भारतका अन्तरिक्ष वैज्ञानिकहरूले पत्ता लगाए विशाल आकाशगंगा

98
Shares

एजेन्सी । ब्रह्माण्ड केवल १.५ अर्ब वर्षको हुँदा अस्तित्वमा रहेको एक विशाल आकाशगंगाको खोजेको गरेको भारतका खगोलविद्हरूले दाबी गरेका छन् ।

उनीहरूको खोजले बिग ब्याङपछि अन्तरिक्ष सुरु भएको प्रारम्भिक समयमा आकाशगंगाहरू कसरी बने भन्ने हाम्रो बुझाइलाई चुनौती दिएको छ ।

सिधै भन्नुपर्दा ब्रह्माण्ड १३.८ अर्ब वर्ष पुरानो छ भने यसको अर्थ हामीले आज देखिरहेको आकाशगंगा १२ अर्ब वर्षअगाडिको हो । त्यतिखेर ब्रह्माण्ड अहिलेको उमेरको दशौं भाग मात्र थियो ।

यति चाँडै बनेका आकाशगंगाहरू प्रायः अनियमित आकारका र अव्यवस्थित हुने गर्थे भनी वैज्ञानिकहरू बताउँछन् ।

तर, अनुसन्धाता राशी जैन र योगेश वडादेकरले जेम्स वेब स्पेस टेलिस्कोप प्रयोग गरी प्रारम्भिक ब्रह्माण्डलाई नियाल्दा पूर्णरूपमा विकसित एक सर्पाकार आकाशगंगा देखे । त्यो एक विशाल र सुन्दर संरचना भएको ब्रह्माण्ड भएको उनीहरूको भनाइ छ ।

उनीहरूको अनुसन्धान नोभेम्बर महिनामा युरोपको प्रमुख जर्नल एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ ।

‘यो आकाशगंगा हाम्रो आफ्नै मिल्की वे जस्तै देखिन्छ यद्यपि यो ब्रह्माण्ड अहिलेको उमेरको १० प्रतिशत मात्र हुँदा अस्तित्वमा थियो,’ प्रा. वडादेकर भन्छन् । उनीहरूले यसको नाम हिमाली नदीको नाममा ‘अलकनन्दा’ राखेको उनले थपे ।

यो आकाशगङ्गा यस वर्षको आरम्भमा पुणेस्थित टाटा इन्स्टिट्युट अफ फन्डामेन्टल रिसर्चमा पीएचडी गरिरहेकी जैनले देखेकी थिइन् ।
अमेरिकी, युरोपेली र क्यानाडियन अन्तरिक्ष एजेन्सीहरूले संयुक्त रूपमा २०२१ मा प्रक्षेपण गरेको १० अर्ब डलरको टेलिस्कोप जेम्स वेबबाट प्राप्त डेटा र तस्वीर अध्ययन गर्दा यो आकाशगंगा भेटिएको र आफू धेरै उत्साहित भएको जैन बताउँछिन् ।

‘म ७० हजार वस्तुहरूको विवरण हेर्दैथिएँ र त्यसमध्ये एक मात्रलाई ‘ग्य्रान्ड डिजाइन’ सर्पाकार आकाशगंगा भनिन्छ । त्यसको व्यास झण्डै ३० हजार प्रकाश वर्ष थियो,’ उनी भन्छिन् ।

साधारण शब्दमा यसको अर्थ लगाउँदा त्यस आकाशगंगामा केन्द्रमा रहेको डिस्कबाट दुई बान्की मिलेका हातहरू उज्यालो केन्द्रबाट निस्किएको अवस्थामा रहेको उनी बताउँछिन् ।

‘हामीले ‘मोतीको माला’ जस्तै देखिने ढाँचा पनि देख्यौं । सर्पाकार हातहरूका वरिपरि ताराहरूका समूहहरू देखिएका थिए । त्यो अहिले देखिने सर्पाकार आकाशगंगाहरूमा देखिने संरचना जस्तै थियो,’ उनी भन्छिन् ।

उनले आफ्नो सुपरभाइजर प्रा. वडादेकरलाई यसबारे बताउँदा पत्याएनन् । ‘बिग ब्याङपछि मात्र १.५ अर्ब वर्षमै यति ठूलो र सर्पाकार हात भएका आकाशगंगा कसरी बन्न सक्छ ? यो आश्चर्यजनक छ,’ वडादेकरले बताए ।

