अमेरिकाले गर्यो जी२० को पुनर्गठन : दक्षिण अफ्रिकालाई निकाल्यो, कसलाई भित्र्यायो ?

343
Shares

एजेन्सी । अमेरिकाले सन् २०२६ मा आयोजना हुने जी२० शिखर सम्मेलनको आयोजनाको तयारी गर्ने क्रममा नयाँ योजनाको घोषणा गरेको छ ।

यसअन्तर्गत अमेरिकाले पोल्यान्डलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै हालको जी२० अध्यक्ष देश दक्षिण अफ्रिकालाई बाहिर राखेको छ । दक्षिण अफ्रिकाले आफ्नो अध्यक्षताका क्रममा द्वेष, विभाजन र उग्र एजेन्डालाई प्राथमिकता दिएको अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आरोप लगाए ।

‘अमेरिका वेल्कम्स ए न्यु जी२०’ शीर्षक ब्लगपोस्टमा रुबियोले लेखेअनुसार, डिसेम्बर २०२६ मा फ्लोरिडाको मायामीमा हुने जी२० शिखर सम्मेलन अमेरिकाको २५०औँ वर्षगाँठसँगै आयोजना हुनेछ । अमेरिका सन् २००९ पछिपटक पहिलो पटक जी२० शिखर सम्मेलनको आतिथ्य गर्दैछ ।

रुबियोका अनुसार, नयाँ जी२० ले चारवटा वर्किङ ग्रुपमार्फत तीन मुख्य विषयहरूमा ध्यान केन्द्रित गर्नेछ । ती विषय हुन् : नियम कानूनको बोझ हटाउने, सस्तो तथा सुरक्षित ऊर्जासम्बन्धी आपूर्ति श्रृंखला खोल्ने र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधि विकास गर्ने ।

‘कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिबाट सञ्चालित परिवर्तनको अवस्थामा रहेको विश्व अर्थतन्त्रले हरित ऊर्जासम्बन्धी वैचारिक अडानहरू त्याग्दै जाँदा राष्ट्रपति मार्गदर्शन गर्न तयार छन्,’ रुबियोको पोस्टमा लेखिएको छ ।

पहिलो शेर्पा र फाइनान्स ट्य्राक बैठकहरू डिसेम्बर आगामी १५ र १६ मा वाशिङटनमा हुनेछन् र वर्षभर अन्य बैठकहरू जारी रहनेछन् ।
समावेशितालाई जोड दिँदै अमेरिकाले मित्र, छिमेकी र साझेदारहरूलाई आमन्त्रण गर्ने रुबियोको भनाइ छ । निम्तो गरिनेमा पोल्यान्ड पनि छ । रुबियोले पोल्यान्डलाई शीतयुद्धपछिको सफलताको उदाहरण भनेका छन् ।

‘पोल्यान्डको सफलता गुनासो नभई भविष्यप्रति केन्द्रित दृष्टिकोण नै उत्तम बाटो हो भन्ने प्रमाण हो । यसले अमेरिका र अमेरिकी कम्पनीहरूसँगको साझेदारीले कसरी साझा समृद्धि र विकास बढाउन सक्छ भन्ने देखाउँछ,’ उनले भने ।

सबैभन्दा ठूलो परिवर्तन भनेको दक्षिण अफ्रिकाको बहिष्करण हो । दक्षिण अफ्रिका हाल जी२० को अध्यक्ष छ । दक्षिण अफ्रिकाले रंगभेदपछिको सम्भावनालाई लगानी निरुत्साहित गर्ने पुनर्वितरणवादी नीति र जातीय कोटाहरूमार्फत विफल पारेको रुबियोले आरोप लगाए ।

‘दक्षिण अफ्रिका शीतयुद्धपछि बलिया संस्थान, उत्कृष्ट पूर्वाधार र विश्वव्यापी सद्भावसहित अघि बढेको थियो । उससँग विश्वकै मूल्यवान स्रोतहरू, उत्कृष्ट कृषि भूमि र महत्त्वपूर्ण समुद्री व्यापारमार्गको अवस्थिति थियो । र नेल्सन मन्डेलाजस्ता नेता थिए जसले मेलमिलाप र निजी क्षेत्रद्वारा निर्देशित आर्थिक विकास नै सबै नागरिकले समृद्ध हुने एकमात्र बाटो हो भनेर बुझेका थिए,’ रुबियोले लेखे ।

‘दुर्भाग्यवश, मन्डेलाका उत्तराधिकारीहरूले मेलमिलापलाई छाडेर पुनर्वितरणवादी नीतिहरू लागू गरे । त्यसले लगानीलाई निरुत्साहित गर्यो र दक्षिण अफ्रिकाका सबैभन्दा सक्षम नागरिकहरू विदेशतिर धकेलिए । जातीय कोटाहरूले निजी क्षेत्रलाई अशक्त बनायो जबकि भ्रष्टाचारले राज्यलाई टाट पल्टायो । जातीय गुनासोका आधारमा चलाइएको भारी नियामकीय व्यवस्थाले अर्थतन्त्र स्थिर रहँदा दक्षिण अफ्रिका विश्वका २० प्रमुख औद्योगिक अर्थतन्त्रहरूको दायराबाट बाहिरिएको तथ्यांक स्वयं बोल्दछन्,’ उनले थपे ।

