
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालले औद्योगिक उत्पादनको चरणलाई छोडेर सिधै सेवा क्षेत्रमा फड्को मार्दा अर्थतन्त्रमा असन्तुलन देखिएको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. पौडेलले व्यापार घाटा अहिले नेपालको मात्र नभई अन्तर्राष्ट्रिय मुद्दा बनेको र यसको मुख्य कारण उत्पादन क्षमता रहेको उल्लेख गरे ।
विश्व अर्थतन्त्रको उदाहरण दिँदै डा. पौडेलले भने, ‘विकसित मुलुकहरू कृषिबाट उत्पादन (उद्योग) र त्यसपछि सेवा क्षेत्रमा प्रवेश गरे, तर नेपालको हकमा हामी कृषिबाट सिधै सेवा क्षेत्रमा गयौं ।’ बीचको उत्पादनमूलक क्षेत्रलाई उपेक्षा गर्दा नेपालले आज ठूलो व्यापार घाटाको सामना गर्नुपरेको उनले बताए ।
देशको आर्थिक वृद्धि देखिए पनि त्यो पर्याप्त नभएको उनको तर्क थियो । सडक र ऊर्जाका क्षेत्रमा जति काम हुनुपर्ने थियो, त्यसो हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे । पौडेलका अनुसार आर्थिक वृद्धिको महसुस गराउने मुख्य कडी नै यातायात र ढुवानी (लजिस्टिक) हो । ‘सडक सञ्जाल र यातायात बलियो नहुँदा लजिस्टिक लागत बढ्यो, जसले उत्पादकत्व घटाउनुका साथै वैदेशिक लगानीलाई समेत निरुत्साहित गरेको छ,’ उनले थपे ।
वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा नेपालले कडा र धेरै सर्तहरू राखेको उल्लेख गर्दै डा. पौडेलले देशको संस्थागत क्षमता बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘लगानी कुन देशबाट आयो भन्ने कुराले फरक पार्दैन, अफ्रिकाबाटै आए पनि हुन्छ । मुख्य कुरा लगानीकर्ताले विश्वास गर्ने वातावरण र उनीहरूले चाहेको जनशक्ति वा टिम ल्याउन पाउने सुविधा हुनुपर्छ ।’ नेपालमा पुँजी भएर पनि त्यसको सही उपयोग हुन नसकेको उनको टिप्पणी छ ।
केन्द्रीय बैंकको भूमिकाबारे स्पष्ट पार्दै डा. पौडेलले मौद्रिक नीतिले मात्रै सबै समस्या समाधान नगर्ने बताए । वित्त नीतिले गर्ने काम मौद्रिक नीतिबाट खोज्नु भ्रम मात्र हुने उनको धारणा थियो । “हामी भ्रममा छैनौँ, बैंकहरूलाई समस्यामा पारेर वा खराब कर्जा बढाएर आर्थिक वृद्धिका लागि वित्त नीतिको काम मौद्रिक नीतिले गर्दैन,’ उनले भने ।








प्रतिक्रिया