
एजेन्सी । म बंगलादेशको विजय दिवसको दुई दिनपछि डिसेम्बर १८ को राति दुई प्रमुख सञ्चारमाध्यम र केही सांस्कृतिक संस्थाहरूमाथि भएको ठूलो भीडको अभूतपूर्व आक्रमणको साक्षी बनें ।
इन्कलाब मञ्चका संयोजक तथा प्रवक्ता उस्मान हादीको मृत्युपछि उत्तेजित भीडले दुई सञ्चार संस्था- ‘प्रथम आलो’ र ‘द डेली स्टार’ का साथै ‘छायानट’ भवनमा पनि आक्रमण, तोडफोड र आगजनी गर्यो ।
यी संस्थाहरूलाई ‘भारतका दलाल’ र ‘फासीवादीका साथी’ जस्ता आरोप लगाइएको छ ।
विश्लेषकहरूका अनुसार भारतले बंगलादेशको स्वतन्त्रताको लडाइँमा सहयोग त गरेको थियो, तर त्यसपछि सीमा क्षेत्रमा हुने सर्वसाधारणको हत्या, पानीको बाँडफाँटको विषयमा उसको भूमिका र आन्तरिक मामिलामा हस्तक्षेपको आरोपका कारण बंगलादेशमा प्रायः भारतविरोधी भावनाहरू देखिने गरेका छन् ।
बंगलादेशको राजनीतिमा समय-समयमा भारतविरोधी भावनाको जुन प्रयोग हुने गरेको छ, यो ताजा आक्रमण त्यसैको उदाहरण भएको धेरैको बुझाइ छ ।
विश्लेषकहरूका अनुसार अन्तरिम सरकारको १६ महिनाको कार्यकालमा शान्ति सुरक्षाको अवस्था एउटा ठूलो चुनौती बनेको छ ।
अब चुनाव नै यो अस्थिर परिस्थितिबाट बाहिर निस्कने एकमात्र उपाय हो ।
केही राजनीतिज्ञहरूले आगामी चुनावमा अशान्ति फैलाउन एउटा समूहले भारतविरोधी भावनाको सहारा लिएर हिंसा भड्काइरहेको आशंका गरेका छन् ।
बंगलादेशमा लामो समयदेखि विभिन्न कारणले बढिरहेको भारतविरोधी भावनामा गत वर्ष जुलाईको आन्दोलनपछि एउटा नयाँ मोड थपिएको छ ।
उक्त आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनालगायत अवामी लिगका धेरै नेता र कार्यकर्ताले भारतमा शरण लिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
ढाका विश्वविद्यालयका प्रोफेसर काजी मारफुल इस्लाम भन्छन्, ‘लामो समयदेखिको प्रभुत्वका विरुद्ध सधैँ एउटा सक्रिय प्रतिरोध रहँदै आएको छ । यसबाहेक भारतले सत्ता गुमाएको सरकारलाई समर्थन पनि गरेको छ ।’
शेख हसिनालाई फिर्ता पठाउन गरिएको अनुरोधका बाबजुद भारतले उनलाई फिर्ता नपठाउनु र उस्मान हादीको हत्यापछि दोषीहरू भागेर भारत गएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचारले दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव अझ बढाएको विश्लेषकहरू बताउँछन् ।
यद्यपि, सरकार र प्रशासनले भने दोषीहरू देश छाडेर गएको बारे कुनै ठोस प्रमाण नभेटिएको बताएको छ ।
बंगलादेश प्रहरीका अतिरिक्त आईजी खाण्डेकर रफीकुल इस्लामले आइतबार भने, ‘दोषीहरूले सीमा पार गरे वा गरेनन् भन्ने कुरा हामीले अहिलेसम्म पुष्टि गर्न सकेका छैनौँ ।’
