सिलिगुडी करिडोरलाई बलियो बनाउन भारतले दुई नयाँ सडक परियोजना सुरु गर्दै


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी डिसेम्बर २० मा पश्चिम बंगालको भ्रमण गर्दैछन् ।

त्यहाँ उनले राज्यको सडक सञ्जाल सुधार गर्ने उद्देश्यका साथ दुईवटा ठूला राष्ट्रिय राजमार्ग आयोजनाहरूको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम छ ।

करिब ३२ सय करोड भारुको कुल लागतमा बन्ने यी आयोजनाहरूको सुरुवात नदिया जिल्लाको रानाघाटमा आयोजना हुने एक कार्यक्रममा गरिनेछ ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले एक जनसभालाई पनि सम्बोधन गर्नेछन् ।

उद्घाटन गरिने प्रमुख आयोजनाहरूमध्ये नदिया जिल्लाको राष्ट्रिय राजमार्ग ३४ अन्तर्गत बरजागुली–कृष्णनगर खण्डको ६६.७ किलोमिटर लामो चार लेनको सडक रहेको छ ।

यसका साथै, उत्तर २४ परगना जिल्लामा पर्ने राष्ट्रिय राजमार्ग ३४ कै १७.६ किलोमिटर लामो बारासात–बरजागुली खण्डलाई चार लेनको बनाउनका लागि शिलान्यास गरिनेछ ।

यी राजमार्गको स्तरोन्नतिले यात्री र व्यावसायिक सवारीसाधनका लागि एक महत्त्वपूर्ण करिडोर मानिने कोलकाता र सिलिगुडीबीचको सडक सम्पर्कलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार, यी सुधारिएका सडक खण्डहरूले यात्राको समयलाई करिब दुई घण्टा घटाउने सम्भावना छ । यसले गर्दा जाम घट्नेछ र सवारीसाधनको आवागमन सहज हुनेछ ।

‘यी आयोजनाहरूले कोलकाता र सिलिगुडीबीच एक महत्त्वपूर्ण सम्पर्क कडीको रूपमा काम गर्नेछन् । यिनले यात्राको समयलाई करिब २ घण्टा घटाउन मद्दत गर्नेछन् जसले निर्बाध ट्राफिक प्रवाहका लागि सवारी साधनको छिटो र सहज आवागमन सुनिश्चित गर्नेछ, सवारी सञ्चालन खर्च कम गर्नेछ, र कोलकाताको पश्चिम बंगालका अन्य छिमेकी जिल्लाहरूका साथै छिमेकी देशहरूसँगको सम्पर्कलाई पनि सुधार गर्नेछ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।