एआई र सेमिकन्डक्टरको शक्ति सन्तुलन बदल्ने अमेरिकी चाल, चीन-भारत बाहिरै

नेपालले पनि लिन सक्छ लाभ


काठमाडौं । अमेरिकाले गत बिहीबार (११ डिसेम्बर) प्याक्स सिलिका नामक नयाँ अन्तर्राष्ट्रिय प्रयास सुरु गरेको घोषणा गरेको छ।

त्यहाँको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को वेबसाइटमा उपलब्ध विवरण अनुसार, यो विश्वव्यापी स्तरमा रहेका ‘सिलिकन’ पक्षहरू सुरक्षित गर्नका लागि बनाइएको उन्नत अर्थतन्त्र भएका देशहरूको गठबन्धन हो ।

चिप्स, महत्त्वपूर्ण खनिज पदार्थहरू, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार र तिनलाई जोड्ने कारखाना तथा बन्दोबस्तीलाई सिलिकन पक्ष भनिएको हो ।

सरल भाषामा भन्नुपर्दा, यो सेमिकन्डक्टर, एआई हार्डवेयर र सम्बन्धित प्रविधिहरूको आपूर्ति शृंखलालाई मित्रराष्ट्रहरूबीच लचिलो, विश्वसनीय र सहयोगी बनाउने तथा प्रतिस्पर्धी शक्तिमाथिको निर्भरता कम गर्ने सामूहिक प्रयास हो ।

अमेरिकाको विदेश मन्त्रालयले ‘प्याक्स सिलिका’ लाई एआई र आपूर्ति शृंखला सुरक्षामा नवप्रवर्तनबाट निर्देशित र सुरक्षित सिलिकन आपूर्ति शृंखला निर्माण गर्ने आफ्नो प्रमुख प्रयासको रूपमा व्याख्या गरेको छ ।

मूलतः प्याक्स सिलिकाका तीन व्यावहारिक लक्ष्यहरू छन् । पहिलो, आपूर्तिको विविधीकरण र सुरक्षा । कुनै एक देशले आपूर्ति रोक्न वा बाधा पुर्याउन सक्ने जोखिम कम गर्न महत्त्वपूर्ण खनिज, चिप उत्पादन र एआई पूर्वाधारका वैकल्पिक स्रोतहरू निर्माण गर्नु यसको लक्ष्य हो । यसमा खनिज पदार्थ उत्खनन, प्रशोधन र फ्याब्रिकेशन प्लान्ट (निर्माण कारखाना) मा लगानी गर्ने संयुक्त परियोजनाहरू समावेश छन् ।

दोस्रो, नियम र सुरक्षाहरूको समन्वय । सदस्य राष्ट्रहरूले निर्यात नियन्त्रण, लगानी जाँच (इन्भेस्टमेन्ट स्क्रीनिङ), आवश्यक मापदण्ड र अन्य आर्थिक सुरक्षा उपकरणहरूमा एकरूपता ल्याउन सक्छन् । यसले गर्दा विश्वसनीय साझेदारहरूसँग प्रविधि आदानप्रदान मात्र हुन्छ र यसको दुरुपयोग (जस्तै, संवेदनशील माइक्रोइलेक्ट्रोनिक्सको अवैध स्थानान्तरण) गर्न कठिन हुन्छ ।

खासमा प्याक्स सिलिका राष्ट्रहरू कार्बन उत्सर्जन घटाउने र स्वच्छ एवं भरपर्दो ऊर्जा सुरक्षित गर्ने दबाबमा छन् । यस अवस्थामा नेपाललाई न्यून मात्राको कार्बन ऊर्जा गन्तव्यका रूपमा बजार प्रवर्धन गर्न सकिन्छ

