एमालेमा अध्यक्ष उठ्न १५ हजार शुल्क, अन्यलाई कति ?

140
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष पदका उम्मेदवारका लागि उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन प्रक्रिया सुरु भएसँगै विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरिएको हो । पदाधिकारी तथा केन्द्रीय निर्वाचन आयोगका अध्यक्षका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीका उम्मेदवारले ५ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । सबै पदाधिकारी पदमा निर्वाचन हुने पक्का भएको छ ।

मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर भिड्ने तयारीमा छन् । ओली समूहबाट ५ जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको छ ।

महासचिवमा शंकर पोखरेल नै दोहोरिने भएका छन् । ज्ञवालीले पनि महासचिव दाबी गरे पनि पोखरेलले नछाडेपछि उनी उपाध्यक्षमा उक्लिएका हुन् ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्टको नाम टुंगो लागेको छ ।

९ सचिवमा पद्मा अर्याल, छवि विश्वकर्मा, भानुभक्त ढकाल , खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन् ।

लेखराजलाई सचिव नै दोहोर्‍याउने तयारी भए पनि उनले नमानेपछि उपमहासचिवको उम्मेदवार बनाइएको छ भने भानुभक्तलाई सचिवमा ल्याइएको छ ।

त्यस्तै पोखरेल अध्यक्ष उम्मेदवार रहने टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरूङ, अरूण नेपालको नाम टुंगो लागेको छ भने महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुने छन् । उपमहासचिवमा योगेश भट्टराईको टुंगो लागेको छ । सचिवमा कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेलको टुंगो लागेको छ ।