‘यस आकाशगंगाले केही अर्ब वर्षमै १० अर्ब सूर्य बराबरका तारा बनाउनुपरेको थियो र एउटै समयमा ठूलो सर्पाकार हात भएको डिस्क पनि बनाउनुपर्यो । ब्रह्माण्डीय हिसाबले हेर्दा यो अत्यन्त छिटो विकास हो,’ उनी भन्छन् ।

नासाका अनुसार, ब्रह्माण्डमा एक सय अर्बजति आकाशगंगाहरू छन् र बिग ब्याङपछि केही करोड वर्षमै बन्न थालेका थिए ।

खगोलविद्हरू लामो समयदेखि त्यो समय अर्थात् ‘कस्मिक डन’ भनिने अवधिलाई अत्यन्त अव्यवस्थित मान्थे र त्यतिबेलाका आकाशगंगाहरू साना तथा कम द्रव्यमानका हुने विश्वास गर्थे ।

‘तर, यो आकाशगंगा त बिल्कुलै फरक छ,’ प्रा. वडादेकर भन्छन्, ‘यो विशाल छ, मिल्की वे को आकारको एकतिहाई जति र यसमा १० अर्ब तारा छन् । यसमा ताराहरू बनाउने दर मिल्की वे को अहिलेको दरभन्दा २०–३० गुणा बढी छ ।’

जेम्स वेब सञ्चालनमा आएपछि खगोलविद्हरूले नयाँ र अझ टाढाका आकाशगंगाहरू भेटिरहेका छन् ।

नासाले सुरुमा साझा गरेका तस्बिरहरूमा धेरै आकाशगंगाहरू रातो धब्बा जस्ता वा फिक्का दाग जस्ता रूपमै देखिन्थे ।

तर, पछिल्ला वर्षहरूमा वेबले सर्पाकार आकाशगंगा समेतका बढी जटिल संरचनाहरू खोजिरहेको छ । नयाँ आकाशगंगाको खोजले प्रारम्भिक ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै सृजनशील रहेको प्रमाण थपिदिएको छ ।

‘यति प्राचीन समयमा यति राम्रो संगठित सर्पाकार आकाशगंगा पाइनु दुर्लभ अपवाद हो तर यस्ता अपवादहरूले नै ब्रह्माण्डको प्रारम्भिक इतिहासबारे हाम्रो बुझाइलाई चुनौती दिन्छन्,’ जैन भन्छिन् ।

‘ब्रह्माण्ड सुरुमै अपेक्षाकृत परिपक्व थियो र जटिल संरचनाहरू हामीले सोचेभन्दा धेरै पहिले नै बनिरहेका थिए भन्ने कुरा यस आकाशगंगाले देखाउँछ,’ उनी थप्छिन् ।

तर, यस नयाँ आकाशगंगाबारेको जानकारी १२ अर्ब वर्षअघिको हो किनकि यसको प्रकाश हामीकहाँ आइपुग्न त्यति नै वर्ष लाग्यो ।
‘हामी प्रकाश आएकाले सुदूर विगत देख्न सक्छौं । एउटा आकाशगंगाको जीवनकाल विशाल हुनाले हामी सुरुदेखि अन्त्यसम्म देख्न सक्दैनौं । त्यसैले हामी तथ्यांकीय अध्ययन गर्छौं,’ जैन भन्छिन् ।

अनि प्रश्न उठ्छ ः अब यसको के अवस्था छ ? के यो अझै विद्यमान छ ? छ भने कस्तो रूप र आकारमा ?

‘मानिसहरूले यसका बारेमा मलाई सोध्दा म भन्छु– अर्काे १२ अर्ब वर्ष कुर्नुहोस्,’ प्रा. वडादेकर हाँस्दै भन्छन् ।

जेम्स वेब वा चिलीको आल्मा वेधशालाबाट थप अवलोकनका लागि प्रस्ताव दिने अनुसन्धाताहरू बताउँछन् । यो नयाँ आकाशगंगाले कसरी आफ्नो सर्पाकार हात बनायो भन्ने रहस्य बुझ्नका लागि उनीहरूले अवलोकनको प्रस्ताव राख्न खोजेका हुन् । उनीहरूको भनाइमा, हाम्रो वर्तमान र भविष्यका कुञ्जीहरू अतीतमै लुकेका छन् ।