त्यसको भोलिपल्ट सोमबार गृह मन्त्रालयका सल्लाहकारले पत्रकार सम्मेलनमा भने, ‘यदि दोषीहरूको ठेगानाबारे पक्का जानकारी भएको भए उनीहरूलाई पक्राउ गरिसकिने थियो ।’
विश्लेषकहरूका अनुसार बंगलादेशको राजनीतिमा भारत-विरोधको मुद्दा समय-समयमा प्रयोग हुँदै आएको छ ।
हालै सञ्चार माध्यम, सांस्कृतिक संस्था छायानट र धानमन्डी-३२ स्थित निवासमा भएको नयाँ चरणको तोडफोडका क्रममा भारतविरोधी नाराहरू लागेका थिए । यी आक्रमणका क्रममा जमातबाहेक विद्यार्थी संगठनका नेताहरू पनि ती संस्थाहरूको विरुद्धमा बयान दिइरहेको देखिएका थिए ।
गत बिहीबार उस्मान हादीको मृत्युको खबर फैलिएपछि स्वतःस्फूर्त विरोध प्रदर्शन भयो । त्यसपछि आयोजित सभामा राजशाही विश्वविद्यालयको विद्यार्थी संगठनका अध्यक्ष मोस्ताकुर रहमानले भनेका थिए- ‘हामी आजको यस कार्यक्रमबाट घोषणा गर्छौँ कि प्रथम आलो र द डेली स्टार जस्ता पत्रिकाहरू बन्द गराएरै छाड्नेछौँ ।’
सोही दिन इस्लामी छात्र शिविरको जहांगीरनगर विश्वविद्यालय शाखाका सचिव मुस्तफिजुर रहमानले भनेका थिए, ‘राजनीतिक लडाइँबाट बंगलादेशको वास्तविक स्वतन्त्रता हासिल गर्न सम्भव छैन । हाम्रो लडाइँ शहीद उस्मान हादीको इन्कलाब मञ्चको सांस्कृतिक लडाइँबाट सुरु हुनेछ । भोलि बाम, शाहबागी, छायानट र उदिचीलाई ध्वस्त पार्नुपर्छ । त्यसपछि मात्र बंगलादेशले वास्तविक स्वतन्त्रता पाउनेछ ।’
वामपन्थीहरूलाई संक्षेपमा ‘बाम’ भनिन्छ भने ‘शाहबागी’ शब्द सन् २०१३ मा शाहबागमा भएको विरोध प्रदर्शनबाट आएको हो । त्यसैगरी ‘छायानट’ एक प्रमुख सांस्कृतिक संस्था हो र ‘उदिची’ देशकै सबैभन्दा ठूलो सांस्कृतिक संगठन हो ।
बीबीसी बाङ्लाले सम्पर्क गर्दा ती व्यक्तिहरूले आफ्ना टिप्पणीहरूलाई अस्वीकार त गरेनन्, तर फरक तरिकाले व्याख्या गरे । उनीहरूको दाबी छ कि यी बयानहरू मार्फत उनीहरूले सांस्कृतिक संस्थाहरूले अवामी लिगलाई दिएको ‘वैधता’ समाप्त गर्ने र दुई सञ्चार माध्यमहरूको पक्षपाती व्यवहारमा रोक लगाउने कुरा गरिरहेका थिए ।
अर्कोतर्फ, इस्लामी छात्र शिविरले नेताहरूको ‘जिब्रो लरबरिएर’ (भुलवश) आएका टिप्पणीका कारण आक्रमणको दोष संगठनमाथि थोपर्ने षड्यन्त्र भइरहेको दाबी गरेको छ । संगठनले यस्ता प्रयासको कडा विरोध गरेको छ ।
तर सम्पादक परिषद्का अध्यक्ष नुरुल कबिर भन्छन्, ‘धर्ममा आधारित राजनीति बलियो बनाउन चाहने समूहहरूका लागि भारतविरोधी नारा लगाउन सजिलो छ । जुलाईको आन्दोलनका बेला र त्यसपछि भारतले दिएको प्रतिक्रियाले उनीप्रति आक्रोश अझ बढाएको छ । अब हादीको मृत्युपछि आफ्नो धर्ममा आधारित राजनीति बलियो बनाउन चाहने मानिस वा संगठनहरू यो भावनालाई अझ नयाँ र प्रभावकारी ढंगले प्रयोग गर्न चाहन्छन् ।’
