
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई बेवास्ता गर्दै नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाललाई महासंघमा रुपान्तरण गर्ने निर्णय भएको छ । बुधबार ललितपुरमा आयोजित ४९औं वार्षिक साधारण सभाबाट नाडालाई महासंघमा रुपान्तरण गर्ने निर्णय भएको हो ।
बुधबार साधारणसभा अध्यक्ष करण चौधरीले नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्ताव राखेका थिए जसलाई निर्णय गर्दै पारित गरिएको हो । यद्यपि, केही सदस्यले भने त्यसमा असहमति प्रकट गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मात्र नाडालाई महासंघमा लाने प्रस्ताव कानुन सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धि कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि कार्य नगर्नु/नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई पत्र लेख्दै भनेको छ ।
नाडाको असन्तुष्ट पक्षले साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन नगरी साधारणसभा बोलाएको र महासंघमा लैजाने निर्णय पनि अवैधानिक भएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।
तर, जिल्ला प्रशासनको निर्देशलाई बेवस्ता गर्दै नाडाले आफ्नो वार्षिक साधारणसभा आयोजना गरेको हो । यसअघि महासंघमा परिणत गर्ने गरी नाडाले बोलाएको विषेश साधारणसभा पनि जिल्ला प्रशासन काठमाडौंको पत्रपछि रोकिएको थियो ।








प्रतिक्रिया