तेस्रो, अनुसन्धान र विकास तथा उत्पादनमा सहकार्य । अमेरिकाका प्रतिस्पर्धी मुलुकहरूका ठूला औद्योगिक रणनीतिहरूसँग प्रतिस्पर्धा गर्नका लागि मित्रराष्ट्रहरूबीच घरेलु चिप उत्पादन र उन्नत एआई टुलिङलाई गति दिन संयुक्त अनुसन्धान, आपूर्ति शृंखला पूर्वाधार र साझा संरचनामा लगानीको व्यवस्था गर्न खोजिएको छ । यसले अमेरिका र उसका साझेदारहरूलाई प्रभावकारी रूपमा शक्ति सञ्चय गर्न मद्दत गर्छ।

प्याक्स सिलिका आंशिक रूपमा मात्र पनि सफल भयो भने यसले सदस्य राष्ट्रहरूका लागि विश्वव्यापी चिप र एआई हार्डवेयर आपूर्ति शृंखलालाई थप लचिलो र राजनीतिक रूपमा स्थिर बनाउन सक्छ ।

यसले कूटनीतिक विवाद वा निर्यात प्रतिबन्धमार्फत साझेदार राष्ट्रका प्रमुख उद्योगहरूलाई अचानक ठप्प पार्ने सम्भावना घटाउन सक्छ (जस्तो अहिले चीनले गरिरहेको छ) । साथै, उच्च प्रविधि भएका लोकतान्त्रिक मुलुकहरूबीच लगानी र नियमनलाई मिलाएर यसले अनुसन्धान र उत्पादनलाई गति दिन सक्छ ।

यस पहलअन्तर्गत प्रारम्भिक समूहमा जापान, दक्षिण कोरिया, सिंगापुर, अस्ट्रेलिया, नेदरल्यान्ड्स, बेलायत, संयुक्त अरब अमिरात (यूएई) र इजरायल जस्ता देशहरू रहेको अमेरिकाको विदेश मन्त्रालयको वेबसाइटले जनाएको छ । त्यस्तै ताइवान, युरोपेली संघ, क्यानडा र उन्नत अर्थतन्त्र भएका ओईसीडी मुलुकले बाहिरबाट योगदान गरेका छन् । तर, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देशका पश्चिमी साझेदारहरूलाई बारम्बार अपमानित गर्दै आइरहेको स्थितिमा यो पहल कत्तिको प्रभावकारी रहनेछ भनी शंका गर्न सकिन्छ ।

लोकतान्त्रिक र अमेरिकाले साझेदार बनाउन खोजेको मुलुक भए पनि यस पहलमा भारतलाई किन नसमेटिएको होला भनी आश्चर्य मानिएको छ ।

एआईमा द्रुत विकास गर्न खोजेको र चीनमा आश्रित आपूर्ति शृंखलाबाट विविधीकरण गर्न प्रयास गरिरहेको भारतलाई यस पहलमा नराखिँदा भारतभित्र तीखो आलोचना भएको छ । विपक्षी कांग्रेस पार्टीले ट्रम्प र मोदीको सम्बन्ध चिसिएकाले भारत प्याक्स सिलिकामा नपरेको भन्दै सरकारको आलोचना गरेको छ ।

भारतलाई यस पहलमा नराखिनुमा केही व्यावहारिक र राजनीतिक कारणहरू हुन सक्ने विश्लेषकहरू औंल्याउँछन् । मुख्य कुरा त, भारतको प्रविधि र औद्योगिक उपस्थिति उन्नत छैन । यस पहलमा प्रारम्भिक रूपमा जोडिएका सदस्य मुलुकहरू उन्नत सेमिकन्डक्टर डिजाइन, निर्माण र एआई हार्डवेयर आपूर्ति शृंखलामा गहिरो रूपमा एकीकृत भइसकेका छन् । तीमध्ये कतिपय मुलुकमा ठूला कारखाना (फ्याब), चिप उपकरण निर्माताहरू वा खनिज पदार्थ प्रशोधन क्षमताहरू छन् ।

भारतसँग आईटी र एआई सेवाहरूमा तीव्र वृद्धिको बलियो महत्त्वाकांक्षा भएतापनि उन्नत चिप निर्माण र ठूलो स्तरको खनिज प्रशोधनमा ऊ अझै पछाडि छ । अमेरिकाले तत्काल भौतिक आपूर्ति शृंखला परियोजनाहरूमा जोडिन सक्ने साझेदारहरू रोजेकाले भारतलाई अहिलेका लागि नजोडेको हुन सक्छ ।

