
एजेन्सी । अमेरिका र युक्रेनका वार्ताकारहरूबीच रुससँगको प्रस्तावित शान्ति सम्झौताबारे भएको वार्ता मायामीमा सकिएको छ ।
युक्रेनी अधिकारीहरूको भनाइ अनुसार, वार्तामा धेरै नयाँ प्रगति भएन । सुरक्षा प्रत्याभूति तथा भूभाग सम्बन्धी प्रश्नहरू अझै अनिश्चित छन् ।
वार्ता सकिएपछि क्रेमलिनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नयाँ सुरक्षा रणनीतिको स्वागत गरेको छ । यसले विगतका अमेरिकी प्रशासनहरूले उपयोग गर्दै आएको रुस अमेरिकाको लागि खतरा हो भन्ने भाषालाई हटाएको छ ।
मायामी बैठक बिहीबारबाट सुरु भएको थियो । त्यसमा अमेरिकाका विशेषदूत स्टिभ विट्कोफ, राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर तथा युक्रेनी अधिकारी रुस्तम उमेरोभ र एन्ड्री ह्नातोभ सहभागी थिए ।
तीन दिनको छलफलपछि पनि कठिन विषयहरू बाँकी रहेको अमेरिकास्थित युक्रेनी राजदूत ओल्गा स्टेफानिशिनाले शनिबार भनिन् । तर, दुवै पक्षले यथार्थवादी र स्वीकार्य समाधान तयार गर्न काम गरिरहेको उनको भनाइ छ ।
‘हालको मुख्य चुनौती भूभाग र सुरक्षा ग्यारेन्टीका प्रश्नहरूमा केन्द्रित छन् र हामी तिनको समाधान गर्न उपयुक्त विकल्प खोज्दैछौं,’ उनले भनिन्, ‘सबै जानकारी संकलन भएपछि थप विवरण दिइनेछ ।’
भूभाग र सुरक्षा ग्यारेन्टी सम्भावित कुनै पनि सम्झौताका लागि धेरै समयदेखि विवादको विषय रहेका छन् । युक्रेनले युद्धको न्यायपूर्ण अन्त्यका लागि विश्वसनीय सुरक्षा ग्यारेन्टी आवश्यक हुने र रूसलाई थप भूभाग सुम्पनु नपर्ने मत राखेको छ ।
वार्ता सुरु हुँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा थिए । त्यहाँ उनले पत्रकारहरूसँग कुराकानी गर्दै रुसले जुनसुकै माध्यम अपनाएर भए पनि युक्रेनको पूर्वी दोनेत्स्क (डोनबास) क्षेत्र कब्जा गर्ने लक्ष्य राखेको बताएका थिए ।
मायामी वार्ताभन्दा अघि कुशनर र विट्कोफले मस्को भ्रमण गरेका थिए । अमेरिकी टोलीले पुटिनसँग धेरै राम्रो बैठक गरेको ट्रम्पले बुधबार बताएका थिए । रुसका राष्ट्रपति युद्ध अन्त्य गर्न चाहन्छन् भनी वार्ता टोलीले विश्वास गरेको ट्रम्पको भनाइ छ । तर, उक्त वार्ताले ठोस प्रगति गर्न सकेन ।
शनिबार सामाजिक सञ्जालमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विट्कोफ र कुशनरसँग तथा मायामीमा रहेका आफ्नो टोलीसँग लामो र रचनात्मक फोन वार्ता गरेको जानकारी दिएका छन् ।
‘हामीले धेरै विषयमा छलफल गर्यौं र कतिपय मुख्य बुँदा अघि बढायौं । त्यसले रक्तपात अन्त्य गर्न र रुसको नयाँ ठूला आक्रमणको जोखिम हटाउन मद्दत पुर्याउन सक्छ,’ उनले भने, ‘हामीले अमेरिकासँगका वार्ताका आगामी चरण र स्वरूपमा सहमति जनाएका छौं ।’
फोनमा रुसले विगतमा बारम्बार गरेको जस्तै, आफ्ना वाचा तोड्ने जोखिमबारे पनि कुरा भएको उनले बताए ।
जेलेन्स्कीले ह्नातोभ र उमेरोभले वार्ताबारे आफूलाई विस्तृत रूपमा प्रत्यक्ष रिपोर्ट दिने अपेक्षा रहेको बताए ।
शान्ति र त्यसका शर्तहरू सोमबार लन्डनमा जेलेन्स्की तथा फ्रान्स, बेलायत र जर्मनीका नेताहरूबीच हुने बैठकको मुख्य विषय हुनेछ । ‘अमेरिकी मध्यस्थताको ढाँचामा भइरहेका वार्ता र अवस्थाबारे छलफल हुनेछ,’ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले शनिबार बताए ।







प्रतिक्रिया