
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा ‘सल्लाह’ भएको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमार्फत ‘षड्यन्त्रको नयाँ खेल’ चलिरहेको टिप्पणी गरेका छन् ।
दुई दिनअघि पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भएको वार्तामा ओलीविरुद्ध कदम चाल्ने विषयमा छलफल भएको रहस्य बाहिरिएको दाबी उनले गरेका छन् ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ,’ बस्नेतले भनेका छन् ।
बुधबारको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ,’ भनेको यो पनि षड्यन्त्र भएको उनको भनाइ छ ।
उनले जेनजी समूहको नाममा वार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम, ‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायल लगायतका सबै कुरा एउटै दिशातिर संकेत गर्ने उनको भनाइ छ ।
‘उनीहरूको उद्देश्य हो: महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने,’ उनले भनेका छन्,’तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ ।’
अध्यक्ष ओलीलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल नहुने उनको भनाइ छ । ‘तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ। अब सशक्त प्रतिरोध हुनेछ, र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ,’ उनले भनेका छन् ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच विवाद छ । भण्डारीले एमालेमा फर्कन खोजे पनि ओलीले उनको सदस्यता नवीकरणलाई रोकेका छन् ।
भण्डारीले एमालेको आगामी अध्यक्षमा ईश्वर पोखरेललाई समर्थन गरेकी छन् ।







प्रतिक्रिया