अहिले व्यापारयुद्धका कारण भारत र अमेरिकाबीच कूटनीतिक चिसोपन आएकाले पनि प्याक्स सिलिकामा भारतलाई नराखिएको हुन सक्छ । द्विपक्षीय सम्बन्धमा देखिएको तनावका साथै अमेरिकाले सुरुमा सानो र अत्यन्तै विश्वसनीय समूह बनाउने सोच बनाएकाले यसमा भूमिका खेलेको हुन सक्छ । भारतीय विश्लेषक र विपक्षी दलहरूले यस बहिष्करणलाई कूटनीतिक अपमानको रूपमा व्याख्या गरेका छन् भने अमेरिकी अधिकारीहरूले यस पहललाई विशेष रूपमा पूरक प्रविधिहरू भएका विश्वसनीय साझेदारहरूको सम्झौताको रूपमा प्रस्तुत गरेका छन् ।

हुन त कहिलेकाहीँ गठबन्धनहरू छिटो काम थाल्नका लागि सानो स्तरबाट सुरु हुने गर्छन् र पछि विस्तार हुन्छन् । अमेरिकाले भविष्यमा भारत सहितका थप देशहरूलाई पनि समावेश गर्ने मनसाय राखेको हुन सक्छ । तर, सुरुमा आवश्यक आपूर्ति शृंखलाका हिस्सा भएका देशहरूको मुख्य समूह मात्र बनाउने अमेरिकाको सोच हुन सक्छ । त्यसो त, अमेरिकाले भविष्यमा थप सदस्यहरू जोड्न खोजिरहेको कुरा धेरै सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्याक्स सिलिका बलियो बन्दै गएमा चीनले मित्रराष्ट्रहरूलाई आफ्नो आपूर्ति नेटवर्कमा जोडिन र चिनियाँ प्राविधिक मापदण्डहरू प्रवर्धन गर्न आफ्ना प्रयासहरू दोब्बर पार्ने सम्भावना छ

अमेरिकाले साझेदारहरूसँग भविष्योन्मुख प्रविधिमा साझेदारी गरिरहँदा उसका प्रतिस्पर्धी रुस र चीनले के गर्लान् भनी धेरैले चासो देखाउनु स्वाभाविक हो । ती दुई शक्तिराष्ट्रले यस्तै प्रयास गरेनन् भने त्यो आश्चर्यको कुरा हुनेछ । चीनले कच्चा पदार्थ सुरक्षित गर्न, उत्पादन क्षमता निर्माण गर्न र प्राविधिक प्रभाव विस्तार गर्न लामो समयदेखि औद्योगिक रणनीतिहरू सञ्चालन गर्दै आएको छ । जस्तो, राज्य–निर्देशित ठूलो लगानी, बेल्ट एन्ड रोड परियोजना अन्तर्गत डिजिटल सिल्क रोड र अन्तर्राष्ट्रिय सम्झौताहरूमा चीनले जोड दिइरहेको छ ।

प्याक्स सिलिका बलियो बन्दै गएमा चीनले मित्रराष्ट्रहरूलाई आफ्नो आपूर्ति नेटवर्कमा जोडिन र चिनियाँ प्राविधिक मापदण्डहरू प्रवर्धन गर्न आफ्ना प्रयासहरू दोब्बर पार्ने सम्भावना छ । चीनको सरकारी सञ्चारमाध्यमले प्याक्स सिलिकालाई चीनको घेराबन्दी गर्ने प्रयासको रूपमा व्याख्या गरिसकेको छ ।

उता, रुसका विकल्पहरू भने सीमित छन् । रुससँग खनिज स्रोतहरू र प्राविधिक सम्पत्तिहरू छन् । तर, व्यापक प्रतिबन्ध र उन्नत चिप निर्माण समुदायहरूसँगको कमजोर औद्योगिक सम्बन्धले गर्दा रुसलाई सेमिकन्डक्टर र एआई हार्डवेयरमा केन्द्रित प्याक्स सिलिका शैलीको गठबन्धनको विश्वसनीय विकल्प खडा गर्न गाह्रो छ ।

