
एजेन्सी । गत साता परेको अविरल वर्षाका कारण इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड र मलेसियामा भीषण बाढीपहिरो आएपछि १४ सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ । यस विपत्तिले उक्त क्षेत्रमा रहेको गहिरो आर्थिक असमानता पनि उजागर गरेको छ ।
इन्डोनेसियामा सबैभन्दा ठूलो क्षति भएको छ । त्यहाँ कम्तीमा ७५३ जनाको मृत्यु भएको छ । त्यसपछि श्रीलंका ४६५ जनाको मृत्युका साथ दोस्रो स्थानमा छ । श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिशानायकेका अनुसार, देशमा मृतकको सटीक संख्या निर्धारण गर्न अझै समय लाग्छ । थाइल्यान्डमा १८५ र मलेसियामा ३ जनाको मृत्यु पुष्टि भएको छ ।
बुधबार उद्धार टोलीहरू अझै हजारभन्दा बढी हराइरहेका मानिसको खोजी गरिरहेका छन् । गाउँहरू हिलो तथा भग्नावशेषले पुरिएका अवस्थामा छन् । विद्युत् र दूरसञ्चार अवरोधका बीचमा टाढा रहेका बस्तीहरूमा पुग्न गाह्रो परिरहेको छ ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमबार एक विपदग्रस्त क्षेत्रको भ्रमण गर्दै पुनर्निर्माणका लागि सहयोग र समर्थनको प्रतिज्ञा गरेका छन् । तर, उनले श्रीलंकाका आफ्ना समकक्षीले गरेको जस्तै राष्ट्रिय आपतकाल घोषणा गरेका छैनन् वा अन्तर्राष्ट्रिय सहयोग मागेका छैनन् ।
गम्भीर रूपमा प्रभावित इन्डोनेसिया र थाइल्यान्ड दुवै मध्यम आय भएका र तुलनात्मक रूपमा उच्च वित्तीय क्षमतासहितका अर्थतन्त्र हुन् । विस्तृत उद्धार अभियान, सैन्य शक्ति तैनाथी र आकस्मिक कोष परिचालन गर्न उनीहरू सक्षम छन् । तर, श्रीलंका धेरै कठिन परिस्थितिमा छ ।
श्रीलंकाकी प्रधानमन्त्री हरिनी अमरासुरियाले गत साता कूटनीतिकर्मीहरूसँग भेट्दै राहत तथा पुनर्निर्माणमा सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।
गम्भीर आर्थिक संकटबाट निस्कने प्रयास गरिरहेको देशले सीमित स्रोत, विदेशी मुद्रा अभाव, कमजोर सार्वजनिक सेवा जस्ता कारणले ठूलो स्तरको विपद् व्यवस्थापन अत्यन्त कठिन बनेको छ । त्यसले बाह्य सहयोगमा निर्भरता बढाएको छ ।
सबैभन्दा प्रभावित इन्डोनेसियामा अधिकारीहरूले सुमात्रा टापुमा लगातार वर्षा र दुर्लभ उष्णकटिबन्धीय तूफानले गरेको विनाश सन् २०१८ को सुलावेसी भूकम्प र सुनामीपछि देखिएको सबैभन्दा घातक विपत्ति हो । त्यसमा परेर ४३ सयभन्दा बढी मानिस मारिएका थिए ।
डुबान र पहिरोले सडक बगाएको, पुल भत्किएको र निरन्तर पहिरो खसेकोले उद्धारकर्मीहरू सबैभन्दा प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार उत्तर सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तमा करिब ६५० व्यक्ति अझै हराइरहेका छन् । त्यहाँ हजारौं मानिस केही दिनअघि छत र रुखमा च्यापिएर उद्धारको प्रतीक्षा गर्न बाध्य भएका थिए ।
एजेन्सीका अनुसार, बुधबारसम्म बाढीपहिरोका कारण १५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र दसौं हजार घर तथा सार्वजनिक संरचना क्षतिग्रस्त भएका छन् । करिब २६ सय मानिस घाइते भएको र स्थानीय अस्पतालहरू भरिसकेको हुँदा सरकारले तीनवटा अस्पताल–जहाज प्रभावित क्षेत्रमा पठाएको छ ।
श्रीलंकामा बाढीले भर्खर अलिकति मात्र स्थिर भएको अर्थतन्त्रमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । देश हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को उद्धार कार्यक्रम अन्तर्गत छ । त्यसअनुसार उसले सन् २०२८ देखि सुरु हुने विदेशी कर्जाको भुक्तानीका लागि विदेशी मुद्रा संकलन गर्नुपर्छ ।
अहिले आर्थिक क्षतिको पूर्ण मूल्यांकन भइरहेको छैन । तर। संरचना पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना र आर्थिक गतिविधि पुनर्जीवित गर्नुपर्ने खर्चले कोषागारमा ठूलो दबाब पर्न लागेको छ ।
विशाल धानखेती क्षेत्र र तरकारीका मुख्य स्रोत पहाडी भूभाग दुवै नष्ट भएकाले श्रीलंका आफ्नो दुर्लभ विदेशी मुद्रा भण्डार खर्च गर्न बाध्य हुन सक्छ ।
भारत, पाकिस्तान र संयुक्त अरब अमिरात जस्ता देशहरूले पहिले नै राहत अभियान आरम्भ गरिसकेका छन् । श्रीलंकाका प्रधानमन्त्रीसँग भेटेका अन्य कूटनीतिकर्मीहरूले पनि थप सहयोगको प्रतिज्ञा गरेका छन् ।
थाइल्यान्डमा सरकारकी प्रवक्ता रचदा धनादिरेकले बुधबार दक्षिणी थाइल्यान्डमा पुनःस्थापना कार्यमा राम्रो प्रगति भइरहेको बताइन् । प्रभावित क्षेत्रहरूमध्ये अधिकांशमा पानी र बिजुली सेवा पुनःस्थापित भइसकेको उनले उल्लेख गरिन् ।
सरकारले बाढीपीडित १ लाख २० हजारभन्दा बढी परिवारलाई १ अर्ब भाट भन्दा बढी क्षतिपूर्ति वितरण गरिसकेको उनले थपिन् ।







प्रतिक्रिया