखिएको थियो । त्यसलाई विज्ञ र आधिकारिक अनुसन्धाताहरूले व्यापक रूपमा दस्तावेजीकरण गरेका छन् ।

फेडरल रिजर्भले यी तरलता दबाबहरूलाई नियन्त्रण गर्न कदम चालेको छ । क्वान्टिटेटिभ टाइटनिङको मौद्रिक नीति अन्त्य गरेर, रिजर्भ म्यानेजमेन्ट खरिद सुरु गरेर र स्ट्यान्डिङ रिपो फसिलिटीलाई सुदृढ पारेर फेडले छोटो अवधिको लगानी बजारहरू क्रियाशील रहिरहून् भनी सुनिश्चित गर्ने प्रयास गरेको छ । यी कदमहरूले सम्भवतः तत्कालको वृद्धिलाई रोकेका छन् ।

तर, धेरै अर्थशास्त्रीहरूले औंल्याए झैं तरलता उपलब्धताले सल्भेन्सीको समस्या समाधान गर्न सक्दैन । यो भिन्नता महत्त्वपूर्ण छ । केन्द्रीय बैंकहरूले राम्रो धितोको विरुद्धमा खुला रूपमा ऋण दिन सक्छन् तर तिनीहरूले खराब सम्पत्तिलाई फेरि राम्रो बनाउन सक्दैनन् भनी १९औं शताब्दीका व्यापारी तथा पत्रकार वाल्टर बेजटको शास्त्रीय भनाइ यहाँ स्मरणीय छ ।

व्यावसायिक घरजग्गा कारोबारको घाटा तीव्र भयो र ब्याजदर एकैसाथ बढ्यो भने बैंकहरूले वास्तविक पूँजी क्षयको सामना गर्नुपर्ने हुन सक्छ । त्यस अवस्थामा फेडले धेरै मोर्चाहरूमा लड्नुपर्नेछ । उसले त्रास रोक्न तरलता आपूर्ति गरिरहँदा बैंकको सम्पत्तिको अन्तर्निहित मूल्य घट्दै जाने समस्या आउन सक्छ । यो कुनै पनि केन्द्रीय बैंकका लागि असजिलो स्थिति हो । विशेषगरी, मुद्रास्फीति पूर्ण रूपमा लक्ष्यमा फर्किएको छैन र राजनीतिक निगरानी कठोर रहेको स्थितिमा यसले फेडलाई अप्ठ्यारो पार्नेछ ।

यसको समष्टिगत आर्थिक (म्याक्रोइकोनोमिक) परिणाम गम्भीर हुन सक्छ ।

बैंकिङ संकटहरू वित्तीय घटना मात्र नभई आर्थिक घटना हुन् । बैंकिङ संकटपछि प्रायः गहिरो र लामो आर्थिक मन्दी आउने अमेरिकी अर्थशास्त्री कार्मेन राइनहार्ट र केनेथ रोगोफका अध्ययनका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष सहितले गरेका प्रयोगात्मक अनुसन्धानहरूले देखाउँछन् । यसको प्रक्रिया सरल छ । बैंकहरूले घाटा बेहोर्दा कर्जा प्रवाहका मापदण्डहरू कडा पार्छन्, व्यवसाय र घरपरिवारलाई दिइने ऋण कटौती गर्छन् र आफ्नो ब्यालेन्स सिट सुधार गर्नमा ध्यान केन्द्रित गर्छन् । त्यसपछि लगानी घट्छ, उपभोग सुस्त हुन्छ र बेरोजगारी बढ्छ ।

मन्दीका धेरै चेतावनीका संकेतहरू पहिले नै देखिइसकेका छन् । सन् २०२५ को सुरुतिर अमेरिकाको ऋणपत्रको ब्याजदर ‘यिल्ड कर्भ’ उल्टो (इन्भर्टेड) थियो । ऐतिहासिक रूपमा त्यो मन्दीको विश्वसनीय सूचक हो । तर, यो कर्भ अहिले सामान्य हुन थालेको छ । यो चरण प्रायः आर्थिक गिरावटको सुरुवातसँग मेल खाने अनुसन्धानले सुझाव दिन्छ ।

अमेरिकामा अहिले रोजगारी वृद्धि सुस्त भएको छ, उपभोक्ता र व्यावसायिक कर्जामा डिफल्ट दर बढ्दैछ र कर्जा मापदण्डका सर्वेक्षणहरूले निरन्तर कडाइ भइरहेको देखाउँछन् । निजी संस्थाका आर्थिक भविष्यवक्ताका साथै प्राज्ञिक मोडलहरूले अब सन् २०२६ मा आर्थिक मन्दी हुने सम्भावना ३५ देखि ५० प्रतिशतको हाराहारीमा राखेका छन् ।

यस सन्दर्भमा व्यावसायिक घरजग्गा कर्जाको परिपक्वताको दबाबबाट उत्पन्न हुने बैंकिङ धक्काले आर्थिक सुस्ततालाई पूर्ण मन्दीमा बदल्ने उत्प्रेरक (क्याटालिस्ट)को काम गर्न सक्छ ।

वित्तीय प्रणालीमा विश्वास आफैंमा संवेदनशील कुरा हो । एकपटक विश्वास गुमेपछि यसलाई पुनः प्राप्त गर्न गाह्रो हुन्छ ।