तथापि रुसले समानान्तर च्यानलहरू सिर्जना गर्न चीन र अन्य साझेदारहरूसँग प्राविधिक सम्बन्धलाई गहिरो बनाउन सक्छ । रुसले भारतसँग एआई, साइबरसिक्योरिटी, माइक्रोइलेक्ट्रोनिक्स लगायतमा सहकार्य गर्न खोजिरहेको पनि छ ।

वास्तवमा प्याक्स सिलिका विश्वव्यापी प्राविधिक प्रतिस्पर्धाको रणनीतिक प्रतिक्रिया हो । यसका स्पष्ट भूराजनीतिक संकेतहरू छन् । चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले प्याक्स सिनिका जस्तो सुनिने पहल थाल्नुमा भूराजनीकि सन्देश लुकेको छ । चीन उच्च प्रविधिका आपूर्ति शृंखलाहरूको महत्त्वपूर्ण केन्द्र रहेको अवस्थामा वैकल्पिक व्यवस्था प्रस्ताव गर्ने अमेरिकी चाहनाको संकेत प्याक्स सिलिकाले दिएको छ ।

आर्थिक नीतिहरूले राष्ट्रिय सुरक्षाको जस्तो भाषा अपनाउँदा प्रतिस्पर्धा तीव्र हुन पुग्छ । निर्यात नियन्त्रण, लगानी जाँच र औद्योगिक अनुदानहरू भूराजनीतिक प्रतिस्पर्धाका साधन बन्न पुग्छन् । त्यसैले प्याक्स सिलिकालाई अमेरिका र चीनबीचको फराकिलो रणनीतिक प्रतिस्पर्धाको एक हिस्सा मान्न सकिन्छ । प्रतिस्पर्धाका लागि साझेदारहरूबीचको साझा समस्याहरूमा सहकार्य आवश्यक हुन्छ । त्यसक्रममा उनीहरूले आर्थिक र प्राविधिक उपकरणहरूलाई लाभ हासिल गर्ने साधनको रूपमा उपयोग गर्नेछन् ।

अमेरिकाको यस पहलमा अन्य उदीयमान राष्ट्रहरू पनि जोडिने हो भने चिप उत्पादन र खनिज प्रशोधनका लागि राष्ट्रिय क्षमता निर्माण गर्ने, विश्वसनीय औद्योगिक साझेदारीलाई गहिरो बनाउने र गहिरो सुरक्षा तथा आर्थिक सहयोगलाई अवरोध गर्न सक्ने राजनीतिक तनावहरू समाधान गर्ने उपाय अपनाउनुपर्ने विश्लेषकहरू बताउँछन् ।

प्याक्स सिलिका आधुनिक विश्व सञ्चालन गर्ने हार्डवेयरका लागि एउटै प्रमुख आपूर्तिकर्तामाथिको निर्भरता हटाउन र रणनीतिक कमजोरी घटाउन अमेरिका र समान विचारधारा भएका साझेदारहरूले गरेको प्रयास हो । यसले साझेदारहरूलाई महत्त्वपूर्ण उद्योगहरूको संरक्षण गर्न र एआई तथा सेमिकन्डक्टरका लागि मापदण्डहरू तय गर्न मद्दत गर्नेछ ।

तर, यसले अमेरिकाका प्रतिस्पर्धीलाई पनि तिखार्नेछ । बेइजिङले आफ्ना आर्थिक उपकरणहरू मार्फत अमेरिकाको पहलको जवाफ दिने अपेक्षा गर्न सकिन्छ ।

जलविद्युत् तथा हिमाली वातावरण पनि नेपालका मजबुत पक्षहरू हुन् । एआई र चिप सम्बन्धी पूर्वाधारहरूले ठूलो मात्रामा बिजुली खपत गर्छन् । नेपालसँग प्रशस्त जलविद्युत्, वर्षायाममा अतिरिक्त बिजुली र हरित ऊर्जा निर्यातको दीर्घकालीन सम्भावना छ

