
एजेन्सी । भारतको बैंकिङ र वित्तीय सेवा क्षेत्र जापानका ठूला बैंकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनिरहेको छ ।
यो प्रवृत्ति मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुपले श्रीराम फाइनान्समा गर्न लागेको ४० हजार करोड रुपैयाँको लगानीबाट प्रस्ट हुन्छ ।
इकोनोमिक टाइम्सका अनुसार, यस सम्झौतामार्फत एमयूएफजीले भारतको दोस्रो ठूलो गैरबैंकिङ वित्तीय कम्पनीमा २० प्रतिशत हिस्सा प्राप्त गर्नेछ । यो एउटा सामान्य लगानी मात्र नभई जापानका विशाल बैंकहरूले आफ्नो परिपक्व र जनसांख्यिकीय रूपमा सीमित घरेलु बजारभन्दा बाहिर वृद्धि, स्केल र दीर्घकालीन प्रतिफल खोजिरहेको संकेत हो ।
पछिल्लो समयमा भारतको वित्तीय क्षेत्रमा जापानी लगानीको गति बढेको छ । एमयूएफजीको यस कदमअघि अन्य ठूला सम्झौताहरू पनि भएका छन् । मिजुहो एभेन्डसको प्राप्ति, दाइवा सेक्युरिटीजले एम्बिटमा तेस्रोपटक लगानी र सुमितोमो मित्सुई बैंकिङ कर्पोरेसनले गत मे महिनामा भारतको येस बैंकमा १.६ अर्ब डलरमा २० प्रतिशत हिस्सा खरिद त्यसका उदाहरण हुन् ।
एमयूएफजीका लागि भारतको द्रुत गतिमा बढिरहेको छाया बैंकिङ क्षेत्रमा बलियो स्थान बनाउने यो दोस्रो ठूलो प्रयास हो । गत वर्ष यसले एचडीएफसी बैंकको भगिनी संस्था एचडिबी फाइनान्सियल सर्भिसेजमा २ अर्ब डलरको हिस्सा लिन खोजेको थियो जुन सफल हुन सकेन । श्रीराम फाइनान्ससँगको सम्झौताले एमयूएफजीलाई खुद्रा कर्जा र सवारी साधन लगानीमा गहिरो पहुँच भएको स्थापित संस्थासँग जोड्नेछ ।
यसअघि एमयूएफजीले डीएमआई फाइनान्समा ३३.८ करोड डलरभन्दा बढी लगानी गरिसकेको छ र पछि आफ्नो हिस्सा बढाएर २० प्रतिशत पुर्याएको छ । यसले जापानी बैंकहरू आफैं शून्यबाट काम सुरु गर्नुभन्दा स्थानीय साझेदारहरूसँग सहकार्य गर्न रुचाउँछन् भन्ने देखाउँछ ।
भारतले अहिले त्यस्तो अवसर प्रदान गरिरहेको छ जुन जापानमा पाउन मुस्किल छ ।
भारतमा बढ्दो आम्दानी, कर्जाको उच्च माग, पूर्वाधारमा आधारित वृद्धि र औपचारिक अर्थतन्त्रतर्फको यात्रा लोभलाग्दो छ । यहाँ सवारीसाधन स्वामित्व, व्यक्तिगत उपभोग र साना तथा मझौला उद्योगका कारण खुद्रा कर्जाको माग विकसित अर्थतन्त्रको तुलनामा धेरै बढी छ ।
जापानको बैंकिङ बजार दशकौंदेखि स्थापित छ र बिग थ्री (एमयूएफजी, एसएमबीसी र मिजुहो) को वर्चस्व छ । तर, त्यहाँ जनसंख्या वृद्धि नकारात्मक छ, समाज वृद्ध हुँदैछ र घरायसी कर्जाको माग न्यून छ ।
जापानमा ब्याजदरमा सामान्य वृद्धि भए तापनि त्यहाँको विकासको सम्भावना सीमित छ । धेरै क्षेत्रीय बैंकहरू घट्दो जनसंख्या र सीमित डिजिटल क्षमताका कारण मर्जर र एक्विजिसन (समायोजन) तर्फ जान बाध्य छन् । त्यसैले जापानी बैंकहरूका लागि विदेशमा लगानी विस्तार गर्नु अब विकल्प नभई आवश्यकता बनेको छ ।
जापानी बैंकहरूले भारतीय वित्तीय क्षेत्रमा हिस्सा लिइरहँदा अन्य विश्वव्यापी खेलाडीहरू पनि यसमा पछि छैनन् । दशकौंसम्म भारतले आफ्नो बैंकिङ क्षेत्रमा विदेशी हस्तक्षेपलाई नियन्त्रण गरेको थियो । तर, अहिले अन्तर्राष्ट्रिय पुँजीको बाढी नै आएको छ । ब्लुमबर्गको तथ्यांक अनुसार, यस वर्ष मात्रै करिब १५ अर्ब डलर बराबरका सम्झौताहरू भएका छन् ।
दुबईको इमिरेट्स एनबीडी, अमेरिकाको ब्ल्याकस्टोन र स्विट्जरल्यान्डको जुरिच इन्स्योरेन्स जस्ता संस्थाहरूले भारतीय बैंक, बीमा र एनबीएफसीहरूमा ठूलो लगानी गरिरहेका छन् । हालै मात्र ब्ल्याकस्टोनले फेडरल बैंकमा ७०.५ करोड डलर लगानी गरेर ९.९ प्रतितश हिस्सा लिएको छ जसका कारण यो बैंकको सबैभन्दा ठूलो सेयरधनी बनेको छ ।
यो विदेशी पुँजीको प्रवाहले भारतलाई विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्दो र डिजिटल रूपमा जोडिएको अर्थतन्त्रको रूपमा स्वीकार गरिएको पुष्टि गर्छ । जापानी बैंकहरूले पनि अहिले त्यही बजारमा आफ्नो भविष्य खोजिरहेका छन् जहाँ विश्वका अन्य शक्तिशाली लगानीकर्ताहरूको पहिले नै आँखा परिसकेको छ ।








प्रतिक्रिया