अमेरिका : टेनेसी राज्यमा रिपब्लिकन उम्मेदवारले जितेपछि ट्रम्पलाई राहत

91
Shares

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा मंगलबार भएको निर्वाचनमा रिपब्लिकन नेता म्याट भ्यान एप्स विजयी भएका छन् ।

यस परिणामले राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टीलाई आगामी वर्षको मध्यावधि चुनावअघि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रहेको साँघुरो बहुमत बलियो बनाउने अवसर प्राप्त भएको छ ।

टेनेसीको डिपार्टमेन्ट अफ जनरल सर्भिसेजका पूर्व आयुक्त भ्यान एप्सले डेमोक्रेटिक पार्टीका सांसद अफ्टिन बीनलाई हराएका छन् । भ्यान एप्सले जुलाईमा राजीनामा दिएका पूर्व सांसद मार्क ग्रीनको सिटमा जितेका हुन् । मध्य टेनेसीको यो जिल्लाले न्याशभिलका केही क्षेत्रलाई समेट्छ ।

ट्रम्पले सन् २०२४ को चुनावमा यस जिल्लामा २२ अंकको जीत हासिल गरेका थिए । ट्रम्प तथा ग्रीन दुवैले भ्यान एप्सलाई समर्थन गरेका थिए । एमर्सन कलेज पोलिङ/द हिलले गत हप्तामात्र सार्वजनिक गरेको सर्वेक्षणले यो प्रतिस्पर्धा कडा हुन सक्ने संकेत दिएको थियो ।

सप्ताहान्तपछि भएको यस ‘अफ–साइकल’ चुनावमा डेमोक्रेटले अप्रत्याशित जीत निकालेको भए रिपब्लिकनहरूको २१९–२१३ को बहुमत अझै घट्थ्यो ।

एउटा वक्तव्यमा भ्यान एप्सले ट्रम्पलाई अटल समर्थनका लागि धन्यवाद दिँदै राष्ट्रपति ट्रम्प पूर्णरूपमा आफ्नो पक्षमा रहेकाले सकारात्मक नतिजा आएको बताए । संसदमा आफू राष्ट्रपतिको पक्षमा पूर्ण रूपमा रहने उनको भनाइ छ ।

यो वर्ष फ्लोरिडा, भर्जिनिया र एरिजोनामा भएका चार विशेष संसदीय निर्वाचनहरूमा डेमोक्रेटहरूले सन् २०२४ को राष्ट्रपति चुनावमा आफ्नो दलका नतिजाभन्दा औसत १८ अंक बढीको राम्रो प्रदर्शन गरेका थिए ।

पार्टीले गत महिना नै भर्जिनियाको गभर्नर पद पनि फिर्ता ल्याएको थियो । क्यालिफोर्नियाली मतदाताहरूले राज्यको संसदीय नक्सा फेरबदल गरी आगामी वर्षको मध्यावधि चुनावअघि पाँचवटासम्म रिपब्लिकन सिट आफ्नो पक्षमा पार्न सक्ने अनुमान गरेका छन् ।

फेडेरल चुनाव फाइलिङ अनुसार, बीनले १२ नोभेम्बरसम्म भ्यान एप्सभन्दा झन्डै २ लाख ४० हजार डलर बढी संकलन गरेकी थिइन् । रिपब्लिकन र डेमोक्रेटिक सुपर प्याकहरूले पनि यो प्रतिस्पर्धामा लाखौं डलर लगानी गरेका थिए ।

रिपब्लिकनहरूले बीनलाई कट्टर वामपन्थीका रूपमा चित्रित गर्दै सन् २०२० मा उनले दिएका अघिल्ला अभिव्यक्तिहरूलाई उठाएका थिए । त्यसमा उनले प्रहरीको कोष कटौती गर्नुपर्छ भन्ने ट्वीटहरू गरेर पछि हटाएकी थिइन् ।

आउँदै गरेका विशेष चुनावहरूले आगामी महिनाहरूमा प्रतिनिधिसभामा रहेको साँघुरो शक्ति सन्तुलनलाई अझै असर पार्न सक्छ ।

रिपब्लिकन सांसद मार्जोरी टेलर ग्रीनले जनवरी ५ मा जर्जियाको सिट खाली गर्ने भएकी छन् । टेक्ससका मतदाताहरूले जनवरी ३१ मा भएको ‘रन–अफ’ मा मार्चमा निधन भएका सांसद साइलभेस्टर टर्नरको उत्तराधिकारी रोज्नेछन् र न्यु जर्सीका मतदाताहरूले अप्रिल १६ मा हालै निर्वाचित गभर्नर माईकी शेरेल (पूर्व डेमोक्रेटिक हाउस सदस्य) को उत्तराधिकारी चयन गर्नेछन् ।

सर्वेक्षणहरूले मतदाताहरू महँगो हुँदै गएको जीवनयापन, विशेष गरी बढ्दो स्वास्थ्य खर्चबारे चिन्तित रहेको देखाउँछन् । डेमोक्रेटहरूले संघीय निकायहरूको खर्च १ अक्टोबरदेखि नै सकिएपछि यस मुद्दामाथि ४३ दिन लामो सरकारी ‘शटडाउन’ गराए ।

अन्ततोगत्वा आठजना डेमोक्रेट सिनेटरहरूले रिपब्लिकनसँग मिलेर गतिरोध अन्त्य गर्न मतदान गरे । उनीहरूको समर्थनको बदलामा यस महिनाको अन्त्यतिर स्वास्थ्यसम्बन्धी विधेयकमाथि मतदान गरिने वाचा गरिएको छ । डेमोक्रेटहरू २ करोड ४० लाख मानिसका लागि वर्षको अन्त्यमा सकिन लागेका ‘अफोर्डेबल केयर एक्ट’का सब्सिडी विस्तार गर्न चाहन्छन् ।

रिपब्लिकन हाउस स्पीकर माइक जोनसनले एरिजोनाकी डेमोक्रेट अडेलिटा ग्रिजाल्भालाई १२ नोभेम्बरसम्म पद तथा गोपनीयता शपथ लिन नदिएको निर्णयले सभामा एउटा मतको पनि कति महत्त्व छ भन्ने देखायो । ग्रिजाल्भाले २३ सेप्टेम्बरमा भएको विशेष निर्वाचन जितेकी थिइन् र उनले नै न्याय मन्त्रालयलाई जेफ्री एप्स्टीनसम्बन्धी कागजात सार्वजनिक गर्न बाध्य पार्ने विधेयकका लागि मतदान गर्न मजबुत बनाउने प्रस्तावमा निर्णायक हस्ताक्षर गरेकी थिइन् ।