
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र खरानी टकटक्याएर आफ्नै खुट्टामा दौडिन सुरु गरेसँगै मुलुकको आर्थिक गतिविधि र राजस्व संकलनले पनि गति लिएको बताएका छन् ।
जेनजी आन्दोलनका नाममा भएको विध्वंसलाई सम्झँदा निजी क्षेत्र यति चाँडै तग्रिन्छ भन्ने कसैले पनि कल्पना गरेका थिएनन् । तर निजी क्षेत्र विध्वंसको दुई सातापछि नै खरानी टकटक्याएर आफ्नै खुट्टाले दौडिएर विश्वलाई नै चकित पारेको खनालको टिप्पणी थियो ।
जेनजी आन्दोलनका क्रममा मिथ्या सूचनाका कारण केही राम्रा र निष्कलंक उद्योगी–व्यवसायी पनि पीडित भएको खनालले बताए ।
बुधवारदेखि सुरु भएको कोशी प्रदेशकै बृहद् अन्तर्राष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन गर्दै खनालले निजी क्षेत्रको आत्मबल बढाउन र खरानी टकटक्याएर अगाडि बढ्न अर्थमन्त्रीका रूपमा आफूले गरेका केही चुनौतीपूर्ण निर्णयले केही हदसम्म सहयोग गरेको दाबी गरे ।
‘एकीकृत व्यवसायिक पुनरुत्थान योजना ल्याउनु चुनौतीपूर्ण थियो । यो योजनाले निजी क्षेत्रको आत्मबल बढाएको छ । यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सहकार्य सही भएको पुष्टि भएको छ,’ खनालले भने, ‘ जेनजी आन्दोलनले टुटाएको निजी क्षेत्रको आत्मबल र उत्साहको पुनरुत्थान गर्न मौद्रिक नीति र वित्तीय नीति मिल्नुको विकल्प थिएन ।’
मौद्रिक र वित्तीय नीति मिलेर काम गर्दा निजी क्षेत्र खरानीबाट माथि उठ्यो । निजी क्षेत्रले खरानी टकटक्याएर अगाडि बढ्दा मुलुकको आर्थिक गतिविधि बढ्नुका साथै राजस्व संकलनले पनि गति लिएको उनको ठम्याइ थियो।
जेनजी आन्दोलनका नाममा अकल्पनीय विध्वंस भए पनि मुलुकको राजस्व खाता एक दिन पनि शून्य नभएको खनालको भनाइ थियो । ‘एक–दुई दिन सरकारको राजस्व खातामा न्यून राजस्व जम्मा भयो, तर शून्य भने कहिल्यै भएन,’ खनालले भने, निजी क्षेत्र तंग्रिएपछि मुलुकमा आर्थिक गतिविधि बढ्नुका साथै राजस्व संकलन पनि ह्वात्तै बढेको छ ।’
आफ्नो कार्यकालको सय दिनको मुख्य उपलब्धि नै निजी क्षेत्रलाई खरानीबाट माथि उठाउनु, उद्योगी–व्यवसायीको आत्मबल बढाउनु, लगानीको वातावरण सिर्जना गर्नु र मुलुकको आर्थिक गतिविधि बढाउन केन्द्रित रहेको खनालको उद्घोष थियो । उनले भने, ‘यो अवधिमा उत्पादन र व्यवसायको लागत कम गर्नु, लगानी गर्ने वातावरण बनाउनु र करदातालाई अनेक झन्झटबाट मुक्त गर्नु पनि रह्यो ।’
आजैदेखि मोरङको केरावारी गाउँपालिकाबाट स्थानीय निकायमै कर फछ्र्यौट कार्यको प्रारम्भ गरेर करदाताको समय र लागत घटाउने कार्यको सुरुवात भएको खनालले बताए । त्यसैगरी अनावश्यक रूपमा बिल–बीजक बनाउने झन्झटबाट उद्योगी–व्यवसायीलाई मुक्त गर्न विराटनगर भन्सारमा पोस्ट क्लियरेन्स अडिट युनिटको व्यवस्था गरिएको खनालले जानकारी दिए ।
जोखिममा आधारित भएर प्रणालीगत सुधारको सुरुवात गरिएको बताउँदै उनले यसले दलाल मात्र नमोटाइ व्यापारको प्रवर्द्धन हुने र राजस्व पनि बढ्ने विश्वास लिएको बताए । खनालले फेसलेस अडिट र अनलाइन प्रणालीमा जाने तयारी गरिएको बताए ।
उद्योगी–व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर–१ शान्ति चौकमा सुरु भएको एक्स्पोले कोशी प्रदेशसहित देशभरका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
एक्स्पो स्थलमा निर्मित तीनवटा ह्याङ्गर र २०० भन्दा बढी स्टलमार्फत कृषि तथा औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका सेवासँगै भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको एक्स्पोका संयोजक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमितकुमार सारडाले बताए ।








प्रतिक्रिया