रिलायन्सको आईपीओ भर्न ४१ हजार ४० रुपैयाँ चाहिने


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन खुला भएको छ । सोमबारदेखि सर्वसाधारणले रिलायन्सको आईपीओमा आवेदन दिन पाउने भएका हुन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ । बुक बिल्डिङबाट जारी भएको रिलायन्सको आईपीओको अन्तिम चरणमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ताको ४१ हजार ४० रुपैयाँ हुन आउँछ । तसर्थ, यो आईपीओ भर्नका लागि लगानीकर्तासँग ४१ हजार ४० रुपैयाँ हुनुपर्नेछ ।

उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म रहेको छ । ११ गतेसम्म माग अुसारको आवेदन नआए समय पुस २१ गतेसम्म लम्बिनेछ ।

रिलायन्सले नेपाल धितोपत्र बोर्डबाट कुल १९ लाख २६ हजार ६ सय कित्ता आईपीओ बुक बिल्डिङमार्फत् जारी गर्ने अनुमति पाएकामा ४० प्रतिशत अर्थात् ७ लाख ६० हजार ६४० कित्ता सेयर योग्य लगानीकर्तालाई बाँडफाँड भइसकेको छ ।

बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएकामा त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख १५ हजार ५९६ कित्ता , ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषका लागि र ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि जारी भइ बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यो आईपीओ ५०-५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ ।

Skip This