उनले अफ्रिकन नेशनल कांग्रेस (एएनसी) नेतृत्वको सरकारलाई नागरिक र अमेरिकामाथि दोषारोपण गर्ने, अफ्रिकानर किसानहरूमाथि भइरहेको हिंसा सहने र इरान तथा हमास समर्थक जस्ता विरोधीहरूसँग नजिकिने गरेको आरोप लगाए ।
रुबियोका अनुसार, दक्षिण अफ्रिकाको जी२० अध्यक्षता अमेरिकाका सुझावहरू बेवास्ता गर्ने, वार्ता अवरुद्ध गर्ने र अमेरिकी अधिकारीहरूको व्यक्तिगत विवरण सार्वजनिक गर्ने जस्ता गतिविधिबाट बदनाम भएको थियो । उनीहरू जलवायु परिवर्तन, विविधता तथा समावेशीकरण र सहायता निर्भरतामा मात्र केन्द्रित भएको रुबियोले बताए ।

‘यी कारणले गर्दा राष्ट्रपति ट्रम्प र अमेरिकाले हाम्रो अध्यक्षताका क्रममा दक्षिण अफ्रिका सरकारलाई जी२० मा सहभागी गराउनेछैन । सद्भावपूर्ण असहमति स्वीकार्य छ तर बेइमानी वा विघटनकारी गतिविधि स्वीकार्य छैन,’ रुबियोले घोषणा गरे ।
दक्षिण अफ्रिकाले आफ्नो बिग्रिएको प्रणाली सुधार्ने कठिन निर्णयहरू गरेपछि मात्र पुनः स्वागत गरिने उनले उल्लेख गरे ।

पोस्टको अन्त्यमा अमेरिकाले दक्षिण अफ्रिकाका जनतालाई समर्थन गरेको तर उग्र एएनसी–नेतृत्व सरकारलाई नगरेको भन्दै दक्षिण अफ्रिका आवश्यक सुधारका लागि तयार भएपछि मात्र भविष्यमा जी२० प्रक्रियामा फर्किन सक्ने उल्लेख छ ।

ट्रम्प प्रशासनले राष्ट्रपति सिरिल रामाफोसाको नेतृत्वमा रहेको दक्षिण अफ्रिका सरकारलाई सन् २०२५ जी२० शिखर सम्मेलनको अध्यक्षताका सम्बन्धमा आलोचना गरेको र स् २०२६ सम्मेलनबाट बहिष्कारको घोषणा गरेको पहिलोपटक हैन ।

यसअघि ट्रम्पले दक्षिण अफ्रिकालाई सन् २०२६ को मायामी जी२० शिखर सम्मेलनमा निम्ता नपठाउने बताएका थिए । दक्षिण अफ्रिका सरकारले भयानक मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै उनले कडा आलोचना गरेका थिए ।

ट्रुथ सोसलमा उनले लेखे, ‘अमेरिका दक्षिण अफ्रिकामा भएको जी२० मा सहभागी भएन किनकि दक्षिण अफ्रिकी सरकारले अफ्रिकानरहरू तथा डच, फ्रेन्च र जर्मन मूलका अन्य बासिन्दाहरूले भोगिरहेको भयानक मानवअधिकार ज्यादतीलाई स्वीकार वा समाधान गर्न अस्वीकार गरेको छ ।’

‘सिधै भनौं भने उनीहरू गोरा मानिसलाई मारिरहेका छन् र उनीहरूका कम्पनीमा अनियमित रूपमा कब्जा गर्न दिइरहेका छन्,’ उनले थपे ।

पछि सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ट्रम्पले दक्षिण अफ्रिका सरकारलाई केही बासिन्दाले भोगेका भनिएका मानवअधिकार उल्लंघनको स्वीकारोक्ति नगरेको आरोप लगाए ।

अमेरिका यस वर्ष जोहानेसबर्गमा आयोजित जी२० शिखर सम्मेलनमा पनि सहभागी भएन ।

रामाफोसाले अमेरिकाको यस्तो कदमलाई दुर्भाग्यपूर्ण भन्दै आफू तथा आफ्नो प्रशासनले अमेरिका र दक्षिण अफ्रिकाको कूटनीतिक सम्बन्ध सुधार गर्न धेरै प्रयास गरे पनि ट्रम्पले दक्षिण अफ्रिकाबारेका गलत सूचना र विकृत कथनका आधारमा निरन्तर दण्डात्मक कदम चालेको आरोप लगाए ।