
काठमाडौं । पछिल्लो समय दैनिकजसो पैसासँग जोडिएका अपराधका घट्नाहरू सार्वजनिक हुन थालेका छन् । पहिले-पहिले पैसा ठगिएको मात्र समाचार आउँथे, हिजोआज पैसाका कारण हत्यासम्म हुने गरेका सुनिन्छ । र, यी समाचार सामान्य जस्तै लाग्न थालिसकेको छ ।
पैसाबाट सुरू भएको विवाद वादविवाद हुँदै हत्यामा गएर टुंगिन थालेको छ । पैसा अभावकै कारण प्रहरी अधिकारीले आफ्नो दुधे बालकको समेत हत्या गरेको तथ्य पुरानो होइन ।
५ सय रूपैयाँ ऋण नतिरेको भन्दै जुत्ताको तुनाले बाँधेर हत्या गरेको वा उपचार गर्दा गर्दा पैसा सकिएपछि प्रहरीका असईले चक्कुले घाँटी काटेर ४ महिने छोरोलाई मारेको उदाहरण हेर्ने हो भने अपराधको एउटा कारण पैसा नै हो भन्ने सजिलै निर्क्योल निकाल्न सकिन्छ ।
घटना १
आइतबार दिउँसो करिब साढे ३ बजेतिर २९ वर्षीय असई पुष्कर कार्कीले चार महिने छोरा माहिर कार्कीको हत्या गरे । प्रहरी अधिकारीका अनुसार माहिर बिरामी थिए । छोरा माहिर कार्कीलाई ब्रेन हेमरेज भएको थियो ।
पुष्कारले छोराको उपचारमा ७/८ लाख रुपैयाँ खर्च समेत गरिसकेका थिए । उपचारका लागि थुप्रै खर्च गरिसके पनि उपचार पूरा हुन सकेन । लाखौं खर्च गर्दा पनि जीवनभर बिमारी नै हुने देखिए ।
‘बच्चालाई ब्रेन हेमरेज भएको रहेछ । त्यही बेलामा एक पटक उपचार गराइसकेको हो। अपरेशन नै भएको पनि देखियो । धेरै पैसा खर्च गरिसक्दा छोराको सन्चो हुन नसकेकाले उनले हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।
उपचार र खर्चकै कारण असई कार्की र उनकी श्रीमतीबीच हत्या भएको दिन बिहान विवाद भएको थियो ।
घटना २
काठमाडौंमै गत कात्तिक २७ मा गोंगबु बसपार्क नजिकै एक महिलाको शव फेला पर्यो । केही दिनपछि त्यो शव माया मगरको रहेको खुल्यो ।
कालो प्लास्टिक र तन्नाले बेरेको अवस्थामा बेवारिस शव फेला परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । त्यसपछि पक्राउ परे २४ वर्षीय सूर्य थापा मगर ।
५ सय रुपैयाँ लेनदेनको विवादकै कारण ती महिलाको हत्या भएको थियो । ब्राउन सुगर किन्न दिएको पैसा सुर्यले माग्दा पाएनन्
तर, मायाले दिन्न र छैन भनेपछि वादविवाद भयो । सूर्यले जुत्ताको तुनाले घाटीमा बाँधेर पैसा नपाएको झोंकमा मायालाई लडाइ दुई मुक्का घाँटीमा हानेर हत्या गरेका थिए ।
घटना ३
पाल्पामा कात्तिक ३ गते जुवा खेल्न पैसा सापटी नदिएको रिसमा कुटपिट गर्दा माथागढी गाउँपालिका वडा ४ देउगीरमा जुवा खेल्न पैसा सापटी नदिएको भन्दै ७६ वर्षीय फुलमाया जिसीको हत्या भयो ।
माथा गढी गाउँपालिका वडा नं. ४ झडेवाका ३७ वर्षीय मीन बहादुर विश्वकर्माले कुटपिट गरी जिसीको हत्या गरे । देउगीरमा जुवा खेल्दा हारेपछि वृद्ध दम्पतीसँग पैसा सापटी मागेका थिए ।
जिसी दम्पतीले पैसा नदिएपछि विश्वकर्माले नजिकै रहेको हँसियाले प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी फुलमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
अनुसन्धान गम्भीर ढंगले गर्छौं
