
काठमाडौं । पछिल्लो समयमा मूल्यको हिसाबले सुनको आयात बढेको तथ्यांक देखिए पनि मागअनुसार भने अझै वैध बाटोमार्फत आएको छैन ।
पछिल्लो ७ वर्षको अवधिमा चालु आर्थिक वर्षसहित दुई वर्षमा अत्याधिक मूल्यको सुन नेपालमा आयात भएको पाइएको छ ।चालु आर्थिक वर्ष २०८२/८३ र गत आर्थिक वर्ष २०८१/८२ मा अत्यधिक मूल्यको सुन वैध बाटोमार्फत नेपालमा आयात भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मासिक १८० किलो भाग पर्ने गरी १५ अर्ब ७२ करोड १८ लाख रुपैयाँबराबरको ९०२ किलो काँचो सुन नेपालमा आयात भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा भने १६ अर्ब ३ करोड १८ लाख रुपैयाँबराबरको मासिक १०७ किलो भाग पर्ने गरी त्यो वर्ष १२८४ किलो सुन आयात भएको थियो ।
मूल्यको हिसावले अत्यधिक सुन आयात भए पनि मागको आधारमा भने अहिले पनि आयातको दरमा कुनै सुधार भएको देखिँदैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा सामान्य समयमा दैनिक २० किलो काँचो सुनको माग छ । बिहे, ब्रतबन्धको महिनामा यो माग बढेर दैनिक ३० किलोदेखि ५० किलोसम्म पुग्ने महासंघको भनाइ छ ।
सामान्य समयको मागलाई आधार बनाएर औषत २९ दिनलाई एक महिना मान्दा मासिक रुपमा कम्तिमा ५८० किलो काँचो सुन नेपालको बजारलाई चलायमान बनाउन आवश्यक पर्छ ।
तर आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्म मासिक रुपमा १०७ देखि ४२१ किलोसम्म मात्रै आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मागको तुलनामा झण्डै १५९ किलो कम सुन आयात भएको थियो । बाँकी वर्षहरुमा भने माग र वैध रुपमा आयात भएको सुनको खाडल झण्डै तीन चौथाई छ ।
मागको करिब एक चौथाई मात्रै वैध बाटोमार्फत आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । यसरी हेर्दा बजारलाई चलायमान बनाउन अझै करिब तीन चौथाई सुन अवैध बाटोमार्फत बजारमा आइरहेको सहज रुपमा बुझ्न सकिन्छ ।
भारतको गोल्ड प्राइस इण्डिया डटकमको विवरणअनुसार भारतमा मंगलबार सुनको औषध मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय १ भारतीय रुपैयाँ (२ लाख ५७ हजार ९ सय २१ रुपैयाँ नेपाली) छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले मंगलबार जारी गरेको विवरण अनुसार नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ छ । यसरी हेर्दा नेपालभन्दा अहिले पनि भारतमा प्रतितोला ९ हजार २ सय ७९ रुपैयाँ सुन सस्तो छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेटमार्फत सुन चाँदी आयात गर्दा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ६ प्रतिशत कायम गरेकी थिइन् । यसका साथै प्लेटेनियममा पनि भन्सार शुल्क घटाएर ६.४ प्रतिशतमा झारिएको थियो ।
भारतले हालै सार्वजनिक गरेको वित्त वर्ष २०२५/२६ को बजेटमार्फत सुन आयात गर्दा लाग्दै आएको भन्सार दर हेरफेर गरेको छैन ।
यसअघि सन् २०२२ मा भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर ७.५ प्रतिशतलाई बृद्धि गरी १२.५ प्रतिशतसम्म पुर्याएको थियो । यसले गर्दा नेपाली बजारमा सस्तो र भारतीय बजारमा महँगो हुँदा नेपालबाट भारततर्फ सुनको अवैद्य रुपमा सुनको तस्करी बढेको थियो ।
मागअनुसार वैध बाटोमार्फत काँचो सुन आयात नभएपछि देशभरको बजार चलायमान बनाउन अहिले पनि तुलनात्मक रुपमा सस्तो मूल्य रहेको भारतबाट लुकिछिपी र तस्करी गरी नेपालमा भित्र्याउने क्रम जारी गरेको विषयलाई पुष्टि गर्छ । अहिले पनि नेपालको स्वदेशी बजार तस्करी भएर आएको करिब तीन चौथाई सुनबाट चलेका छन् ।
