
एजेन्सी । युरोपेली संघ (ईयू) का नेताहरूले फ्रिज गरिएका रुसी सम्पत्तिहरू उपयोग गर्ने बारे सहमति जुटाउन असफल भएपछि युक्रेनलाई ९० अर्ब युरो ऋण दिने सम्झौता गरेका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढीको वार्तापछि भएको यो सम्झौताले आगामी दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने नेताहरूले बताएका छन् ।
‘हामीले प्रतिबद्धता जनायौं र पूरा पनि गर्याैं,’ ईयूका प्रमुख एन्टोनियो कोस्टाले ब्लकको साझा बजेटद्वारा समर्थित ऋण उपलब्ध गराउने सम्झौताको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा लेखे ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेताहरूलाई २०० अर्ब युरोको फ्रिज गरिएको रुसी सम्पत्ति प्रयोग गर्न आग्रह गरेका थिए । तर, रुसी नगदको ठूलो हिस्सा राखिएको बेल्जियमले दायित्व बाँडफाँट गर्नेबारे ग्यारेन्टी माग गरेपछि अन्य देशहरू हच्किए ।
जेलेन्स्कीले यस सम्झौताका लागि युरोपेली नेताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । यसलाई उनले हाम्रो लचिलोपनलाई वास्तवमै बलियो बनाउने महत्त्वपूर्ण समर्थनको रूपमा वर्णन गरे ।
एक्समा लेख्दै उनले रुसी सम्पत्तिहरू स्थिर रहनु महत्त्वपूर्ण भएको बताए ।
अर्को घटनाक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युरोपले पुनः संवाद गर्नु उपयोगी हुने विश्वास व्यक्त गरे ।
‘यस छलफललाई पुनः अगाडि बढाउनको लागि सही रूपरेखा खोज्नु युरोपेली र युक्रेनीहरूको रूपमा हाम्रो हितमा रहेको मलाई विश्वास छ,’ उनले भने । साथै, युरोपेलीहरूले आगामी हप्ताहरूमा त्यसो गर्ने माध्यमहरू खोज्नुपर्ने कुरा उनले थपे ।
फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्नुको साटो पैसा सापटी लिएर युक्रेनलाई ऋण उपलब्ध गराउने निर्णयले ईयू नेताहरूले अराजकता र विभाजनबाट जोगिएको बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले शुक्रबार बताए ।
युक्रेनसँग नगद सकिन अब केही महिना मात्र बाँकी छ र जेलेन्स्कीले वसन्त ऋतुसम्म रकम सहयोग नपाएमा युक्रेनले ड्रोनको उत्पादन घटाउनुपर्ने बताएका छन् ।
ईयूको अनुमान अनुसार युक्रेनलाई आगामी दुई वर्षसम्म टिक्नका लागि थप १३५ अर्ब युरो आवश्यक पर्छ । अप्रिलदेखि नगदको अभाव सुरु हुने देखिएको छ ।
रुसले ईयू नेताहरूलाई आफ्नो पैसा प्रयोग नगर्न चेतावनी दिएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्न द्रुत सम्झौताको लागि दबाब दिइरहेका बेला कूटनीतिक दौडधूपका बीच यस सम्झौताले युक्रेनलाई अत्यन्तै आवश्यक जीवनदान प्रदान गर्दछ ।








प्रतिक्रिया