
एजेन्सी । ट्रम्प प्रशासनले मंगलबार १९ वटा मुलुकका आप्रवासीहरूले दर्ता गरेका ग्रीन कार्ड र अमेरिकाको नागरिकता प्रक्रियासहित सबै आप्रवासन निवेदन रोकिएको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाप्रतिको चिन्ताका कारण उक्त निर्णय लिएको बताइएको छ ।
यो स्थगन जुन महिनामा आंशिक यात्रा प्रतिबन्ध लागू गरिएका १९ मुलुकका व्यक्तिहरूमा लागू हुन्छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक एजेन्डाको यो मुख्य अभीष्ट हो ।
यी मुलुकहरूको सूचीमा अफगानिस्तान र सोमालिया पनि समावेश छन् ।
नयाँ नीतिको विवरण प्रस्तुत गर्ने आधिकारिक पत्रमा गत हप्ता वाशिङ्टनमा नेशनल गार्ड सदस्यमाथिको आक्रमणलाई पनि उल्लेख गरिएको छ । त्यसमा संलग्न एक अफगान नागरिकलाई पक्राउ गरिएको छ । गोलीकाण्डमा एक गार्ड सदस्यको मृत्यु भएको थियो र अर्का गम्भीर घाइते भएका थिए ।
ट्रम्पले हालका दिनमा सोमालीहरूप्रति कठोर बयान दिइरहेका छन् । उनीहरूलाई फोहोरमैला भन्दै त्यस्ता मानिस हाम्रो मुलुकमा चाहिँदैन समेत भने ।
गत जनवरीमा दोस्रो कार्यकाल चलाउन थालेदेखि ट्रम्पले आप्रवासन नियम कडाइपूर्वक लागू गर्ने नीतिलाई प्राथमिकता दिएका छन् । संघीय एजेन्टहरूलाई प्रमुख अमेरिकी शहरहरूमा पठाउँदै र अमेरिका–मेक्सिको सीमामा शरण माग्न आएका व्यक्तिहरूलाई फर्काउँदै उनले आप्रवासनप्रतिको कठोरताको प्रदर्शन गरिरहेका छन् । उनको प्रशासनले निर्वासन अभियानलाई बारम्बार जोड दिए पनि अहिलेसम्म कानूनी आप्रवासन प्रणालीलाई फेरबदल गर्ने प्रयास त्यति मुखर भएको थिएन।
तर, नेशनल गार्ड सदस्यमाथिको आक्रमणपछि प्रतिबन्धको घोषणा हुन थालेकाले राष्ट्रिय सुरक्षाको नाममा कानूनी आप्रवासनलाई पनि कडाइ गर्ने र पूर्व राष्ट्रपति जो बाइडनका नीतिलाई दोष दिने प्रयास तीव्र बनेको संकेत गर्छ ।
बुधबारको सूचनामा सूचीबद्ध प्रतिबन्धित मुलुकहरूमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन सबैभन्दा कडा प्रतिबन्धमा परेका छन् । तर नेपालीलाई भने रोक लगाइएको छैन ।
अन्य १९ मुलुकमध्ये जुनमा आंशिक प्रतिबन्ध लगाइएका मुलुक बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला पनि सूचीमा समावेश छन् ।
नयाँ नीतिअनुसार यी मुलुकबाट आएका सबै आप्रवासीको फर्छ्यौट नभएका बाँकी निवेदनहरू रोक्ने र तिनले सम्पूर्ण राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षासम्बन्धी जोखिम मूल्यांकनका लागि विस्तृत पुनः समीक्षा प्रक्रिया, आवश्यक परे अन्तर्वार्ता वा पुनः अन्तर्वार्ता गर्नुपर्ने, अनिवार्य बनाइएको छ ।
सूचनामा नेशनल गार्डमाथिको आक्रमणसहित पछिल्ला केही आपराधिक घटनाहरूको उल्लेख गरिएको छ ।
अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसनकी सरकारी सम्बन्ध निर्देशक शरवरी दलाल–धेनीका अनुसार, उक्त सूचीका मुलुकका व्यक्तिहरूको नागरिकता शपथ समारोह, नैसर्गिकीकरण अन्तर्वार्ता तथा स्टाटस समायोजन अन्तर्वार्ताहरू रद्द गरिएका रिपोर्ट संस्था प्राप्त गरिरहेछ ।







प्रतिक्रिया