उनी भन्छन्, ‘जब यसै देशका केही मानिसहरू लोकतान्त्रिक संस्थाहरू बर्बाद गर्न खोज्छन्, तब भारतविरोधी नाराको आड लिन उनीहरूलाई सजिलो हुन्छ ।’
हिंसामा सरकारको मिलेमतोको आरोप
‘प्रथम आलो’ र ‘द डेली स्टार’ ले आरोप लगाएका छन् कि आक्रमणकारीहरू घटनास्थलमा पुग्नुअघि नै सरकारको उच्च तहमा सहयोगका लागि अपिल गर्दा पनि कुनै सहयोग पाइएन ।
प्रत्यक्षदर्शीहरूका अनुसार सुरक्षाकर्मीहरू घटनास्थल पुगे पनि उनीहरूले भीडलाई नियन्त्रण गर्न कुनै कदम चालेनन् । यही कारणले यो हिंसा र आगजनीमा सरकारको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ ।
प्रोफेसर काजी मारफुल इस्लाम भन्छन्, ‘वास्तवमा यो अन्तरिम सरकारको पूर्ण असफलता हो । अहिलेसम्म कुनै पनि संस्थामाथि सरकारको नियन्त्रण रहेको प्रमाण देखिएको छैन । धेरै हदसम्म यस्तो लाग्छ कि यो अन्तरिम सरकारले सम्भवतः यी सबै उक्साहट र हिंसालाई प्रश्रय दिइरहेको छ ।’
छायानटले आक्रमणको घटनामा ३०० भन्दा बढी अज्ञात व्यक्तिहरू विरुद्ध उजुरी दिएको छ । ‘प्रथम आलो’ र ‘द डेली स्टार’ माथिको आक्रमणको सम्बन्धमा भने केही व्यक्तिहरू पक्राउ परेका छन् ।
यद्यपि, घटनाका दिन सामाजिक सञ्जालमा भाइरल भएका धेरै भिडियोहरूमध्ये एउटामा एक सैनिक अधिकारीले आक्रमणकारीहरूको विरोध गर्नुको साटो उनीहरूसँग कुराकानी गरिरहेको देखिएको थियो । ती अधिकारीले भवनभित्र फसेका पत्रकारहरूलाई बचाउन आक्रमणकारीसँग २० मिनेटको समय मागिरहेको पनि देखिएको थियो ।
नुरुल कबिरको भनाइ छ कि सरकारको एउटा समूहको समर्थनका कारण नै हिंसाका यस्ता घटनाहरू भइरहेका छन् ।
उनी भन्छन्, ‘सत्तामा रहेको सरकारले द डेली स्टार र प्रथम आलोको कार्यालयमा आगजनी भएपछि यस मामलामा हस्तक्षेप गर्न जुन ढिलाइ गर्यो, त्यो उसको पूर्ण असफलता हो । म त भन्छु कि सरकार, प्रशासन र मोहम्मद युनुस सरकारको मन्त्रिमण्डलमा पक्कै पनि त्यस्ता मानिसहरू छन् जो यी घटनाहरू होउन् भन्ने चाहन्थे ।’
नेशनल सिटिजन पार्टी (एनसीपी) का संयोजक नाहिद इस्लामले पनि यही आरोप लगाएका छन् । यो पार्टीको कमान सम्हाल्नुअघि नाहिदले करिब साढे सात महिनासम्म अन्तरिम सरकारको सल्लाहकारको रूपमा काम गरिसकेका छन् ।
सम्पादक परिषद् र समाचार पत्र मालिकहरूको संस्था ‘न्युजपेपर ओनर्स एसोसिएसन’ को पहलमा सोमबार आयोजित संयुक्त विरोध सभामा नाहिद इस्लामले भनेका थिए, ‘ती मानिसहरूले हाम्रै नाराको प्रयोग गरेर आक्रमण गरे र त्यसको पक्षमा जनमत तयार पारे । यस घटनापछि हाम्रो भनाइ यो छ कि यी आक्रमणहरूमा सरकारमा संलग्न एउटा समूहको पनि मिलेमतो छ ।’
(बीबीसी हिन्दीमा प्रकाशित तन्हा तस्नीमको लेखको अनुवाद)








प्रतिक्रिया