
काठमाडौं । जनेजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गरेको लुटपाट, तोडफोड र आगजनीपछि ध्वस्त भाटभटेनी सुपरमार्केटको बालुवाटारस्थित मुख्य गोदाम निर्माण सुरू भएको ७० दिनमा आजदेखि पुनः सञ्चालनमा आयो ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङको आत्मविश्वास र देशमा केही गरूँ भन्ने भावना बिहीबार रूद्री पुजा गरेर उद्घाटन भएको गोदाममा प्रतिबिम्बित भएको देखिन्छ ।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा सबैभन्दा बढी क्षति भाटभटेनी सुपरमार्केटले बेहोर्यो । तर, मंसिर १८ गते विध्वंसको सबै पिडा भुलेर भाटभटेनीको गोदाम सञ्चालनमा आएको छ ।
बालुवाटारमा रहेको भाटभटेनीको मुख्य गोदाम भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले खरानीमाथि टेकेर पुननिर्माण सुरू भएको ७० दिनमा तयार पारेका हुन् ।
गुरूङले द्रुत गतिमा गरेको काम निजी क्षेत्रका लागि प्रेरणा बनेको छ । हो, जेनजी आन्दोलनले मनोवल कमजोर बनाएको निजी क्षेत्रको एक धरोहर मिनबहादुर भन्छन्, ‘मैले भदौ २४ गतेको घटना चटक्कै बिर्सिसकें । त्यो दिन बिर्सनु नै सबैभन्दा ठूलो आत्मबल हो ।’
आन्दोलनको क्रममा भाटभटेनीका १२ स्टोरमा पूर्णरुपमा क्षती पुग्यो । १२ अर्ब रुपैयाँ बराबरको क्षति भयो । गुरूङले अबको केही महिनाभित्र मै काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने बताएका छन् ।
मिनबहादुरले ७० दिनमै गोदाम तयार पारेर निजी क्षेत्रलाई अर्को एउटा सन्देश पनि दिएका छन् । त्यो हो, ‘व्यवसायमा जस्तोसुकै ठूलो क्षति वा विपत्ति आइलागे पनि पीडा र संकटलाई बिर्सनका लागि पहिलेभन्दा अझ कडा मेहनत गर्नुपर्छ । निजी क्षेत्रले केवल परम्परागत व्यापार मात्र नगरी समाजलाई आधुनिकता र उच्चतम तहतर्फ लैजान ‘सोसाइटी ट्रान्सफर्मेसन’ मा सृजनशील भूमिका खेल्नुपर्छ ।’










प्रतिक्रिया