
एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा रहेको बोन्डी बीचमा आइतबार साँझ गोली चल्दा एक बन्दुकधारीसहित दश जनाको मृत्यु भएको छ ।
प्रहरीले गोलीकाण्डमा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
अर्का बन्दुकधारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अन्य ११ जना घाइते भएका छन् जसमा दुईजना प्रहरी अधिकारीहरू पनि छन् ।
साँझ लाग्नेबित्तिकै धेरैपटक गोली चलेको खबर पाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।
साँझ ८ बजेभन्दा केही समयअघि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको र सक्रिय बन्दुकधारीहरूलाई निष्क्रिय पारिएको बताएको थियो ।
धेरैपटक गोली चलेको खबर आएपछि साँझ करिब पौने ७ बजे बीचको पछाडिपट्टि रहेको मुख्य सडक क्याम्पबेल परेडमा आपतकालीन सेवाहरू बोलाइएको थियो ।
अनलाइनमा सेयर गरिएको घटनास्थलको भिडियोमा मानिसहरू बीचबाट भागिरहेको र भुइँमा लडिरहेका मानिसहरूको उपचार भइरहेको दुःखद दृश्य देखिएको थियो ।
गोली चल्ने समयमा बीचमा यहूदीहरूको पर्व हनुक्का मनाउने कार्यक्रम भइरहेको थियो ।
अस्ट्रेलियमा रहेका यहुदीहरूको संगठन अस्ट्रेलियन ज्युरीको कार्यकारी परिषद्का प्रमुख कार्यकारी एलेक्स रिभचिनले घटनामा संगठनका मिडिया निर्देशक घाइते भएको बताएका छन् ।
प्रधानमन्त्री एन्थोनी एल्बनिजीले हत्याका दृश्यहरू स्तब्ध पार्ने र पीडादायी भएको बताएका छन् ।
न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डीबाट आएका रिपोर्ट र तस्बिरहरू अत्यन्तै पीडादायी भएको बताए ।
विपक्षी दलकी नेता सुसन लेले अस्ट्रेलियालीहरू गहिरो शोकमा रहेको बताउँदै सबैले राम्ररी जानेको र माया गर्ने प्रतिष्ठित अस्ट्रेलियाली समुदायको मुटुमै यो घृणित हिंसा भएको बताइन् ।







प्रतिक्रिया