म सभापति बन्न चाहन्छु: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँगको छलफलका क्रममा थापाले आफू सभापतिको उम्मेदवार भएको स्पष्ट पार्दै पार्टी नेतृत्व आफूले गर्ने दाबी गरे ।

‘म अहिले पार्टीको १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु,’ उनले भने । महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि नभई पार्टीलाई नयाँ बनाउने अवसर भएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता नवीकरणको काम ढिला भइरहेकोप्रति असन्तुष्टि जनाए । महाधिवेशन समयमै हुनुपर्नेमा आफू दृढ रहेको बताउँदै उनले महामन्त्रीको हैसियतले सभापति शेरबहादुर देउवालाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए।

थापाले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो। तर कता कता अलिअलि ढिलाइको संकेत देखिरहेका छौँ। यो विषयमा पार्टी नेतृत्वलाई स्पष्ट भनिरहेका छौँ। हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’ उनले नियमित वा विशेष महाधिवेशन अनिवार्य रूपमा हुनुपर्ने र महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा नजाने स्पष्ट चेतावनी दिए।

महामन्त्री थापाले भदौ २३ गते घटेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताए । उनले उक्त घटना अकल्पनीय, दुःखद् र नेपालको इतिहासमा पीडादायी भएको उल्लेख गरे।

‘त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ। सडकमा आक्रोश व्यक्त भयो। त्यसको अर्को पाटो पनि छ,’ उनले भने, ‘हामीले त्यही दिन बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ।’

थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको राजनीतिक नैतिकता (पोलिटिकल मोरालिटी) अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै जिम्मेवारी लिनु कमजोरी नभई नेतृत्वको गुण भएको बताए ।

Skip This