अवैध रुपमा हुने सुनको आयातलाई रोक्न सरकारले पछिल्लो समयमा भन्सार शुल्क घटाए पनि त्यसको साकारात्मक प्रभाव आयात प्रणालीमा परेको छैन ।
नेपालभन्दा भारतमा काँचो सुन आयात गर्दा भन्सार शुल्क सस्तो भएका कारण पछिल्लो समयमा नेपालमा भारतबाट अवैद्य रुपमा तस्करी भएर आएको सुनबाट नेपालको बजार चल्दै आएको थियो ।
अवैध रुपमा हुने सुनको तस्करीलाई नियन्त्रण गरी वैध रुपमा बजारलाई नियमित रुपमा चलायमान बनाउने उद्देश्यले सरकारले गत २०८१ मंसिर ६ गतेदेखि सुनको आयात गर्दा लाग्ने भन्सार शुल्क घटाएको थियो ।
भन्सार शुल्क घटाउँदा पनि बजारको मागअनुसार सरकारी दस्तुर तिरेर अन्तर्राष्ट्रिय बजारबाट सुन आयात भएको छैन । वैध रुपमा भन्सारमार्फत मागअनुसार सुन आयात नभएपनि बजारमा सुनको अभाव नभएको सुन व्यवसायीहरुको दावी छ ।
खुला सीमाको फायदा उठाउँदै तस्करीमार्फत आउने सुनका कारण नेपालको सुन व्यापार प्रभावित भएको भन्दै नेपाल सुनचाँदी व्यवसायीहरुको पटक पटकको ध्यानाकर्षणपछि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाउने निर्णय गरेको थियो ।

सुन आयात गर्दा लाग्दै आएको २० प्रतिशत भन्सार महसुललाई झारेर १० प्रतिशत कायम गरिएको थियो । यस्तै चाँदीमा लाग्दै आएको भन्सार दर पनि घटाएर १५ बाट १० प्रतिशतमा झारिएको थियो ।
अवैध रुपमा हुने सुनको जगमा ठडिएको सुनको समग्र वजारलाई नियमनको दायरामा ल्याउन सरकारले भन्सार शुल्क घटाउने अस्त्र चलाए पनि औपचारिक रुपमा अझै मागअनुसार बजारमा सुन आयात भएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघसँग आवद्ध व्यवसायीहरुले पनि भन्सार शुल्क घट्दा पनि बैद्य रुपमा सुनको आयात परिमाण नबढेको र बजारमा अभाव पनि नभएको औल्याएका छन् ।
महासंघका महासचिब किरणभाई बज्राचार्यका अनुसार भन्सार शुल्क घटेपनि भन्सारमार्फत हुने आयात परिमाणमा आशलाग्दो रुपमा परिवर्तन आएको छैन ।
‘भन्सार शुल्क घटेपछि मागकै हाराहारीमा वैध रुपमा सुनको आयात हुन्छ भनेर हाम्रो सोच थियो,’ महासचिब बज्राचार्यले भने,‘तर खासै साकारात्मक प्रभाव परेको देखिदैंन । अहिले मागभन्दा झण्डै दुई चौथाई कम परिमाणमा सुनको आयात भएको छ । कम परिमाणमा आयात भएपनि बजारमा सुनको खासै अभाव सिर्जना भएको छैन । बजारमा पर्याप्त परिमाणमा सुन छ ।’
बज्राचार्यले सुनको मूल्य अत्यधिक बढेका कारण पनि पछिल्लो समयमा स्वदेशी सुनको बजारमा सुस्तता आएको छ । जसले गर्दा बजारमा वैध बाटोमार्फत सुनको आयात नभएपनि खासै बजारमा अभाव नदेखिएको जानकारी दिए ।
महासचिब बज्राचार्यका अनुसार बिहेको सिजन आउनुभन्दा अघिल्लो महिनामा सुनको माग अत्याधिक बढ्छ ।
‘हामीकहाँ प्रायजसोको घरमा बिहे हुनुभन्दा दुई तीन महिना अगावै गरगहना बनाएर थन्काउने चलन छ,’ बज्राचार्यले भने,‘बिहे गर्ने मुख्य महिना मंसिर र माघ महिनाको अघिल्लो महिनामै गरगहना बनाइसक्छन । यहि कारणले असोज, कात्तिक र पुष महिनामा तुलनात्मक रुपमा सुनको केहि बढि आयात हुने गरेको छ ।’
मंगलबार नेपालको स्वदेशी बजारमा सुनको मूल्यले रेकर्डसमेत कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोलालाई २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको महासंघको ठहर छ । यसअघि सोमबार सुनको मूल्य २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो ।








प्रतिक्रिया