पैसाको कारण हत्या बढिरहनुलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले आर्थिक कारोबार गरेको कारणले हत्या हुनुलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताए । ‘समाजमा यस्ता घट्नाहरू घटिसकेपछि यसका पछाडि के-कस्ता कारणहरू हुन सक्छन् ? त्यसको सूक्ष्म रुपमा अनुसन्धान गर्छौं,’ उनले भने ।
अनुसन्धान गर्न प्रहरीले कुनै पनि कसुर बाँकी नराख्ने गरेको प्रवक्ता काफ्लेले बताए । ‘हत्या भएका व्यक्तिहरू तथा शंका लागेका मानिसहरूको आर्थिक, सामाजिक र भौतिक गतिविधिलाई सूक्ष्म ढंगले अनुसन्धान गर्ने गरेका छौं,’ उनले अगाडि थपे, ‘पैसा मानिसका जीवनका लागि अभिन्न अंग बनेकाले गर्दा होला यसमा बढी झुकाव पाइएको छ ।’
व्यक्ति पैसामुखी बन्दा समाज कुरुप बन्यो
पैसाको कारण अपराध बढ्नुमा वरिष्ठ पत्रकार तीर्थ कोइराला मानिसहरूले पैसालाई धेरै प्राथमिकतामा राख्दा समाजमा हत्याको श्रृङ्खला बढिरहेको बताउँछन् । ‘परम्परागत समाज आधुनिकीरणतर्फ बढेकाले समाज र मानिस पैसामुखी बनिरहेको छ,’ कोइरालाले भने, ‘समाजमा नैतिकता हरायो । समाज संस्कारविहीन बन्यो । शिक्षा तथा संस्कारको अभाव हुँदा पैसाले समाजलाई अपराधीकरणतर्फ डोर्याएकाले समाज कुरुप बन्यो ।’
दायित्त्वसहितको समाज भएमा र दायित्त्वबहन गर्ने व्यक्तिहरू समाजमा बढे आपराधिक घट्ना कम हुने कोइरालाको बुझाइ छ । रोजगारी पर्याप्त मात्रामा नहुँदा पनि मानिसहरू अपराधीकरणतर्फ जाने गरेको हुन सक्ने उनको बुझाइ छ । उनले आम्दानीको स्रोत नहुँदा हत्याको घट्ना बढ्न थालेको उनी बताउँछन् ।
समाजलाई सभ्य र नैतिकवान बनाएमा आपराधिक घट्ना कम भएर जाने कोइरालाले उल्लेख गरे । ‘पैसाकै कारण मानिसहरू डर लाग्दो अपराध गर्न लालयित हुन्छन्,’ उनी भन्छन् ।
समाजमा सहनशीलता हराउँदा हत्या बढ्दै
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी समाजमा सहनशीलता हराउँदै गएकाले हत्याका घटना बढिरहेको बताउँछन् । ‘मानिसहरूमा अरुका कुरा तथा दुःखहरू सुन्न नसक्दा अपराधको घटना बढिरहेको छ,’ उनले भने, ‘मानिसमा सहन गर्ने क्षमता ह्रास हुँदै गएको छ । धैर्यता गुमाउँदा समाजले दण्डहिनताको उपहार मात्र पाउने गर्छ ।’
नैतिकता र सभ्यता गुमाएको समाजले सधैं पैसालाई प्राथमिकतामा राख्ने गरेको डीआइजी मल्लको बुझाइ छ । ‘सभ्य समाजले पैसा भन्दा पनि आफूले गर्नुपर्ने जिम्मेवारीलाई अगाडि राखेर काम गर्ने गरेको छ,’ उनले अगाडि थपे ।
राज्यले अपराध न्यूनीकरण गर्न अनुसन्धान गर्नुपर्ने मल्लले सुझाए । ‘सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ । सामाजिक सञ्जालमा देखिएको गतिविधिकै कारण मानिसहरू छिटो रिसाउँने गरेका छन्,’ उनी भन्छन्, ‘कानुनले पनि सहजीकरण गरिदिनुपर्छ । कतिपय कानुन पैसाको मामलामा बढी झन्झटिलो छ । पैसाका मुद्दाहरू प्रहरीले हेर्दैनन् । पैसाका मुद्दाहरू प्रहरीको पुग्दा मिल्छ भने त्यहीँ मिल्ने वातावरण बन्नुपर्छ ।’







प्रतिक्रिया