नीतिनिर्माताहरूले प्रायः बजारको धारणा कति छिटो परिवर्तन हुन सक्छ भन्ने कुरालाई कम आँक्ने गरेको सन् १९८० को दशकको सेविङ्स एन्ड लोन संकटदेखि सन् २००८ को विश्वव्यापी वित्तीय संकटसम्मका विवरणहरूले देखाउँछन् ।

अमेरिकाको वित्तीय प्रणालीमा संकट आउँदा बैंकिङ क्षेत्रमा नयाँ नयाँ सिद्दान्तहरु प्रतिपादन हुनसक्छ । जसको पालना नेपालको बैंकिङ क्षेत्रले पनि गर्नुपर्ने हुन्छ

बैंकिङ संकटका लागि आवश्यक तत्त्वहरू कमजोर तरलता बफर, ठूलो अवास्तविक घाटा, केन्द्रीकृत जोखिमहरू र बढ्दो समष्टिगत आर्थिक दबाब विद्यमान रहेकाले तिनलाई बेवास्ता गर्न नमिल्ने अर्थविद्हरू बताउँछन् । यी तत्त्वहरू मिलेर पूर्ण स्तरको संकट बन्ने वा नबन्ने कुरा नीतिगत छनोट, बजारको व्यवहार र केही हदसम्म भाग्यमा भर पर्नेछ । चेतावनीका संकेतहरू प्रस्ट देखिइरहेको बेलामा तिनलाई बेवास्ता गर्दा विरलै राम्रो परिणाम आएको छ ।

नेपाललाई कस्तो असर ?

अमेरिकामा आउने बैंकिङ संकट सिधै नेपालमा सर्ने छैन तर नेपालको बैंकिङ क्षेत्रमा यसका अप्रत्यक्ष प्रभावहरू महत्त्वपूर्ण हुन सक्छन् । नेपालका बैंकहरू अमेरिकी धितोपत्र र व्यावसायिक घरजग्गा बजारबाट धेरै हदसम्म अलग रहेका छन्। तैपनि विश्वको वित्तीय केन्द्र मानिने अमेरिकाबाट उत्पन्न हुने धक्काहरूप्रति अत्यन्त संवेदनशील विश्वव्यापी वित्तीय वातावरणमा नेपाली बैंकहरू सञ्चालित छन् ।

पहिलो कुरा, विश्वव्यापी जोखिमबाट बच्ने प्रवृत्ति ह्वात्तै बढ्नेछ । अमेरिकी बैंकहरू दबाबमा पर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू सामान्यतया अमेरिकी ट्रेजरी र डलरजस्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुन्छन् । यो सुरक्षित सम्पत्तितर्फको दौडले प्रायः विश्वव्यापी तरलतालाई संकुचित बनाउँछ । नेपालको सन्दर्भमा बैंकहरूका लागि विदेशी क्रेडिट लाइनहरूको उपलब्धतामा कमी, व्यापार वित्तको उच्च लागत र विशेषगरी नेपाली बैंकहरूका लागि करेस्पोन्डेन्ट बैंकिङ सम्बन्धहरूमा थप सतर्कता देखिन सक्छ ।

दोस्रो, विप्रेषण आप्रवाह प्रभावित हुनसक्छ । बैंकिङ संकटबाट निम्तिने अमेरिकी अर्थतन्त्रको सुस्तता वा मन्दीले अमेरिकामा मात्र नभई अमेरिकासँग जोडिएका अन्य अर्थतन्त्रहरूमा पनि असर पर्छ । श्रम गन्तव्य मुलुकमा रहेका नेपाली कामदारहरूको रोजगारीको सम्भावनालाई त्यसले कमजोर बनाउन सक्छ । रेमिट्यान्स नेपाली बैंकहरूका लागि निक्षेप र तरलताको प्रमुख स्रोत भएकोले यसमा आउने कुनै पनि सुस्तताले ब्यालेन्स सिटमा दबाब दिनेछ र स्वदेशमा कर्जा विस्तारलाई कम गर्नेछ ।

तेस्रो, विश्वव्यापी सुस्तताले पर्यटन र निर्यातलाई क्षति पुर्याउनेछ । त्यसले नेपालको बैंकिङ प्रणालीमा खराब कर्जा बढाउनेछ । होटल, उड्डयन, निर्माण र साना व्यवसायका ऋणीहरूले संघर्ष गर्नुपर्नेछ जसले कर्जा जोखिमलाई बढाउनेछ ।

विगतका संकटहरूपछि नेपाल राष्ट्र बैंकले नियमनलाई सुदृढ पारेको भए पनि एक विश्वव्यापी धक्काले नेपालका बैंकहरूको सहनशीलता (रेजिलियन्स)को परीक्षण गर्नेछ । बलियो सुपरिवेक्षण, पर्याप्त पूँजी कोष (क्यापिटल बफर्स) र घरजग्गा कारोबार तथा मार्जिन लेन्डिङमा सतर्कताको महत्त्वलाई यसले उजागर गर्नेछ । अमेरिकाको वित्तीय प्रणालीमा संकट आउँदा बैंकिङ क्षेत्रमा नयाँ नयाँ सिद्दान्तहरु प्रतिपादन हुनसक्छ । जसको पालना नेपालको बैंकिङ क्षेत्रले पनि गर्नुपर्ने हुन्छ ।