पोखरा एयरपोर्टका तत्कालीन आयोजना प्रमुख मुनाकर्मी विरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गत साता ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले मंगलबार फेरि थप एक जना नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी विनेश मुनाकर्मी विरुद्ध साढे २ करोड रुपैयाँ विगो माग दावी गरेको छ ।

अख्तियारले विशेष अदालतमा हालेको मुद्दामा उनीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँको विगो माग दाबीगर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत मुनंकर्मीले पदीय मर्यादा विपरीतका गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

मुनंकर्मीले २०५४ फागनु १ देखि सार्वजनिक सेवामा प्रवेश गरेदेखि यताको २०८० मंसिर १४ गतेसम्ममा उनको सम्पूर्ण स्रोतबाट ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ आर्जन गरेका छन् । तर उनले यो अविधमा गरेको खर्च भने ६ करोड २४ लाख १५ हजार नौ सय रुपैयाँ भएकोले उनके आम्दानीभन्दा बढी साढे २ करोडको रुपैयाको स्रोत पुष्टि नभएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

निज राष्ट्रसेवक प्रतिवादी मुनंकर्मीले गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य र उनको सम्पत्ति विवरणसँग पुष्टि हुन नसकेको भन्दै अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।

अख्तियारले उनकी श्रीमती पूर्णकेशरी गोसाईलाई नाममा सम्पत्तिहरु खरिद गरेको देखिंदा निज बिनेश मुनंकर्मी र निजको श्रीमती पूर्ण केशरी गोसाईको समेत कानूनबमोजिम जफत गर्ने गरी मुनाकर्मी दम्पतीविरुद्ध मुद्दा दायर गरेको हो ।