नेपालले पनि अमेरिकाको यस पहलबाट लाभ लिनका लागि प्रयास गर्न सक्छ । नेपालमा लिथियम, तामा, ग्रेफाइट र दुर्लभ खजिन पदार्थको भण्डार छ यद्यपि यिनको अझै पर्याप्त अन्वेषण हुन बाँकी छ । प्याक्स सिलिकामा आबद्ध देशहरू चीनमाथिको निर्भरता कम गर्ने उद्देश्यका साथ खनिज स्रोतहरू विविधीकरण गर्न सक्रिय रूपमा लागिपरेको अवस्थामा नेपालले जापान, दक्षिण कोरिया, अस्ट्रेलिया वा अमेरिकाका कम्पनीहरूलाई पारदर्शी सम्झौता अन्तर्गत खनिज अन्वेषण र प्रशोधन गर्नका लागि आमन्त्रण गर्न सक्छ ।

रातारात ठूला खानी सञ्चालन गर्ने त्यसको अर्थ होइन । नेपालले तत्कालका लागि सर्वेक्षण, म्यापिङ र पाइलट प्रोजेक्टहरू सुरु गर्न सक्छ । सम्भावित खनिजमा पहुँच मात्रै हुँदा पनि नेपालको रणनीतिक महत्त्व बढ्नेछ ।

प्याक्स सिलिका हार्डवेयरमा मात्र सीमित छैन । यसलाई सफ्टवेयर परीक्षण, एआई डाटा लेबलिङ, साइबर सुरक्षा सेवाहरू, ब्याक–इन्ड आईटी सञ्चालन, क्लाउड र कम्प्लायन्स सेवाहरू पनि आवश्यक पर्छन् । नेपालसँग युवा अंग्रेजीभाषी जनशक्ति र बढ्दो आईटी आउटसोर्सिङ गन्तव्यका साथै भारत र दक्षिणपूर्वी एसियाको तुलनामा कम लागतको जनशक्ति छ । त्यसैको बलमा नेपालले विश्वसनीय डिजिटल सेवा साझेदारका रूपमा आफूलाई ब्रान्डिङ गर्न सक्छ । त्यसैगरी डेटा सुरक्षा र साइबर कानूनहरूलाई अमेरिका र युरोपको मापदण्डको स्तरमा लगेर नेपालले चीनबाट स्थानान्तरण गर्न खोजेका पश्चिमा कम्पनीहरूलाई प्रोत्साहन दिन सक्छ ।

जलविद्युत् तथा हिमाली वातावरण पनि नेपालका मजबुत पक्षहरू हुन् । एआई र चिप सम्बन्धी पूर्वाधारहरूले ठूलो मात्रामा बिजुली खपत गर्छन् । नेपालसँग प्रशस्त जलविद्युत्, वर्षायाममा अतिरिक्त बिजुली र हरित ऊर्जा निर्यातको दीर्घकालीन सम्भावना छ । जलविद्युतको उपयोगले कार्बन उत्सर्जन पनि सीमामा रहन्छ । त्यसैगरी नेपालको उच्च पहाडी र हिमाली क्षेत्रहरूको अत्यधिक तातिने डेटा सेन्टरहरू राख्नका लागि उपयुक्त स्थल हुन् ।

खासमा प्याक्स सिलिका राष्ट्रहरू कार्बन उत्सर्जन घटाउने र स्वच्छ एवं भरपर्दो ऊर्जा सुरक्षित गर्ने दबाबमा छन् । यस अवस्थामा नेपाललाई न्यून मात्राको कार्बन ऊर्जा गन्तव्यका रूपमा बजार प्रवर्धन गर्न सकिन्छ । डेटा सेन्टर, क्लाउड ब्याकअप सुविधा र क्षेत्रीय स्तरका एआई मोडल तालिम केन्द्रहरू बनाएर नेपालले प्याक्स सिलिका लगायतका पहलबाट लाभ लिन सक्छ ।